 
																			३२ साउन, काठमाडौं। कांग्रेसका संस्थापनइतर नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले एक ढिक्का रहेको विश्वास आफू निकटलाई दिलाएका छन् ।
नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफू निकटहरुको भेला गरेर दुई नेताले समूहमा टुटफुट नआएको दाबी गरेका हुन् । रुपान्तरण अभियानमा गरेको टोली, किसान संघ र महिला संघ नेताहरुलाई शेखर-गगनले छलफलका लागि डाकेका थिए ।
‘हामी एक ठाउँमा छौं भनेर कतिपटक भन्नुपर्ने ? तपाईहरुले नचाहिने हल्ला मात्रै सुन्नुहुन्छ भनेर दुबैले भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने । समूहका नेता तितर-बितर होलान् कि भन्ने भ्रममा नपर्न भन्दै दुई नेताले सहभागीलाई आश्वस्त पारेका थिए ।
केही समयदेखि संस्थापन इतरका नेता शेखर सभापति शेरबहादुर देउवातिर ढल्किएको चर्चा चलिरहेको थियो । शेखर-गगनबीच दूरी बढेको विषयसमेत बाहिर आइरहेको बेला दुवै नेता सँगै भएर आफू निकटलाई आश्वस्त पारेका हुन् ।
केन्द्रीय समितिको बैठकअघि आफ्नो समूहको बैठक बस्न नसकेकोप्रति संस्थापन इतरका सहभागीहरुले चासो राखेका थिए । आफ्नो समूहको बैठक राख्ने तयारी हुँदैगर्दा सभापति देउवाले पदाधिकारी बैठक राखेकाले सम्भव नभएको नेता शेखरले जानकारी गराए ।
आफ्नो समूहका नेताहरु देउवाले बोलाएको बैठकमा सहभागी हुन परेकाले बैठक बस्न नसकेको जानकारी गराइएको थियो । बैठकमा शेखरले राखेका भनाई उद्धृत गर्दै एक नेताले भने, ‘हाम्रोतिरका नेताहरु नै आउन नसक्ने भएपछि कसरी बैठक बोलाउनु?’
केन्द्रीय समिति जारी रहेकै बेला आफ्नो समूहको बैठक बस्ने कुरा चलाए पनि नराम्रो सन्देश जाने भएकाले बैठक नराखिएको शेखरले प्रष्टीकरण दिए । कुनै कुनै विषयमा बुझाइमा फरक परे पनि समूहमा कटुता नआएको दुई नेताको भनाई रहेको छलफलमा सहभागी नेताले बताए ।
‘कार्यशैलीमा कहिलेकाही विमति हुनसक्छ । विवाद हुने र टुटफुट हामी हुँदैनौं भन्नुभयो,’ ती नेताले भने ।
उक्त समूहको छलफलमा नेता शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री थापा, जीवन परियारलगायत सहभागी थिए । केन्द्रीय सदस्यमा डा गोविन्दराज पोखरेल र मधु आचार्य सहभागी थिए ।
सहभागी अन्य नेताहरुमा गुरुराज घिमिरे, कमला पन्तसहित रुपान्तरण टीमका अन्य व्यक्तिहरु छलफलमा पुगेका थिए । साथै, आफू निकट महिला संघ र किसान संघका नेताहरुलाई पनि छलफलमा डाँकिएको थियो ।
महिला संघमा १२ जिल्लाका अध्यक्ष हटाएपछि संस्थापनइतर अर्को पक्षसँग रुष्ट भएको छ । विधान विपरीत अध्यक्ष हटाइएको भएर समानान्तर समिति बनाउन दुई नेताले नेत्रीहरुलाई सुझाव दिएका छन् ।
छलफल क्रममा आफ्नो समूहका दुई शीर्ष नेताबीच मिल्ती भएको महसूश गरेपछि सबै जना ताली बजाएर बाहिरिएको अर्का नेताले बताए ।
पछिल्लो संसदीय दल चुनावसँगै दुई नेताहरुबीच सम्बन्धमा दरार आउन थालेको चर्चा चलिरहेको बेला शेखर-गगन भेटघाट बढ्न थालेको छ । समूहमा फुट आउने आशंकाले संस्थापनइतरका केही नेताहरुले उनीहरुलाई एक ठाउँमा ल्याउन आन्तरिक भेटघाटलाई तीव्रता दिइरहेका थिए ।
 
                     
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4