 
																			४ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाको क्षेत्रमा बजेट कटौती हुनु गम्भीर त्रुटि भएको गुनासो गरेकी छिन् ।
बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)को २१औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेकी हुन् ।
उनले भनिन्, ‘बालबालिकाको क्षेत्रमा हाल बजेट कटौती गर्दै लगेको सन्दर्भ निक्कै गम्भीर त्रुटि हो । मैले भन्दै अर्थमन्त्रालय तथा सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराएकी छु । तर, सुनुवाइ हुने छाँटकाट छैन । ‘
उपसभामुख रानाले बालबालिका शान्ति क्षेत्र मात्रै नभई भविष्यको कर्णधार भएको भन्दै यस क्षेत्रमा क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।
‘आमाबुवा जेलमा पर्दा सँगै पुगेका बालबालिकाको उद्धार तथा व्यवस्थापन गर्ने सामाजिक काममा म विगतदेखि नै सक्रिय भूमिकामा रहँदै आएकी छु,’ उनले भनिन्, ‘त्यसकारण बालबालिकामा गरिने लगानी देशका लागि योग्य नागरिक उत्पादन गर्ने माध्यम हुन सक्छ।’
कार्यक्रममा बालअधिकारकर्मी एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले देशमा द्वन्द्व चल्दा बालबालिकाको आधारभूत आवश्यकताहरू रोकिँदा सिजपको स्थापना भएको बताए ।
‘जतिबेला देशमा द्वन्द्व चलिरहेको थियो, त्यतिबेला खोप अभियान रोकिएको थियो। विद्यालयमा आक्रमण भइरहेको थियो। सुरक्षा निकाय बस्ने स्थानका रूपमा विद्यालयलाई छनौट गरेपछि बालबालिकाले पढ्न पाउने अधिकारबाट बञ्चित भएका थिए, उनले स्मरण गरे, ‘हामीले त्यसबेला बालबालिका शान्ति क्षेत्र अभियानको परिकल्पना गर्यौ र सिजप संस्था जन्मिएको हो।’
यस्तै सिजपका अध्यक्ष राजेश शर्माले यो अभियानसँग सहकार्य गरेर देशभर साझेदार संस्थाहरूले बालअधिकारको प्रवर्द्धनका गर्दै आएको बताए ।
राष्ट्रिय बालपरिषद्की सदस्यसचिव इन्द्रादेवी ढकालले बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूको कार्यक्रम, योजना कार्यन्वयनका लागि परिषद्ले सहयोग र समन्वयको भूमिका निर्वाह गर्दै आएको समेत बताइन् ।
कार्यक्रममा बालबिवाह अन्त्यका लागि कर्णाली, कालीकोटलगायतका क्षेत्रमा सञ्चालित कार्यक्रम, बालबालिकाको क्षेत्रमा छुट्याइएको बजेटबारेमा वृहत् छलफल गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4