+
+

जनमत पार्टीले चार जना प्रदेश सांसदलाई कारबाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १९:१९

३ भदौ, काठमाडौं । जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएको भन्दै चार जना प्रदेशसभा सदस्यलाई कार्बाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेकाहरुको आन्तरिक मतदान भएको थियो । मतदानमा ५० प्रतिशत भन्दा कम मत ल्याउने प्रदेशसभा सदस्यलाई आवश्यक छानबीन गरी फिर्ता गराउने प्रक्रिया जनमतले अगाडि बढाउने भएको हो ।

‘हाम्रो पार्टीको विधानमा राइट टू रिकलको व्यवस्था गरिएको छ । त्यसैअनुसार, आन्तरिक मतदान गरिएको हो’ केन्द्रीय सचिव बीपी साह भन्छन् । उनका अनुसार, पार्टी महासचिव चन्दनकुमार सिंह समेत आन्तरिक मूल्याकंनमा असफल भएका छन् ।

सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको छ । यस्तै अनिता साह, भाग्यश्री कुमारी चौधरी र त्रिभुवन साहले समेत आवश्यक मत ल्याउन सकेनन् ।

अनिताको पक्षमा १४ र विपक्षमा २३, भाग्यश्रीको पक्षमा २१ र विपक्षमा ७९ मत पाए । सिराहा–४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य त्रिभुवन साहको पक्षमा २० र विपक्षमा ७९ मत आएको थियो । यी प्रदेशसभा सदस्यहरुले ५० प्रतिशत भन्दा कम मत ल्याएकाले कार्बाहीमा पर्ने सचिव साह बताउँछन् ।

मधेश प्रदेशकी प्रदेशसभा सदस्य हसिना खातुनले भने ५० मत ल्याए । उनको पक्षमा ८ र विपक्षमा ८ मत खसेको छ । त्यसैले उनीमाथि भने छानबीन मात्रै हुनेछ ।

पार्टीको विधान बमोजिम जनमतले सम्बन्धित क्षेत्रका पार्टी वडाध्यक्ष, स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवार, पालिकाका पार्टी पदाधिकारी, स्थानीय चुनावमा पालिकाका उम्मेदवारी, जिल्ला समन्वय समितिका सदस्यहरु, पार्टीका केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरुले मतदान गरेका थिए ।

जनमत पार्टीसँग मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ जना प्रदेशसभा सदस्य छन् । यसअघि जनमतले स्थानीय तहका जनप्रतिनिधिहरुको पनि आन्तरिक मतदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?