+
+

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १८:२२

१५ भदौ, बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी गराए ।

अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने कार्यक्रम तय भएको उनले बताए ।

उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पदमा अर्याल लगायत सहभागी हुने कँडेलले बताए ।

सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने उनले बताए ।

सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

पत्रकार सम्मेलनमा एमाले सचिव पद्मा अर्यालले प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसके लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध नगरेको बताएकी छन् ।

प्रदेश इन्चार्ज समेत रहेकी उनले मुलुक संघीयतामा गइसकेपछि हुन लागेको प्रथम प्रदेश अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनको पहल गरिने बताइन् । तर सहमतिका नाममा पार्टीको शीर्ष नेतृत्वले लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध नगरेको उनले स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?