+
+

नेपालको शान्ति प्रक्रियामा अमेरिकी चासो

दिपेश शाही दिपेश शाही
२०८० भदौ १७ गते २१:२०
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग अमेरिकी सिनेटर होलेन ।

१७ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो ।

प्रधानमन्त्री प्रचण्ड यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

त्यसको दुई हप्ताअघि नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटका क्रममा यी विषयमा चासो राखेका हुन् ।

शुक्रबार नेपाल आइपुगेका सिनेटर होलेनले सोही दिन प्रधानमन्त्री प्रचण्डबाट सुरु गरेर आइतबार संसदको प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर टुंग्याएका छन् ।

प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र विभिन्न राजनीतिक दलका युवा सांसदहरूसँग भेट गरेका होलेनले नेपालमा एमसीसीको सफल कार्यान्वयन र शान्ति प्रक्रियाको विषयमा चासो राखेका थिए । तर एमाले अध्यक्ष ओलीसँगको भेटमा भएको छलफल मात्रै सार्वजनिक गरिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओलीसँगको भेटमा सिनेटर होलेनले ‘नेपालको शान्ति प्रक्रिया के हुन्छ’ भनेर जिज्ञासा राखेका थिए ।

एमाले नेताहरुसँग अमेरिकी सिनेटर होलेन ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नै सिनेटर होलेनले यस विषयमा चासो राखेका थिए । प्रधानमन्त्रीले पनि छलफलका क्रममा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका थिए ।

‘उहाँको एक प्रकारले जिज्ञासा जस्तो थियो भन्दा हुन्छ’, स्रोतले अनलाइनखबरलाई भन्यो, ‘तर अमेरिकी सिनेटर होलेनले नेपालको सन्दर्भमा लोकतन्त्रको सफल कार्यान्वयनका लागि पनि यसको टुंगो लाग्नु जरुरी रहेको बताउनुभयो ।’

प्रचण्डले शान्ति प्रक्रियाका कामहरू टुंग्याउने विषयलाई आफूले प्राथमिकता दिइरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि यसमा सहयोग गर्नुपर्ने बताएका थिए ।

‘प्रधानमन्त्रीले शान्ति प्रक्रियाको काम चाँडै सकिनेमा विश्वस्त बनाउने प्रयास गर्नुभयो । साथै, अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई सकारात्मक कोणबाट सहयोग गर्नुपर्‍यो भन्ने कुरा राख्नुभयो’, स्रोतले भन्यो ।

होलेनले भेटका क्रममा शान्ति प्रक्रियाका कामहरू टुंग्याउँदा मानवअधिकार उल्लंघनका गम्भीर घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा पनि सिनेटर होलेनले यस विषयमा संकेत गरेका थिए । उनले नेपालको लोकतन्त्र युवामय अवस्थामा रहेको भन्दै यसको सफलताका लागि अमेरिकाले सहयोग गर्ने बताएका थिए ।

‘नेपालको लोकतन्त्र सफल होस् भन्ने हाम्रो चाहना हो’ उनले भने, ‘हामी सरकारको पारदर्शिता र उत्तरदायित्वमा विश्वास गर्छौं । अमेरिका त्यसका लागि आवश्यक सहयोग गर्न तयार छ । दुई देशका नागरिकबीचको सम्बन्ध आदानप्रदान गर्नेदेखि सक्ने सबै सहयोग गर्ने अमेरिकाको चाहना छ ।’

उनले आफ्नो नेपाल भ्रमणको समय छोटो भए पनि असाध्यै फलदायी भएको बताए ।

‘मैले निर्वाचित प्रतिनिधिहरूसँग भेट्ने मौका पाएँ । नागरिक समाजसँग भेट्ने मौका पाएँ । साथै, स्वास्थ्य प्रणाली र हाम्रो यूएसआईडीका परियोजनाहरूको हिस्सा भएका मानिसहरूसँग भेट्ने मौका पाएको छु । त्यसैले यो भ्रमण राम्रो भएको छ’ उनले भने, ‘नेपालको लोकतन्त्रलाई थप मजबुत बनाउन सहयोग हुनेछ ।’

उनले नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध सुरु भएको ७५औं वर्षगाँठको अवसरमा लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भनेर थप तरिकाहरू खोजिरहेको बताए ।

‘नेपालसँग अहिले युवामय लोकतन्त्र छ । यो अमेरिका र नेपालबीचको साझेदारीको महत्वपूर्ण हिस्सा हो’ उनले भने, ‘हामी लोकतन्त्रका साझेदार हुन चाहन्छौं । हामी लोकतन्त्रले सबैको उद्धार गर्छ भन्ने विश्वास गर्छौं ।’

सिनेटर होलेन किन आएका थिए ?

नेपाललगायत दक्षिणएसियाका तीनवटा मुलुक श्रीलंका र माल्दिभ्सको आठदिने भ्रमणका लागि आएका थिए । शुक्रबार नेपाल आइपुगेका उनी आइतबार नेपालको भ्रमण सिध्याएर श्रीलंका प्रस्थान गरेका छन् ।

मेरील्याण्ड राज्यबाट सिनेटर रहेका होलेनले नेपाल भ्रमणका क्रममा विशेष गरी अमेरिकी लगानीमा रहेका परियोजना र आर्थिक तथा राजनीतिक क्षेत्रका विषयमा छलफल गर्ने उद्देश्य रहेको जनाइएको थियो ।

‘अमेरिका र यी भ्रमण हुने प्रत्येक देशहरू बीचको सम्बन्धलाई सुदृढ पार्ने यो भ्रमणको मूल लक्ष्य हो । जसमा सुरक्षा सहयोग, आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने, जलवायु परिवर्तनसँग लड्ने, प्रजातन्त्र र मानवअधिकारको विकास गर्नेलगायत विषयहरू समावेश छन्’, सिनेटको वेबसाइटमा उनको भ्रमण बारे उल्लेख छ ।

भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै सिनेटर होलेनले आफू पहिले पनि नेपाल आएको र दोहोर्‍याएर आउन पाउँदा खुसी भएको बताए ।

‘नेपाल फर्केर आउन पाउँदा खुसी लागेको छ । म यहाँ सन् १९८० मा आएको थिएँ । यो सुन्दर देश यात्रा गरेको धेरै वर्षपछि संयुक्त राज्य अमेरिका र नेपाली जनताबीचको मित्रताको ७६ वर्ष मनाउँदै गर्दा यहाँ आउन पाउँदा खुसी भएको छु’, उनले भने ।

उनले पछिल्ला वर्षहरूमा नेपाल धेरै परिवर्तन भएको, तर एउटा कुरा उस्तै रहेको भन्दै प्रशंसा गरे । ‘यस देशको सुन्दरता र सांस्कृतिक सम्पदा अहिल पनि उस्तै छन्’, उनले भने ।

भ्रमणका क्रममा उनले काठमाडौं र जनकपुरका हिन्दु मन्दिरहरू तथा बौद्ध स्तुपको समेत अवलोकन गरेका उनले नेपालको सुन्दर कुरा भनेको समृद्ध सांस्कृतिक सम्पदा रहेको बताए ।

उनले अमेरिकाले नेपालसँग बलियो आर्थिक सम्बन्ध विकास गर्न चाहेको बताए । एमसीसी कार्यान्वयको घोषणा भएको केही दिनपछि नेपाल आएका उनले अमेरिकी लगानीमा रहेका विभिन्न परियोजनाको निरीक्षण गरेका थिए ।

‘मैले मेरो यात्राको क्रममा एमसीए (एमसीसीको नेपाल शाखा) कार्यालयको भ्रमण गरेको थिएँ । एमसीसी कार्यान्वयन सुरु भएको केही दिनपछि म आएँ’ उनले भने, ‘यसको पाँच वर्षे समयावधि सुरु भएको छ । यो महत्वपूर्ण परियोजनालाई समयमै पूरा गर्न प्रयास गर्ने दृढ संकल्प छ ।’

उनले भ्रमणका क्रममा यहाँका महिला सहकारी, कला क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत यूएसआईडीले लगानी गरेका परियोजनाहरूको निरीक्षण गरेका छन् । साथै, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरूसँग पनि भेट गरे ।

उनले नेपालको प्रेसस्वतन्त्रता र मिडिया क्षेत्रको विकासको पनि प्रशंसा गरे । उनले नेपालमा यूएआईडीमार्फत लगानी भएका क्षेत्रको प्रगतिबाट आफू सन्तुष्ट रहेको समेत बताए ।

उनले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको भन्दै अमेरिकी व्यापारिक संस्थाहरूले नेपालमा काम गर्न चाहेको बताए ।

उनले नेपाल र अमेरिकाको संसदबीच सहकार्य गर्न चाहेको भन्दै यस विषयमा छलफल होस् भन्ने चाहेको बताए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?