+
+

इन्डोनेसियामा दमका रोगीलाई चिकित्सकले दिन्छन् जकार्ता छोड्ने सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १९:४१

३२ साउन, काठमाडौं । धेरै चिकित्सकले फराह नुरफिरमनलाई स्वास्थ्यका कारण घरेलु सहर छोड्नुपर्ने सुझाव दिए । २२ वर्षकी उनी दमको रोगी हुन् । उनी सधैँ नै मास्क लगाउँछिन् र श्वासप्रश्वासमा सहयोग पुर्‍याउने ‘इन्हेलर’ बोक्छिन् । तर यसका बाबजुद पनि उनलाई चिकित्सकले ज्यान जोगाउन जाकर्ता छोड्नैपर्ने सुझाव दिएका छन् ।

गत साताको वायु प्रदूषण मापनको तथ्यांक हेर्दा जाकर्तामा वायुको स्वच्छता निकै खराब स्थितिमा थियो । वायु प्रदूषणका कारण राष्ट्रपति जोको विडोडोले सोमबार सरकारी कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिए । वायुको गुणस्तर मापन गर्ने स्वीस कम्पनी आईक्यू एयरका अनुसार जाकर्ताको वायुमण्डलमा पीएम २.५ रियाद, दोहा र लाहोरको भन्दा अत्यधिक थियो ।

मे यताको तथ्यांक हेर्ने हो भने जाकर्तामा विश्वकै प्रदूषित १० शहरको सुचीमा पर्दै आएको छ । जाकर्ता र त्यसका वरपर ३ करोड मानिसको बसोबास छ । उच्च वायु प्रदूषणका कारण ज्यान जोगाउन शहरै छोड्नुपर्ने सुझाव चिकित्सकले दिएसँगै फराह आजकाल अक्सिजनको मापन गर्ने यन्त्र अक्सिमिटर पनि बोक्छन् ।

‘दम भएको व्यक्तिलाई अक्सिजनको तहमा थोरैमा मात्रै घटबढ भयो भने सास फेर्न असाध्यै कठिन हुन्छ’, उनले भनिन्, ‘मैले भोगिरहेको दम निकै कडा खालको हो र वंशाणुगत हो । मैलै जजसलाई मेरो स्वास्थ्य जाँच गराएँ ती सबै चिकित्सकले मलाई जाकर्ता छोड्न भने।’

चिकित्सकले भनेपनि आफूले शहर छोड्ने स्थिति नरहेको उनको भनाइ छ। ‘शहर छोड्नुपर्ने सुझावदेखि म दिक्क नै भइसकेँ। जाकर्तामा बस्नुबाहेकको विकल्प मसँगै छैन । मास्क लगाउनुबाहेक मैले अरु केही गर्न सक्दिँन’, उनले भनिन् ।

जाकर्तमा बढ्दै गएको वायु प्रदुषणको कारक तत्व सवारीसाधनको धुँवा रहेको स्थानीय अधिकारी बताउँछन् । त्यहाँका अधिकारीहरुले आकस्मिक रुपमा सवारी चेकजाँच पनि गर्छन् । तर प्रदुषण झन् झन् भयावह हुँदै गएको छ । वायुको स्वच्छता निकै खराब भएसँगै राष्ट्रपति वीडोडोले कृत्रिम वर्षा गराउनका लागि आफ्ना प्राविधिक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । तर यो विकल्पले पनि प्रदूषण कम भएको छैन ।

प्रदुषण बढ्दै जाँदा जाकर्ताका बासिन्दा निकै चिन्तित छन् । ज्यान जोगाउन थातथलोनै छोड्नुपर्ने अवस्था आउन थालेसँगै उनीहरु चिन्तित भएका हुन् । ‘म जन्मेकै यही शहरमा हो र मेरो परिवार पुस्तौँदेखि यही ठाउँमा बस्दै आयो । यो ठाउँ छोडर अब कता जाने ? छोड्न शहरको माया लाग्छ । बस्न ज्यानको माया’, जुआन इम्यानुअल भन्छन् ।

२२ वर्षीय उनी टिबीको रोगी थिए । अहिले उनलाई पिनासको समस्या छ । वायु प्रदूषणका कारण आफ्नो स्वास्थ्यमा झन् समस्या थपिएको उनी बताउँछन् । ‘म मेरो दिनचर्यामा ध्याननै दिन पाउँदिन मेरो नाक चिलाइरहेको हुन्छ । नाकबाट पानी बगिरहेको हुन्छ’, उनी भन्छन् ।

जर्मनीमा अध्ययन गरेका उनी त्यो समय स्मरण गर्दै भन्छन्-‘युरोपमा मैले कहिल्यै पनि यस्तो समस्या भोगेको थिइँन । तर जाकर्ता आएसँगै मेरो स्वास्थ्यमा समस्या आयो ।’

इन्डोनेसियाको वन तथा वातावरण मन्त्रालयका अधिकारी सिगित रिलान्तोरोका अनुसार जुन, जुलाइ र अगस्टमा सुख्खा हावाका कारण जाकर्तामा प्रदुषण ह्वात्तै बढेको हो । सुख्खा हावा चल्दा प्रदुषणको कण वायुमण्डलमा धेरै समयसम्म रहन्छ । सुख्खा हावा रहँदाको अवस्थामा डढेलो पनि बढीनै फैलिन्छ ।

सरकारी अध्ययन अनुसार मुलुकको वायुप्रदुषषणमा ४४ प्रतिशत कारक सवारीसाधन हो भने कोइलाबाट चल्ने उद्योगहरु पनि यसका कारक तत्व हुन् । वायु प्रदुषण कम गर्नका लागि सन् २०५६ भित्रै सबै उद्योग विद्युतबाट चलाउने योजना इन्डोनेसियाको छ । थर्मल कोइलाको सबैभन्दा ठूलो निर्यातकर्ता हाल इन्डोनेसियानै हो । कोइलालाई निषेध गरिहाल्ने स्थिति त्यहाँ छैन । किनभने यसले धेरैलाई रोजगारी सिर्जना गरेको अवस्था छ ।

कोइलाबाट चल्ने उद्योगमा सरकार आर्थिक र राजनीतिक स्वार्थका कारण कठोर हुन नसकेको  जलवायुबारे काम गर्ने अमिहनुल्लाह वालीही बताउँछन् । ‘खरानीको समेत राम्रो व्यवस्थापन गरिएको छैन । ती खरानी समुदाय वरपरका खाली जग्गामा जथाभावी राखिएको छ,’ उनले भने ।

कोइला खानीबाट चल्ने उद्योग नजिकै बस्ने अम्रिन (नाम परिवर्तन) का अनुसार पहिले उनीहरुले वर्षातको पानी संकलन गरेर शुद्दीकरण गरी खाने गर्थे । हाल उनले वर्षातको पानी संकलनै गर्न सक्दैनन् । ‘छतमा कालो धुँवा रहेकाले पानी पनि प्रदुषित हुन्छ’, उनले भने ।

सरकारको लापरबाही प्रमुख कारक अदालत

वायु प्रदूषण बढ्नुमा सरकारको लापरबाही नै मुख्य कारक रहेको त्यहाँको अदालतको फैसलामा उल्लेख छ। मुलुकमा बढिरहेको प्रदूषण कम गर्नका लागि राष्ट्रपति जोको वीडोडो र सम्बद्ध अधिकारीहरुले लापरबाही गरेको अदालतले ठहर गरेको थियो ।

अदालतले वायुको अवस्थामा सुधारका लागि अनुगमन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो । वायु प्रदूषणका कारण जार्कताका बासिन्दाको आयु ५ वर्षले घटेको एक अध्ययनले देखाएको छ । त्यहाँको जिल्ला अदालतले राष्ट्रपति वीडोडोलाई  वायुको गुणस्तर सुधारका लागि सवारीसधानको प्रदूषण नियमित जाँच गर्न आदेश दिएको थियो ।

बढ्दो वायु प्रदूषण सुधारका लागि सरकार उदासिन रहेपछि स्थानीय राष्ट्रपति र वातावरण मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । जाकर्ताको वायुमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ६ गुणा बढी प्रदूषण छ । प्रदूषण बढेसँगै वीडोडोले राजधानीलाई जकार्ताबाट १३ सय किलोमिटर पर रहेको टापु बोरेनोमा सार्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?