+
+

किताबसँग बोल्दाबोल्दै १२ पास, अझै पढ्ने रहर

जसले फेरि पढ्ने रहर गरे

बुढेसकाल, गृहस्थी, जनप्रतिनिधि हुँदाको व्यस्तता अनि वैदेशिक रोजगारीको कहर : यी मिहिनेती विद्यार्थीलाई पढाइको तृष्णासामु अरू झमेला मसिना लागे । तब त प्रतिकूलता झेल्दै उनीहरूले १२ कक्षाको जाँच पास गरिछाडे । अनेक सपना र योजना अझै बाँकी छन् :

नुनुता राई नुनुता राई
२०८० साउन ३१ गते २०:५५

३१ साउन, काठमाडौं । बरु ८० वर्षीया रत्नकुमारी सुनुवारलाई बुढेसकालमा १२ कक्षाको जाँच दिनु नै सजिलो ! पास गरेको सूचना फैलिइसक्दा उनी आफन्त र मिडियाको भीडभाडमा फसिहालिन् । बुढेसकालमा यो के झमेला आइलाग्यो, उनी आफैं अलमल्ल छिन् ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि रत्नकुमारीको मुख बोल्दाबोल्दै दुखिसक्यो, सुकिसक्यो । उनले २.६४ जीपीए सहित १२ पास गरिन् । प्रश्नहरू उही त हुन्, कसरी पढिन्, कसरी पास गरिन् । अबको योजना के छ ?

तर यो थकानभित्र अभूतपूर्व उत्साह पनि छिपेर बसेको छ । जीउ क्लान्त छ, अनुहारमा कान्ति ।

गएको ६ महिनायता रत्नकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि अलि कमजोर बनेकी उनले आफ्नो शिक्षा–संघर्ष पालैपालो सुनाउँदै गइन् । उनी बोल्दाबोल्दै थाकेपछि रत्नकुमारीकी बुहारी पारु सुनुवारले भनिन्, ‘अलि सञ्चो पनि हुनुहुन्न । आज धेरै जनासँग कुराकानी गरेर थाकिसक्नुभएको छ । त्यसैले अब आराम गर्नुहोस् भनेको तर घरमा नै आउनेलाई किन फर्काउने भनेर सकी–नसकी कुरा गरिरहनुभएको छ ।’

८० वर्षमा कक्षा १२ उत्तीर्ण गरेकी रत्नकुमारीले जोशिलो स्वरमा भनिन्, ‘पहिले सानोमा पढ्न पाइनँ । पढ्न पाए हुन्थ्यो, यो अक्षरसँग बोल्न पाए हुन्थ्यो भन्ने रहर लागेर पढ्न थालें नि ! पढ्नलाई उमेरले छेक्दैन रहेछ, गर्छु भन्ने भएपछि गर्न सकिने रहेछ !’

रत्नकुमारीले भनिन्, ‘सञ्चो नभएको निक्कै भयो । जाँच दिने बेला पनि बिसेक थिएन, तर पास भएँ । खुशी छु ।’

परिबन्दमा परेर उमेरमा पढ्न नपाएकी दोलखा हाँवाकी रत्नकुमारी २०३६ सालमा श्रीमान्सँग काठमाडौं आइन् । अरूले पढेको देख्दा ठान्थिन्, यी त किताबसँगै बोलिरहेछन् । आफूलाई पनि किताबसँग बोल्ने इच्छा हुन्थ्यो । ढिलैगरी भए पनि उनले प्रौढ शिक्षा थालिन् ।

घरका अनेक काम र थान्कोमान्को सकेर भए पनि उनले पढ्ने रहर मारिनन् । स्वाध्ययन गर्दै जाँदा २०७४ सालमा उत्प्रेरणा महिला माध्यमिक विद्यालय तीनकुनेमा कक्षा ६ मा भर्ना भइन् ।उनले सोही विद्यालयबाट २०७८ मा २.६५ जीपीए ल्याउँदै एसईई उत्तीर्ण गरेकी थिइन् ।

एसईईपछि काठमाडौंको बानेश्वर बहुमुखी क्याम्पसबाट ८० वर्षमा कक्षा १२ उत्तीर्ण गरेकी रत्नकुमारीले जोशिलो स्वरमा भनिन्, ‘पहिले सानोमा पढ्न पाइनँ । पढ्न पाए हुन्थ्यो, यो अक्षरसँग बोल्न पाए हुन्थ्यो भन्ने रहर लागेर पढ्न थालें नि ! पढ्नलाई उमेरले छेक्दैन रहेछ, गर्छु भन्ने भएपछि गर्न सकिने रहेछ !’

केही महिनायता पेट दुख्न थालेपछि जाँच गर्दा आन्द्रामा प्वाल परेको भन्दै डाक्टरले औषधि दिएको सुनाइन् । भन्छिन्, ‘६–७ महिनायता बिरामी भइरहेकी छु । बिरामी भएपछि अहिले आँखा कमजोर भएको छ । अक्षर देख्न छोडेकी छु । अब पढाइ यत्ति नै होला !’

तर पढ्ने इच्छा भने अझै रहेको बताउँछिन् । कुराको बिट मार्दै भनिन्, ‘पढ्नको लागि उमेरले छेक्दैन । सानोमा पढ्न नपाए मैले जस्तै पढ्न सकिन्छ । अक्षरसँग बोल्न सकियो भने कत्ति हो कत्ति कुरा सिकिन्छ त्यसैले पढ्न मन लागे अरूले के भन्छ भनेर लजाउनुहुँदैन ।’

सिन्धुली तीनपाटनकी यशोदा काफ्लेले एसईई दिएको १४ वर्षपछि कक्षा १२ उत्तीर्ण गरेकी छिन् । २०५६ सालमा कक्षा ८ पढ्दापढ्दै विहे गरेपछि उनको पढाइ छुट्यो । बच्चाहरू जन्मे । बालबच्चा र घर–व्यवहारमा समय बित्न थाल्यो । बच्चाहरू हुर्कन थालेपछि श्रीमान् पुरुषोत्तम काफ्लेले पढाइलाई निरन्तरता दिन हौस्याए । त्यसपछि २०६४ सालमा कक्षा ९ मा भर्ना भइन् ।

२०६६ सालमा एसईई दिएपछि थप अगाडि पढ्न व्यावहारिक जिम्मेवारीको कारण सकिनन् । भवानी माध्यमिक विद्यालयको बाल विकास शिक्षक समेत रहेकी यशोदालाई श्रीमान् तथा छोराछोरीले पढाइलाई निरन्तरता दिन हौसला दिए । परिवारको साथ र हौसलाले आफैं काम गरिरहेकी विद्यालयमा नै कक्षा ११ मा भर्ना भई पढ्न थालेकी यशोदाले कक्षा १२ पास गरिन् ।

उनी भन्छिन्, ‘नियमित कक्षा लिन जान त पाइएन तर स्वाध्ययन गरें । परिवारको साथ भएपछि मिहिनेत गर्न पनि सहज हुने रहेछ । धेरै वर्षपछि परीक्षामा सहभागी हुँदा रमाइलो पनि भयो ।’

कक्षा १२ को नतिजा आएपछि यशोदा भन्दा बढी परिवार खुशी भएको सुनाइन् । परिवार तथा साथीभाइ खुशी मात्रै छैनन् स्नातक भर्ना गर्न हौसला दिइरहेका छन्, तर आफैं भने निर्णय गर्न सकेकी छैनन् । भन्छिन्, ‘मभन्दा परिवार तथा साथीभाइ खुशी छन् । सबैले पढ्नु भनिरहनुभएको छ तर व्यावहारिक जिम्मेवारीहरूका कारण आफैं भने अलि दोधारमा छु ।’

झापा शिवसतासी शिवगञ्जका विनोद दाहालले २०६५ सालमा एसईई दिए । कक्षा ११ मा पढ्दापढ्दै परिवारको आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गए । १७ वर्षको उमेरमा १९ वर्षको पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा गएका उनले यस वर्ष १२ कक्षा पास गरे ।

कुनै पनि काम गर्नको लागि अथवा पढ्नको लागि इच्छाशक्ति भयो भने सकिने रहेछ भन्ने अहिले यशोदाले अनुभूति गरिरहेकी छिन् ।

झापा शिवसतासी शिवगञ्जका विनोद दाहालले २०६५ सालमा एसईई दिए । कक्षा ११ मा पढ्दापढ्दै परिवारको आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गए । १७ वर्षको उमेरमा १९ वर्षको पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा गएका विनोद पढाइमा तीक्ष्ण थिए ।

पढ्ने इच्छा हुँदाहुँदै विदेशिएका विनोदलाई विदेशमा पढाइ नहुँदाको विभेद भोगे । सुरुमा कतार गएका विनोद त्यहाँबाट फर्केर दुबई गए । एउटै तहमा काम गरिरहेको सहकर्मीले आफूले भन्दा बढी तलब पाउने र आफूले कम तलब पाउनुको कारण बुझ्दा ‘तिमी त्यत्ति पढेको छैनौ’ भन्ने जवाफ पाए ।

त्यसले उनलाई पढाइको महत्व अझै बढी हो भन्ने लाग्न थाल्यो । अब पढ्छु भन्दाभन्दै समय बित्दै गयो । विनोदले २०६५ सालमा एसएलसी दिएपछि जनआदर्श माविमा कक्षा ११ मा भर्ना हुँदा त्यही विद्यालयमा प्रावि अध्यापनरत शिक्षक श्रीराज राजवंशी भर्ना भएका थिए । शिक्षक राजवंशीले शिक्षणसँगै पढाइलाई निरन्तरता दिएर अहिले सोही विद्यालयमा स्नातक तह पढाउँछन् । त्यसले विनोदले पढ्न लाज मान्नुहुँदैन भनेर नेपाल आए ।

२०७७ सालमा विनोद नेपाल आएर कक्षा ११ मा भर्ना भए । भन्छन्, ‘श्रीराज सरलाई देखेर मलाई हौसला मिलेको हो । पढ्नको लागि लाज मान्नुहुँदैन भन्ने चेतना जाग्यो ।’ कक्षा ११ मा भर्ना भएपछि आवश्यक किताबहरू लिएर दुबई गए । ११ को परीक्षा दिन आए, परीक्षा दिएपछि फेरि दुबई नै फर्के । कक्षा ११ को नतिजा आएपछि भने उनले दुबईको काम छोडेर आए । त्यसपछि भने नियमित कक्षा जान थाले ।

विद्यालयले लिने आन्तरिक परीक्षामा चौथो नम्बरमा आउन सफल भए । बोर्डले लिएको परीक्षामा पनि उत्तीर्ण भएपछि उनी थप उत्साहित बनेका छन् ।

दुबई छोडेर आउनुको निर्णयबारे उनी सुनाउँछन्, ‘म धनी हुँदा त म आफैं मात्रै हुन्छु अर्कोलाई धनी बनाउन सक्दिनँ तर म शिक्षित भएँ भने त अरू धेरै जनालाई शिक्षित बनाउन सक्छु भन्ने सोचले पढ्छु भन्ने निर्णयले विदेश छोडेर आएँ ।’

परिवारले र विद्यालयमा शिक्षकहरूले साथ तथा हौसलाले धेरै वर्षपछि पढ्न जाँदा पनि सहज लागेको बताउँछन् । अब उनी स्नातक तह पढ्दै लोकसेवाको तयारी गर्नेबारे योजना बनाइरहेका छन् । भन्छन्, ‘अब ब्याचलर्स पढ्दै लोकसेवाको तयारी गर्ने सोच बनाइरहेको छु ।’

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ की वडाअध्यक्ष चयन गुरुङ मगरले पनि ग्रेड वृद्धि मार्फत यो वर्ष कक्षा १२ उत्तीर्ण गरेकी छिन् । २०५९ सालमा रुकुमको सिद्धिसिद्ध चौर मावि लुकुमबाट एसएलसी उत्तीर्ण गरेकी चयनले पढाइको महत्व बुझे पनि तत्कालीन द्वन्द्वकालीन परिस्थितिले पढाइलाई निरन्तरता दिन नसकेको बताउँछिन् । भन्छिन्, ‘पढ्नुभन्दा अर्को राम्रो काम केही होइन भन्ने लाग्थ्यो तर पढ्ने वातावरण बनेन ।’

पढाइ छुटेपछि उनी तत्कालीन ‘युद्ध’मा होमिइन् । त्यसपछि विवाह भयो । विवाहपछि बालबच्चा र घरव्यवहारको कारण पढ्ने रहर हुँदाहुँदै पूरा गर्ने मौका मिलेन । बालबच्चाहरू हुर्किएकोले पढ्नुपर्छ भनेर उनले जीतपुर सिमराको जनता माविमा कक्षा ११ मा २०७६ सालमा भर्ना भइन् ।

२०७७ सालमा कक्षा १२ को परीक्षा कोभिडको कारण छुट्यो । २०७८ सालमा कक्षा १२ को परीक्षा दिइन् तर तीन वटा विषय फेल भएपछि यसपटक ग्रेडवृद्धि परीक्षाबाट उत्तीर्ण भएकी छिन् । उनी भन्छिन्, ‘जिम्मेवारी धेरैतिर हुँदा निकै गाह्रो हुने रहेछ । त्यति हुँदा पनि पास गरियो, खुशी छु ।’

नियमित पढ्न जान नभ्याउँदा निकै समस्या भएको उनको अनुभव छ । जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारीका कारण स्नातक भर्ना गर्ने, नगर्नेबारे निर्णय गरिनसकेको बताइन् । उनले भनिन्, ‘पढ्ने इच्छा नहुने त कुरै भएन तर जनताको काम गर्दै जाँदा पढ्न कति समय पाइएला भन्ने दोधारमा छु ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?