+
+

‘एलो बुक’ मा विज्ञापन गर्ने नाममा लाखौं ठगिएको जनकपुरका व्यवसायीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १९:०५

३१ साउन, जनकपुरधाम । एलो पेजमा पर्यटनसम्बन्धी विज्ञापन गर्ने प्रलोभन दिएर दुई व्यक्तिले जनकपुरका धेरै व्यवसायीसित लाखौं रकम उठाएर भागेको खुलेको छ । बुधबार जनकपुरधामका करिब एक दर्जन ब्युटिसियन र होटल व्यवसायीले पत्रकार सम्मेलन गरी नेपालगञ्जका समरजीत सिंह र काठमाडौंकी कविता प्रसाईंले ३० लाख रुपैयाँ भन्दा बढी रकम उठाएर भागेको आरोप लगाएका छन् ।

‘एलो बुक’ नामक एलो पेजमा विज्ञापन गर्ने भनेर एकजना व्यवसायीबाट न्यूनतम १० हजारदेखि अधिकतम ८ लाख रुपैयाँसम्म रकम असुलेर दुबैजना फरार भएको उनीहरुको आरोप छ ।

एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने, पुस्तकमा जनकपुरधामको पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थान सहितका विवरण हुने र सोही पुस्तकमा यहाँका ब्यूटीपार्लर र होटलको विज्ञापन प्रकाशन हुने नाममा सिंह र प्रसाईंले पैसा असुलेर सम्पर्कविहीन भएको व्यवसायीहरुले बताएका छन् ।

प्रसाईंकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ एण्ड मार्केटिङ सर्भिसेज नामक संस्थाको कागजातको आधारमा रकम दिएको रसिद व्यवसायीहरुसँग छ ।

जनकपुरको भ्रमरपुराचौक स्थित बिरयानी हाउसका सञ्चालक रघुनाथ पण्डितले आफू आठ लाख रुपैयाँ ठगीमा परेको बताए ।

त्यस्तै लुमिनस ब्युटिपार्लरकी संचालिका गीता पौडेलसंग १ लाख १० हजार ठगी भएको छ । विज्ञापन र पटक पटक सापटीसमेत गरी सो रकम लगेका उनले बताइन् ।

जनकपुरधाम पुग्ने आगन्तुकका लागि किताब अति महत्वपूर्ण बताउँदै उनीहरुले त्यसमा विज्ञापन राख्दा फाइदै फाइदा हुने प्रलोभनमा दुबैजनाको ठगिजालमा आफूहरु परेको गुनासो गरिन् ।

यस्तै सिमरन, मधु, बन्दना र श्रृङ्गार ब्युटिपार्लरहरुबाट क्रमश १२ देखि १४ हजारका दरले असुलेका छन् । ठगिने मध्येमा जनकपुरधाम उद्योग वाणिज्य संघकी उपाध्यक्ष समेत रहेकी जिन्नी ब्युटि पार्लरकी सञ्चालक दिपिका राय समेत छन् । व्यवसायीका अनुसार सिंह सम्पर्कविहीन भएका छन् र प्रसाईले आफू समरजीतसँग सम्पर्कमा नरहेको बताएकी छन् । तर, दुबैजना संगै भएको समाजिक संजालमा देखेपछि व्यवसायीहरुले प्रसाईलाई फोन सम्पर्क गरेका थिए । प्रसाइले जे मन लाग्छ गर्नुस् भनेपछि व्यवसायीहरु ठगीमा परेका चाल पाएका छन् ।

दुबैजना नेपालगञ्ज र देशका अन्य सहरमा पनि यस्तो गतिविधि गरिरहेको चाल पाएर अरुपनि नठगियोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ । जनकपुरका आफू जस्ता धेरै व्यवसायी दुबैजनाको जालमा परेर ठगिएको उनीहरुले बताएका छन् ।

पीडितहरु दुबै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी उजुरी दिएका छन् ।

यता समरजीत सिंहले आफूले कसैको ठगी नगरेको दावी गरे । उनले पुस्तक निकाल्ने प्रक्रियामा रहेको बताए । ‘म सम्पर्कमै छु । पुस्तक निकाल्ने प्रक्रियामा छु । ५ सय पेजको पुस्तक निकाल्न समय लाग्छ, तर आर्थिक संकटको कारण निकाल्न अलि ढिलाइ भएको हो । मैले पहिला पनि बुक निकालेकै हुँ’ उनले भने । व्यवसायीहरुले पत्रकार सम्मेलन गरेर आफ्नो चरित्र हत्या गरेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?