+
+

रोपाइँ मैजारोतिर, धानको भण्डार मधेशमा भने ८२ प्रतिशतमात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १८:३०
फाइल तस्वीर

४ भदौ, काठमाडौं । यस वर्षको धान रोपाइँ अन्त्यतिर पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको १ भदौसम्मको तथ्याङ्‍कअनुसार देशभर ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ, जुन गत वर्षको साउन अन्तिमको भन्दा ३ प्रतिशतले कम हो ।

तर, नेपालको धान उत्पादनको भण्डार मानिने मधेश प्रदेशको रोपाइँ गत वर्षको यस अवधिको तुलनामा ११ प्रतिशतले कम छ ।

यस वर्ष १४ लाख ८८ हजार ४९१ हेक्टरमा धान रोपाइँ हुने प्रक्षेपण गरिएको थियो । त्यससमध्ये १३ लाख ७५ हजार १३४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

तीन वटा प्रदेशको रोपाइँ मैजारोतिर

कृषि मन्त्रालयका अनुसार देशभरका तीनवटा प्रदेशमा लगभग रोपाइँ सकिने अवस्थामा पुगेको छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगभग रोपाइँ सकिने अवस्थामा पुगेको मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहोराले बताए । कोशी प्रदेशमा ३ लाख २९ हजार हेक्टरमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ९७ प्रतिशत हो ।

यस्तै कर्णाली प्रदेशमा ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यो प्रदेशमा ४४ हजार ७१४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कुल रोपाइँ हुने क्षेत्रफल १ एक लाख ७७ हजार हेक्टरमध्ये एक लाख ७६ हजार हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी, बागमती र लुम्बिनीमा ९५ पतिशत रोपाइँ

यस्तै गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा करिब ९५ प्रतिशत रोपाइँ भएको छ । बागमती प्रदेशमा एक लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ९३ प्रतिशत हो ।

गण्डकी प्रदेशमा ९२ हजार १६७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा २ लाख ९५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा भएको रोपाइँ कुल क्षेत्रफलको क्रमशः ९४ र ९५ प्रतिशत हो ।

एक सातामा मधेशमा रोपाइँ वृद्धि तर कम

गत साताको तुलनामा मधेश प्रदेशमा रोपाइँ हुने क्षेत्रफल बढेको छ । १ भदौसम्म मधेशमा ३ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ, जुन रोपाइँ हुने कुल क्षेत्रफलको ८२ प्रतिशत हो भने गत वर्षको समीक्षा अवधिमा कुल रोपाइँ भएको क्षेत्रफलको तुलनामा ११ प्रतिशतले कम हो ।

गत वर्ष यस अवधिमा मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै करिब ३० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ ।

मन्त्रालयका सहप्रवक्ता बोहोराका अनुसार मधेशमा अझै डेढ हप्ता रोपाइँ हुनेछ । डेढ हप्तापछि लगभग देशभर यो वर्षको धान रोपाइँ सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?