+
+

कीर्तिपुरको बस्तीमा पसेको चितुवा नियन्त्रणको प्रयास असफल

आर्यन धिमाल आर्यन धिमाल
२०८० भदौ ७ गते ११:४९

७ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भागेपछि वनको टोली पनि त्यहाँबाट फर्किएको छ ।

गएराति करिब एक बजेतिर कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेको थियो । त्यहाँभित्र सुतिरहेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । प्रतिरक्षा गर्दा चितुवाको च्यापुनेरको भागमा पनि चोट लागेको छ ।

स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए भने उक्त चितुवालाई खोरभित्रै थुनेर राखेका थिए । चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो । प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई लागेन । पाँचौपटक प्रहार गर्ने तयारी भइरहेको बेला चितुवा आफैं खोरको माथिल्लो भागबाट निस्किएर भागेको थियो ।

डिभिजन वन कार्यालयका एक जना अधिकृत अशोक पराजुलीका अनुसार राम्रोसँग निशाना नलाग्ने ठाउँमा चितुवा सुतिरहेको थियो । उनले भने, ‘डार्ट गलत ठाउँमा लाग्यो भने जनावर मर्ने जोखिम हुन्छ । त्यसैले जहाँ मन लाग्यो त्यहाँ डार्ट हान्न मिल्दैन । पछि चितुवा आफैं खोरबाट निस्किएर भाग्यो ।’

चितुवा भागेर मकैबारी हुँदै खोल्सातिर गएको छ । प्रत्यक्षदर्शीका अनुसार चितुवाको च्यापुको भागमा चोट लागेको छ ।

कीर्तिपुरमा चितुवा भेटिएको स्थान कीर्तिपुर र थानकोटको सिमानामा पर्दछ । सुरुमा थानकोट एरियामा रहेको भन्दै रातभर थानकोट प्रहरीको टोलीले चितुवाको निगरानी गरेको थियो । आज बिहान कीर्तिपुरको एरियामा पर्ने जानकारी पाएपछि फेरि कीर्तिपुरको प्रहरी टोली पनि सो स्थानमा गएको थियो ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?