+
+

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १६:३०

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो । ‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो । अर्कोतर्फ, आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ । दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ ।

‘गदर २’ सामु अब ‘बाहुबली २’ (हिन्दी संस्करण) र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ । ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।

प्रक्षेपणअनुसार ‘गदर २’ ले आइतबार १५ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्न सक्ने अनुमान छ । यदि ‘गदर २’ ले आइतबार १५ करोड भारु कमाउन सक्यो भने ‘बाहुबली २’ को रेकर्ड तोड्न उसले ६० करोड भारु मात्र कमाए हुन्छ । ‘पठान’को कीर्तिमानमा पुग्न अझै १०० करोड कमाउन बाँकी छ ।  तेस्रो हप्तामा पुगे पनि यो फिल्मको क्रेजमा भने कमी आएको छैन । यो फिल्म चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ फिल्मको तुलनामा यसको कमाइ राम्रो छ ।

‘गदर २’ को कमाइ हेर्दा बलिउड लयमा फर्किएजस्तो देखिन्छ । पछिल्लो तीन वर्ष हिन्दी फिल्मका लागि राम्रो रहेन । यो वर्ष तालिका फेरिएको छ । पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे । आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ । शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ । प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ ।

‘गदर २’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ५७२.२० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ । निर्देशक अनिल शर्माले ‘गदर २’ ले एक हजार करोड भारु कमाउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?