+
+
विचार :

‘जान्नेलाई छान्ने’ कि ‘सबको साथ, सबैको विकास’ !

सामूहिक भावनाको खण्डीकरण गर्ने र केही थोरै मान्छेलाई योग्य बनाउने प्रणालीले ठूलो सङ्ख्याका मान्छेहरूलाई बहिष्करणको अनुभूति गराउँछ। यसले आजको समयमा लोकतन्त्रको सही मर्मलाई प्रतिनिधित्व गर्न सक्दैन।

सरोज गौतम/दिव्येश गिरी सरोज गौतम/दिव्येश गिरी
२०८० भदौ ५ गते १८:२३

लेख सुरु गर्नु अगावै एउटा सामान्य दृश्यको परिकल्पना गरौं। एकै दिन काठमाडौं महानगरपालिका, स्वामीकार्तिक गाउँपालिका बाजुरा र यमुनामाई गाउँपालिका रौतहटमा तीन बच्चा जन्मिए भने तिनीहरूको आगामी १४ वर्ष कस्तो चल्छ होला ?

सम्भवतः जो बच्चा स्वामीकार्तिक गाउँपालिका बाजुरामा जन्म्यो उसले जन्मेको ३/४ वर्षपछि स्कुलको खोजीमा नजिकको स्कुल रोज्छ होला। संभवत: विन्दासैनी स्कुल स्वामीकार्तिकमा उसले भर्ना हुन पाउँछ। गाउँमै बसेर ऊसँग धेरै विद्यालय छनोट गरेर पढ्ने सुविधा हुँदैन।

त्यसैगरी यमुनामाई गाउँपालिकामा जन्मेको बच्चा नजिकको जनता मावि सौराठामा भर्ना भएर आफ्नो अध्ययनलाई अगाडि बढाउँछ होला। यस्तै काठमाडौंमा जन्मेको बच्चासँग विद्यालय रोज्ने धेरै अवसर हुन्छन्। उसले नजिकैको सरकारी विद्यालयदेखि रातो बङ्गला स्कुलसम्म अध्ययन गर्ने अवसर प्राप्त गर्छ होला।

मानिलिऔं, तीनै बच्चाले १६औं वर्षको जन्मदिन मनाउने समयमा यदि कसैले जान्नेलाई छान्ने भन्ने नारा लिएर तीन छनोट प्रक्रिया अगाडि बढायो भने कुन चाहिं छानिने सम्भावना धेरै हुन्छ होला ?

सम्भवतः रौतहट या बाजुरामा आफ्नो जीवनयापन चलाएको बच्चाभन्दा धेरै हिसाबले जान्नेलाई छान्ने भन्दा काठमाडौंमै जन्मेको बच्चा छानिने सम्भावना धेरै हुन्छ किनकि जान्नु या जान्ने बन्नु मान्छेको आफ्नै मात्र क्षमतामा भर पर्दैन। उसले हुर्कंदै गर्दा पाउने वातावरणको त्यसमा ठूलो भूमिका हुन्छ। मेरिट या योग्यता भन्ने आफैंमा नराम्रो शब्द या भाष्य होइन तर त्यो भाष्य मात्रै लागू गर्दा त्यसका पछाडि कस्ता कस्ता समस्या आउँछन् भन्ने कुरा गौर गर्न जरुरी छ।

यहाँ केवल तीन फरक भूगोलमा प्राप्त हुने अवसरलाई एउटा सामान्य उदाहरणको रूपमा प्रस्तुत गरिएको हो। हाम्रोमा योभन्दा गहिरो विविधता छन्। जातीय, लिंगीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक, वर्गीय लगायत धेरै प्रकारका उत्पीडन हाम्रो समाजमा विद्यमान छन्। यसरी विभिन्न पत्रपत्रमा विभाजन र विभेद विद्यमान रहेको समाजमा हामीले जान्नेलाई छान्ने भनेर मेरिटोक्रेसीको एकोहोरो रटान लगाइरहने हो भने यसले समाजको पिंधमा परेका वर्गलाई उत्थान गर्न त परै जाओस्, यसले तिमीहरू कमजोर नै हौ किनकि तिमीहरू जान्दैनौ भन्ने भावना सञ्चार गर्दछ।

जान्नेलाई छान्ने भन्नुको अर्थ मेरिटको आधारमा कसैलाई पद या वर्चस्व कायम गर्न दिऊँ भन्ने अवधारणा हो। झट्ट हेर्दा यसलाई मेरिटोक्रेसीमा आधारित अवधारणाका रूपमा बुझिन्छ र यसको किन विरोध गर्नुपर्छ भन्ने धेरैलाई लाग्न सक्छ तर यस्ता अवधारणा हाम्रो समाजको विकासक्रम र विशेषतासँग मेल खान्छन् कि खाँदैनन् भन्ने विषय ख्याल नै नगरी हावाको भरमा पछाडि कुद्ने हो भने त्यसले थप समस्या निम्त्याउन सक्छ।

जबसम्म राष्ट्रले, समाजले पछाडि परेको ठूलो समुदायलाई अगाडि ल्याउने कार्यक्रम स्थापित गर्न सक्दैन या भनौं सबैको विकास एकैसाथ गर्ने अवधारणा अगाडि सार्न सक्दैन, त्यस्तो समाजले धेरै लामो समयसम्म आफ्नो सुन्दरता कायम गर्न सक्दैन।

केही अपवादलाई छाड्ने हो भने मेरिटका जम्माजम्मी दुई स्रोत हुन्छन्, एउटा- मान्छेको वंशाणुगत गुण र अर्को उसले हुर्किंदै जाँदा प्राप्त गर्ने वातावरण। यो बाहेक व्यक्ति आफैंले कुनै पनि विषयमा गरेको मिहिनेतको पक्कै हिस्सा रहन्छ नै तर आफ्नो क्षमताको हिस्सा बाहेक अन्य दुवै खालेको स्रोतमा जन्मिने व्यक्तिको खास भूमिका हुँदैन। वा भनौं यी दुवै उसको छनोटमा भर पर्दैन। यी दुवैभन्दा फरक कोहीले आफूलाई अब्बल सावित गर्नसक्छ भने त्यो अपवादको कुरा हो।

जान्नेलाई छान्ने यो चुनावमा धेरै प्रयोग भएको नारा हो। रास्वपाले नाराको रूपमा यसलाई प्रयोग गर्‍यो। उसले अप्रत्याशित २१ सिट पनि सुरक्षित गर्‍यो र उसले भर्खरै मात्र पार्टीका विभिन्न विभागमा रहने सदस्यको लागि भिन्न भिन्न मापदण्डको अर्को प्रयोग गर्न खोज्दैछ। स्नातकोत्तर अनिवार्य जस्ता प्रावधान राखेर उसले आफ्ना विभागीय संरचनाको कल्पना गरेको छ। कतै अहिलेको टेक्नोक्रेटिक समयमा पपुलर आइडियाको पछाडि लाग्दै यस्तै यस्तै भाष्य निर्माण गर्दै जाने हो भने भर्खरै सकारात्मक विभेद जस्ता सबैलाई एकैसाथ अगाडि बढाउने भाष्य अलपत्र पर्छ। यसले न्यायिक समाज निर्माण मार्फत विविधता व्यवस्थापन गर्नुपर्ने हाम्रो देशमा थप अप्ठ्यारा सिर्जना हुन्छन्। किनकि अन्यायलाई समाजको गर्भमा छोपेर हामीले सभ्य र समृद्ध समाज निर्माण गर्न सक्दैनौं।

जान्नेलाई छान्ने भन्नु गलत हो भन्नु आजको समयमा अप्रिय विचार प्रवाह गर्नु हो जुन प्रतिप्रवाह रोज्नु हो। तर कतिपय हाम्रा यस्ता भाष्यहरू हुन्छन् जसको विरुद्ध बोल्न या लेख्न अप्ठ्यारो मान्नुहुन्न। जान्नेलाई छान्ने आफैंमा मेरिटोक्रेसीको अवधारणा हो तर के यही विचारले मात्र हाम्रो समग्र समस्यालाई समाधान गर्छ त ?

संरचनात्मक लाभांश मेरिटोक्रेसीको बुझाइ

विविधतापूर्ण हाम्रो सामाजिक संरचनाभित्र संरचनात्मक लाभांशको असमान वितरण भइरहेको छ। यसलाई सच्याउन नसक्दा असमानहरूबीचको समान प्रतिस्पर्धाले नै निरन्तरता पाउँछ जुन न्यायिक हुनै सक्दैन।

अहिले शहरकेन्द्रित राजनीतिक डिस्कोर्स केन्द्रित विषय बनेको छ मेरिटोक्रेसीको बहस। यो बहसबाट बाहिरै छुटेका बहुसंख्यक जनसङ्ख्याले यसप्रति स्वामित्व लिन सक्दैन। गाउँमा सफल आमा समूह र सामुदायिक वनको नेतृत्व गरिरहेका दिदीबहिनी यो बहसमा कहाँ छन् ? एउटा सामुदायिक वनको राम्रो संरक्षण हुन सक्दा त्यसले केवल समुदायलाई मात्र राम्रो गर्ने नभएर विश्वव्यापी जलवायु परिवर्तनको लडाइँ लड्न सहयोग पुर्‍याइरहेको हुन्छ।

मिडियामा भाइरल नभएका उनीहरू अहिले भन्ने गरेको कथित योग्यताको भाष्यले नचिन्ने पंक्तिमा पर्छन् र यो जनसङ्ख्या सानो छैन। उनीहरूले हिमाल, पहाड, तराई या दूरदराजको गाउँमा आ-आफ्नो काम कुशलतापूर्वक गरिरहेका छन्।

संभवतः योग्यतातन्त्रको यस्तै सीमिततालाई देखेर हुनुपर्छ हार्वर्ड विश्वविद्यालयमा राजनीतिक दर्शनशास्त्रका अध्यापक प्राध्यापक माइकल स्यान्डलले एउटा पुस्तक ‘दि टाईरेनी अफ मेरिट’ मा यसका कैयौं सीमितताका बारेमा चर्चा गरेका छन्।

‘एकोहोरो मेरिटोक्रेसीको रटान भनेको एक त्रुटिपूर्ण प्रणाली हो जसले सामाजिक सम्मान, नागरिक संलग्नता र निष्पक्षतालाई कमजोर बनाउँछ’, पुस्तकमा माइकलले भनेका छन्। उनले पुस्तकमा केही घतलाग्दा प्रसंग उल्लेख गरेका छन्।

खेल मैदान सबैको लागि बराबर स्तरको छैन र समाजमा विकासको मापदण्डमा सबै खाले मानिसहरू एकै स्तरमा छैनन् भने एकोहोरो मेरिटोक्रेसीले केही व्यक्तिलाई मात्र पद, प्रतिष्ठाको योग्य मान्छ। सामूहिक भावनाको खण्डीकरण गर्ने र केही थोरै मान्छेलाई योग्य बनाउने प्रणालीले ठूलो सङ्ख्याका मान्छेहरूलाई बहिष्करणको अनुभूति गराउँछ। यसले आजको समयमा लोकतन्त्रको सही मर्मलाई प्रतिनिधित्व गर्न सक्दैन।

 जान्नेलाई छान्नेकिसबको साथ, सबैको विकास’ !

नेपाल र भारत लगायत दक्षिणएशियाली समाज जातीय, धार्मिक, सांस्कृतिक, भाषिक र आर्थिक हिसाबले विविधतापूर्ण छ। यो समाजको जटिलता के हो भने कुनै एउटा विषयलाई केन्द्रित गरेर योग्यताको मापन गर्ने हो भने सबै समुदाय या फरक–फरक पृष्ठभूमिलाई एकै खालको प्रतिस्पर्धामा ल्याउन सक्दैनौं। कम्तीमा अहिलेसम्म त्यो खालको ‘कमन ग्राउन्ड’ बनिसकेको छैन। सम्भवतः महात्मा गान्धीले पनि त्यतिबेलाको यस्तै समाज देखेकोले हुनुपर्छ, उनले मेरिटोक्रेसी वा जान्नेलाई छान्ने भन्दा सबैको साथ सबैको विकास भन्ने अभियान चलाउन धेरै रुचाएका थिए।

हाम्रो जस्तो समाजको जटिलता के हो भने कुनै एउटा विषयमा केन्द्रित भएर योग्यताको मापन गर्ने हो भने सबै समुदाय या फरक-फरक पृष्ठभूमिलाई एकै खालको प्रतिस्पर्धामा ल्याउन सक्दैनौं। कम्तीमा अहिलेसम्म त्यो खालको ‘कमन ग्राउन्ड’ बनिसकेको छैन।

महात्मा गान्धीको निधन भएको झण्डै ७५ वर्ष पुगेको छ। अङ्ग्रेजको चङ्गुलबाट भारतलाई मुक्त गर्नको लागि शान्तिपूर्ण आन्दोलन गरेका गान्धीको कद भारतमा मात्रै हैन विश्वमा पनि उच्च छ। उनै गान्धीले आजभन्दा ८०/८५ वर्ष अगाडि एउटा आन्दोलन छेडेका थिए जसलाई सर्वोदय अभियान भनिन्छ।

संस्कृत शब्द ‘सर्वोदय’ को नेपाली अर्थ हुन्छ- सबैको उन्नति, सबैको विकास। बेलायतमा कानुन पढेर अफ्रिकासम्म पुगेका उनले भारतमा अङ्ग्रेजलाई भारत छोडो आन्दोलन मार्फत स्वदेश फर्काउन सके। उनले सम्भवतः आफ्नो जीवनकालका भोगाइबाट पाठ सिकेर नै सबको साथ सबको विकास भन्ने नारा अगाडि सारेका थिए। ग्राम पञ्चायतको रूपमा गाउँको शासनको वकालत गर्दा धेरै हदसम्म पछाडि पारेका समुदाय या मानिसहरूको उन्नतिको कुरा अगाडि सारेका थिए।

कुनै बेला व्यक्तिगत प्रतिभा र प्रयासमा आधारित भएर अवसरहरू बाँडफाँट हुनुपर्छ भन्ने चुरो मान्यता रहेको मेरिटोक्रेसीको अवधारणाले विश्वव्यापी रूपमा आकर्षण प्राप्त गरेको थियो। यस्तै परिस्थिति अमेरिकामा पनि सन् १९५४ भन्दा अगाडि थियो। जब विभिन्न समाजको अध्ययन गर्ने समाजशास्त्रका अध्येता र राजनीतिको दर्शनमा काम गर्नेहरूले समाजमा एकसाथ सबै खाले जातजाति, वर्ण, भाषिक या धार्मिक समुदायको विकास समान हुँदैन भन्ने अवधारणा अगाडि सारे, तब यसलाई सच्याएर मेरिटोक्रेसी मात्र होइन सामाजिक न्यायमा आधारित प्रतिनिधित्व र अवसरको विषय बहसमा आयो।

यसले सकारात्मक विभेद, सामाजिक न्याय, समानुपातिक अवसर जस्ता विषयलाई विश्व राजनीतिको केन्द्रमा लिएर आयो। त्यसैले अहिले संसारका सबै लोकतान्त्रिक देशहरूले सामाजिक न्यायका विषयलाई इग्नोर गरेर अगाडि जान सक्दैनन्।

लोकतन्त्रको चुरो कुरा (मूल्य) भनेको धेरैभन्दा धेरै सहभागिता सुनिश्चित गर्दै त्यसलाई थप न्यायपूर्ण र मानवीय बनाउनु हो। सामूहिक हितलाई कसरी स्थापित गर्ने र अप्ठ्यारा स्थितिमा सङ्घर्ष गरिरहेकालाई थप सहयोग प्रदान गर्न सक्ने प्रणालीलाई अझ बलियो कसरी बनाउने ? सबैले बराबरको हैसियत निर्माण गर्नको लागि पछाडि पारिएका मान्छेलाई अगाडि बढाउन के–कस्ता काम गर्ने ? यी विषयमा बलियो र पूर्ण खाका नबनाई यस्ता बहस सतहमा आउँदा त्यसले थप जटिलता सृजना गर्न सक्छ।

इतिहासका तत्–तत् कालखण्डको आवश्यकता अनुसारको जान्ने वा बलियो मान्छेको कमी थिएन। तर केही सीमित मान्छे बलियो या जान्ने हुने कुराले सम्पूर्ण समाजको सुन्दरता स्थापित हुन सक्दैन। कुनै पनि मान्छेको विकास सबै अङ्गको समान या समतामूलक विकासले मात्र सम्भव छ। समाज पनि मानव शरीर जस्तै सबै खाले अङ्गको समतामूलक विकास भएर मात्रै समृद्ध हुनसक्छ।

जबसम्म राष्ट्रले, समाजले पछाडि परेको ठूलो समुदायलाई अगाडि ल्याउने कार्यक्रम स्थापित गर्न सक्दैन या भनौं सबैको विकास एकैसाथ गर्ने अवधारणा अगाडि सार्न सक्दैन, त्यस्तो समाजले धेरै लामो समयसम्म आफ्नो सुन्दरता कायम गर्न सक्दैन। समाज विकासमा किन सबै खाले समुदाय एकै गतिमा अगाडि बढ्नुपर्छ भन्नेमा भारतीय कङ्ग्रेस पार्टीका नेता कन्हैया कुमारको एउटा भनाइ स्मरणीय छ- ‘मानौं कि मानिसको सबै अङ्गको विकास हुनुको सट्टा नाकको मात्रै ठूलो विकास भयो र नाक लामो बन्यो भने के त्यो मान्छे अत्यधिक सुन्दर कहलिन्छ ?’

धेरै ठूलो समुदाय विभेदमा रहेको देशमा कुनै पनि अवधारणा हचुवाको भरमा सामान्यीकरण गर्दै अघि सार्नुहुँदैन। आफ्ना मौलिक सन्दर्भहरूलाई विचार नगरी योग्यता कार्यान्वयनको एकोहोरो रटानले सीमान्तकृत समूहहरूलाई थप सीमान्तकरण गर्न र ऐतिहासिक असमानताहरूलाई निरन्तरता दिन सक्छ। योग्यतातन्त्रको एकोहोरो रटानले शिक्षा र अवसरहरूमा पहुँच सीमित गर्ने संरचनात्मक बाधाहरूलाई बेवास्ता गर्छ र असमानताले पिछडिएका हरेक प्रतिस्पर्धामा मैदान बाहिरै छुट्छन्।

यस्तो इन्द्रेणी विविधतायुक्त मुलुकमा हामीले एक खालको योग्यतातन्त्रको वकालत गर्दा वा त्यस्तो भाष्य निर्माण गर्दा अल्पसङ्ख्यक समुदायका आवाज दबिन्छ। किनभने तिनीहरूको योगदानलाई विशिष्ट प्रकारका उपलब्धिहरूप्रति पक्षपातपूर्ण प्रणालीमा मान्यता प्राप्त हुँदैन। बरु यसको सट्टामा हामी सबैले काम गर्नुपर्ने नीतिगत भाष्य भनेको सबको साथ सबको विकास हो जसले फरक–फरक समुदाय या भाषा बोल्ने सबै मान्छेलाई एकैसाथ अगाडि बढाउने यात्रा तय गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?