+
+

संसद अवरोधको विषयमा पनि छानबिन हुनुपर्छ : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते २०:०२

६ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद अवरोधको विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको भन्दै यसबारे छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘मुलुक भयङ्कर अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला महिनौं दिनसम्म संसद बन्द गरेर आज संसद् खोलेकोमा संसद खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं । कसले बन्द गर्‍यो ? किन बन्द भयो ? त्यसकारणले यसको गम्भीर छानबिन हुनुपर्छ’ केसीले भने, ‘नेपालीलाई नक्कली भूटानी बनाएर बेच्नेहरु, ललितानिवासको जग्गा बेच्नेहरु, नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको केन्द्र बनाउनेहरु यही संसद्मा बस्नेहरु सम्बन्धित छैनौं र । हामीले कसलाई भनिरहेका छौं ?’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलोग्राम सुन २ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त घटनामा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर १० साउनदेखि संसद अवरोध गरिरहेको थियो ।

बुधबार राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच असोज ५ गतेपछि सुन प्रकरणको छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमतिपछि संसदको अवरोध हटेको छ ।

मुलुकमा बाढी पहिरोले जनधनको क्षति गरेको र महंगी बढेका बेला संसद चल्न नदिएर नागरिकका विषय उठाउन नपाएको केसीले बताए । ‘बाढी पहिरोबाट मरिरहेका छन् । महंगीले जनताको ढाड भाँचिएको छ । १० रुपैयाँ किलो पर्ने टमाटरको मूल्य सवा एक सय रुपैयाँ पुगिसकेको छ । संसदभित्र यी कुराबारे छलफल गर्नुपर्ने होइन ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?