+
+

पोखरामा ईश्वरमणिको ‘सम्बोधिका’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १८:३६

पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ
चर्चा, प्रतिष्ठा, पुरस्कार र मंगलगान हुन्छ
जिन्दगीबाट यी सब घटाउनुस् महोदय
अब जति बच्छ, त्यही नै पहिचान हुन्छ

पद र शक्तिलाई नै सबथोक मान्ने समाजमा आफ्नो पहिचानको ख्याल राख्न झक्झक्याउने यो मुक्तक हो, ईश्वरमणि अधिकारीको । पोखरामा र यदाकता त्यसबाहिर हुने साहित्यिक कार्यक्रमहरुमा पनि कहिले कविता त कहिले गजल त कहिले यस्तै च्वास्स घोंच्ने मुक्तक सुनाइरहने ईश्वरमणिले शनिबार पाठक, स्रोताका लागि कोसेली लिएर मञ्चमा उभिए ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा शनिबारको बिहान पोखरेली मुक्तक, यहाँको इतिहास र मुक्तककार ईश्वरमणि अधिकारीकै वरिपरी घुम्योे । नेपाली साहित्य आकासमा ३५ सालतिर मुक्तकको सहर भनेर चिनिने पोखरामा पछिल्लो समय देशकै ध्यान केन्द्रित गर्ने गरी मुक्तकका गतिविधि भइरहेका छैनन् ।

टिकट काटेर मुक्तक सुन्ने परम्परा नैे बसेको पोखरामा पछिल्लो समय निरन्तरता नपाए पनि मुक्तकका गतिविधि र पुस्तक प्रकाशन भने भइरहेका छन् । त्यही क्रममा शनिबार अर्को मुक्तकको पुस्तक लोकार्पण भएको छ । यो मुक्तक संग्रह उनै ईश्वरमणि अधिकारीको हो ।

जुनसुकै विधालाई मूल विधा बनाए पनि साहित्यमा लाग्नेले पोखरामा प्रायले मुक्तक लेखेकैै हुन्छन् । कवितालाई मूल विधा मानेका कवि ईश्वरमणि अधिकारीद्वारा लिखित ‘सम्बोधिका’ मुक्तक संग्रह लोकार्पण भएकोे हो । वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले सम्बोधिका किताबको कभर अनावरण गरे भने लेखक ईश्वरमणिसहित वरिष्ठ गायिका हरिदेवी कोइराला, साहित्यकार सरस्वती प्रतीक्षा, दीपक समीप, सञ्जीव पौडेल र उपेन्द्र पौडेलले पुस्तक सार्वजनिक गरे ।

प्राध्यापनसँगै साहित्य लेखनमा पनि उत्तिकै सक्रिय साहित्यकार ईश्वरमणिको यो तेस्रो साहित्यकृति हो । यसअघि उनको समयको तस्बिर कविता संग्रह र हृदयको आलाप गजल संग्रह प्रकाशित भइसकेको छ ।

पुस्तकको लोकार्पणपछि बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली साहित्यमा मुक्तक चोटिलो विधाका रुपमा स्थापित भएको बताए । अर्का साहित्यकार तीर्थ श्रेष्ठले साहित्य अत्यन्तै कडा नियमहरूमा बांधिएर लेख्ने कुरा नभएको बताउँदै केही लाइनका मुक्तकले समाजका हरेक पक्षलाई गहिरोसँग छुने, प्रहार गर्ने क्षमता राख्ने बताए ।

वरिष्ठ गायिका हरिदेवी कोइरालाले पोखराको मुक्तक इतिहासमा ईश्वरमणिको कृति एउटा कोसेढुंगा बन्ने बताइन् । १४ वर्षको अन्तरालमा संग्रह बजारमा ल्याएका ईश्वरमणिका १ सय ११ वटा मुक्तक संग्रहमा समावेश छन् ।

संग्रहमा ५० प्रतिशत मायाप्रेम, त्यसपछि राजनीतिक मुक्तक रहेको बताउँदै समीक्षक सञ्जीव पौडेलले ईश्वरमणिका मुक्तकले जीवनमा धोका, घात भए पनि प्रेम कहिल्यै नमर्ने दर्शन अभिव्यक्त गरेको बताए ।

साहित्यकार सरस्वती प्रतीक्षाले मुक्तकको सहर पोखरामा मुक्तककै कृति थपिनु र त्यसमा पनि स्तरीय मुक्तकको कृति थपिनुले डबल खुसी मिलेको बताइन् । अलि जटिल, निरसिलो मानिने गणितमा विद्यावारिधी गरेका ईश्वरमणि साहित्यमा भने उत्तिकै रसिलो र उत्तिकै अब्बल रहेको उनकै दामली साहित्यकार जीवनसागर भण्डारीले सुनाए ।

अर्का साहित्यका दीपक समीपले पनि ईश्वरमणि सबै पुस्ता र क्षेत्रमा भिज्न सक्ने तथा सिर्जनाले जोड्न सक्ने व्यक्तिका रुपमा चित्रण गरे । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले एउटा संग्रहणीय मुक्तक संग्रह पाएको बताए ।

मुक्तककार ईश्वरमणिले जीवनका विभिन्न समयमा लेखिएका मुक्तकहरुबाट छानेर यो कृति निकालिएको बताउँदै अब अर्को कृति छिट्टै प्रकाशित हुनेसमेत बताए । सम्बोधिकालाई सम्बोधन गर्दै लेखिएका मुक्तकहरु पस्किएका ईश्वरमणिले त्यसको राज पत्ता लगाउने जिम्मा पनि पाठकलाई नै छोडे ।

हृदय जब टुक्रिन्छ, त्यो कि ढुंगा बन्छ कि कपास बन्छ
अहँ तिमीले भने झैं न त्यो वादल बन्छ न बतास बन्छ
तिमी हरदम स्वतन्त्र छ्यौ, निर्बन्ध छ्यौ सम्बोधिका !
ईश्वर भन्नु त मूर्ति न हो, न उदास बन्छ न हतास बन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?