+
+

धरान चाहन्छ सद्‍भाव

सइन्द्र राई हरि अधिकारी सइन्द्र राई, हरि अधिकारी
२०८० भदौ ८ गते २१:३१

८ भदौ, काठमाडौं । शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार मध्यरातदेखि शनिबार मध्यरातसम्म कायम रहनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

‘.. अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र सम्पूर्ण वडा लगायत तपसीलका क्षेत्रमा समेत लागु हुनेगरी निषेधादेश जारी गरिएको …’ वक्तव्यमा उल्लेख छ ।

डेंगुलाई समेत कारण बनाएर जारी निषेधाज्ञाको मुख्य कारण भने शनिबार धरानमा हुनसक्ने संभावित दुर्घटना रोक्नु हो । धरानका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दलहरु र नागरिक समाजबाट जारी बक्तव्य समेतले स्थानीय प्रशासनको निषेधाज्ञा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले जारी भएको प्रष्ट हुन्छ ।

धरानका मेयर हर्क साम्पाङ र १३ राजनीतिक दलले शुक्रबार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपील गरेका छन् । ‘.. सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्वित हुनेगरी आपसी, सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपील गर्दछु’, मेयर साम्पाङले वक्तव्यमार्फत् अपील गरेका छन् ।

धरानको पछिल्लो परिस्थितिप्रति राजनीतिक दलहरुले सामूहिक चिन्ता जनाएका छन् । प्रदेश र संघको राजनीतिमा मतभेद रहे पनि धरानमा दलहरुले एकै स्वरमा सदभावको अपील गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, रास्वपा लगायत १३ दलले संयुक्त वक्तव्य जारी गरी धरानमा भोलि (शनिबार) तय भएका सबै कार्यक्रम स्थगित गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सदभाव खल्बलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपील गर्दर्छौं’, वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

सामाजिक आस्था र भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह गरेका दलहरुले वार्ताको माध्यमबाट समाधान खोज्न पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार नै नागरिक समाजले धरानमा विकसित परिस्थितिप्रति चिन्ता जनाएको थियो । सम्बन्धित पक्षलाई वार्ताको विकल्प रोज्न, प्रशासनलाई आवश्यक कदम चाल्न र सर्वदलीय बैठकमा बस्न दलहरुलाई आग्रह गरेका थिए । नागरिक समाजका तर्फबाट धरानका पूर्व मेयर र उपमेयरहरुले संयुक्त वक्तव्य जारी गरी धरानमा सद्भावको पहलकदमी लिइदिन सवै पक्षसँग अपील गरेका थिए ।

‘पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भइरहेका तथा सामाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक, असहिष्णु विचार र बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पूर्वमेयरहरु, तिलक राई, मनोज मेन्याङ्बो र कुमार कार्की तथा पूर्व उपमेयर मीनकुमार सुब्बाको वक्तव्यमा मार्फत् चिन्ता जनाइएको छ ।

अतिवादीहरुले फैलाएकोे त्रास

नागरिक अगुवा, राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले एकस्वरमा शान्ति सद्भावलाई लिएर चिन्ता जनाउनुपर्ने कारण भने सामाजिक सञ्जालमा देखिएको अतिवादी प्रचार हो । केही हिन्दू अभियान्ताले शनिबार धार्मिक ¥याली आह्वान गरेपछि त्यसको प्रतिवादमा अर्कोथरी प्रचार भइरहेको छ ।

‘धरानलाई चाहिएको सद्भाव र एकता हो । कहिल्यै र कसैलाई निषेध नगरेकै विरासत बोकेर धरान आजको स्वरुपमा छ’, पूर्वमेयर मेन्याङ्बो भन्छन् । तर धरान बाहिरका मान्छेहरुले सामाजिक सञ्जालमा अनावश्यक प्रचार गरेकाले धरान चिन्तित हुनु परेको पुर्वमेयर मेन्याङ्बो बताउँछन् । ‘सदभाव भडकाउने गरी कोही पनि धरान नआइदिनुहोला, हाम्रो समस्या आफैं समाधान गर्छौ’, उनी भन्छन् ।

सामाजिक सदभाव भडकाउने गरी धरान बाहिरबाट समेत शनिबार धरान जाने प्रचार भएपछि स्थानीय प्रशासनले निषेधाज्ञासहित नाकाहरुमा समेत कडाइ गरेको छ । ‘हामीले सबै पक्षसँग छलफल गरेका छौं, शान्त धरानको आग्रह छ– बाहिरबाट प्रदर्शनमा नआउनुहोस्’, सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल भन्छन् ।

उनका अनुसार, धरान प्रवेश गर्ने तरहरा, तहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको छ । ती नाकाहरुमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

नागरिक अगुवा एवम् प्राध्यापक राजेन्द्र शर्मा पनि धरानलाई अहिले सदभाव र संयमको खाँचो परेको बताउँछन् । ‘अहिले एकखालको त्रास छ । यस्तो बेला सबै पक्ष संवेदनशील हुनुपर्छ, राज्यका निकायले सक्रियता देखाउनुपर्छ’ शर्मा भन्छन् ।

सिंगो धरानले शान्ति र सदभावप्रति चिन्ता जनाउने गरी परिस्थिति विकास हुनुमा एकपछि अर्को धार्मिक र सांस्कृतिक मतभेदको अनावश्यक प्रचार कारण रहेको पूर्वमेयर मेन्याङ्बो बताउँछन् । ‘जुन कुरालाई समस्या भनिएको छ, त्यो बसेर समाधान गर्न सकिन्छ’ उनी भन्छन्, ‘तर धरान बाहिरबाट अतिरञ्जित प्रचार गर्दा हामीलाई चिन्तित बनाएको छ ।’

धरानमा निषेधाज्ञाकै आवश्यकता पर्ने गरी समस्या देखिनुमा मुख्यगरी तीन घटना कारण हो । मुख्यगरी शनिबार हिन्दू अभियान्ताले ¥याली निकाल्ने र त्यसको प्रतिवादमा अर्को ¥याली निकाल्ने प्रचार गरिनुमा गोरुको मासु खाएको दृष्य सामाजिक सञ्जालमा राखिनु हो ।

गोरु काटेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले ९ साउनमा नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरु रिहा भएलगत्तै फेरि गोरुकै मासु खाएको तस्वीर सामाजिक सञ्जालमा राखियो । स्थानीयका अनुसार, धरानमा यसअघि पनि यस्ता घटना हुन्थे । तर यसलाई न यसरी प्रचार हुन्थ्यो, न कसैले आपत्ति जनाउँथे । ‘सांस्कृतिक तर्क गरेर खानेहरुले खान्थे, अरुले मतलब राख्थेनन्’ धरानका एक स्थानीय भन्छन् । तर यसपटक उस्तै प्रकृतिका घटनालाई उचाल्ने काम धरान बाहिरका व्यक्तिहरुले बढी गरेको उनी बताउँछन् । ‘धरान बाहिरकाहरुले अनावश्यक लफडा निकाले’, उनी भन्छन् ।

गोरुको मासु प्रकरणलाई मलजल चाहिँ चर्च विवादले गरेको देखिन्छ । बालगोपाल मन्दिर नजिकै चर्च बनाइएको भन्दै हिन्दू अभियान्ताले विरोध जनाएका थिए । त्यहाँका जानकारहरुका अनुसार, बाहिर जति मतभेद देखाइएको थियो, त्यति समस्या मन्दिरका पुजारी र चर्चका पास्चरबीच छैन । इसाइ धर्ममा आस्था राख्ने एक महिलाले दान गरेको जमिनमा उनकै लगानीमा त्यहाँ चर्च बनेको थियो ।

त्यो विषयलाई सामाजिक सञ्जालमार्फत् हिन्दू अभियान्ताहरुले विवादमा तान्ने प्रयास गरे । जबकि चर्चको विवाद स्थानीय रुपमा हल भइसकेको थियो । तर अहिले गोरुको मासु प्रकरणमा चर्चको विषय फेरि सामाजिक सञ्जालबाटै ब्यूँताउने गरी प्रचार गरिँदैछ । यी दुई प्रकरणलाई साथ पुर्‍याउने काम भने प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाउनेहरुले गरिरहेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?