+
+
सत्ता गठबन्धनलाई संकट :

कोशीमा एमाले र राप्रपाका ८ ज्येष्ठ सांसदले दिए गयल हुने सूचना

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ ३ गते १८:४१

३ भदौ, विराटनगर । कोशी प्रदेशसभाका आठ जना ज्येष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् ।

सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना उपसभामुखलाई दिएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आठ जना प्रदेशसभा सदस्यले घरायसी काम परेका कारण भोलिबाट केही दिन बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन् ।

निवेदन दिनेमा एमालेका रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), खड्गबहादुर बस्नेत (६७), तारादेवी ढकाल (६६), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । त्यस्तै राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा (६५) ले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठै जनाले निवेदनमा ‘घरायसी जरुरी काम भएका कारण उपस्थित हुन नसक्ने’ उल्लेख गरेका छन् ।

मुख्यमन्त्री थापालाई विश्वासको मत पुग्न नदिने रणनीतिमा रहेका एमाले र राप्रपाले आफ्नो दलमा रहेका ज्येष्ठ सदस्यलाई अनुपस्थित हुन निर्देशन दिएका हुन् ।

राप्रपाका अर्का ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट (६५) ले अनुपस्थित हुने भनेर निवेदन दिएका छैनन् । तर उनले पनि आफू बिरामी भएकाले भोलिको बैठकमा नजाने संकेत गरेका छन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि नयाँ सभामुख चयन भइसकेको छैन भने उपसभामुख सृजना दनुवार छिन् । एमालेबाट निर्वाचित भएकी उनलाई पनि भोलिको बैठकमा अनुपस्थित गराउने र सत्ता गठबन्धन दलका अध्यक्ष मण्डलका सदस्यलाई नै बैठक चलाउन लगाउने एमाले रणनीति छ ।

सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नु परे थापाले विश्वासको मत पाउँदैनन् ।

किनकि ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ र गठबन्धनसँग टुप्लुक्क ४७ मत मात्र छ । र, सत्ता पक्षका प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नुपरे मतदान गर्न मिल्दैन । किनकि प्रदेशसभा नियमावलीमा बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?