+
+

विश्व–प्रदीपलाई संस्थापनइतर समूहमा भित्र्याउन पहल

लिलु डुम्रे लिलु डुम्रे
२०८० भदौ १९ गते १९:११
महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका अर्का प्रतिस्पर्धी नेता प्रदीप पौडेललाई शेखर–गगन समूहमा भित्र्याउन पहल सुरु भएको छ । शेखर–गगन पक्षको आन्तरिक बैठकमा यसअघि सहभागी नभएका दुई नेता आइतबार सो पक्षको छलफलमा उपस्थित भएका थिए । छलफलको पहल गरेका नेता अर्जुननरसिंह केसीले गरेका थिए ।

आइतबार साँझ भेला भएका नेताहरुले एकबद्ध भएर देउवाको प्रतिवादमा जुट्नुपर्ने मत राखेका छन् । केसीले बोलाएको छलफलमा संस्थापनइतरका नेता डा. शेखर कोइरालाको भने उपस्थिति थिएन ।

साँझ भेला भएका नेताहरु दुई घण्टा बढी छलफल गरेर छुट्टिएका थिए । नेताहरुलाई एकत्रित बनाउन पहल गरेका नेता केसीले समसामयिक विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘पार्टीका नेताहरुलाई बोलाएर छलफल भएको हो । विश्व र प्रदीपलाई बोलाएर छलफल गर्ने पहल गरेको हुँ ।’

महामन्त्री विश्वप्रकाश र नेता पौडेल देउवा खेमामा छैनन् । संस्थापन इतर पक्षको पनि भइसकेका छैनन् । महामन्त्री गगन थापा दुबैलाई भित्र्याउन सकारात्मक छन् । तथापी, शेखर–गगन समूहमा प्रवेश गरिसकेको अवस्था छैन । विश्व–प्रदीपलाई यो समूहमा भित्र्याउने पृष्ठभूमि आइतबार केसीले तयार गरेका छन् ।

विश्व–प्रदीपले शेखर–गगन समूहकै विषयमा बैठकमा आशंका व्यक्त गरेका थिए । एउटै समूहमा रहेका सांसदहरुको मत संसदीय दलको चुनावमा किन खसाल्न नसकेको भन्ने उनीहरुको प्रश्न थियो । संसदीय दलको नेताको चुनावमा गगनले २५ मत पाउँदा सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएका थिए ।

शेखर कोइराला र गगन थापा

महामन्त्री शर्माले शेखर–गगन समूहमा नै प्रष्टता नभएको आशंका व्यक्त गरेका थिए । ‘३५ भोट भएको तपाईंहरुको टिममा हामीसमेत मिसिँदा जम्मा २५ भोट कसरी आयो ? यस्तो अविश्वासको परिस्थितिले कसरी लड्न सकिन्छ ?’ छलफलमा संस्थापनइतरका नेतालाई विश्वले प्रश्न गरेका थिए ।

शेखर–गगन पक्ष आवश्यक परेको बेलामा समेत देउवाका विरुद्धमा आक्रामक हुन नसकेको बाँकी नेताहरुको मत थियो । बैठकमा सहभागी एक नेताले महामन्त्री शर्माको भनाइ उधृत गर्दै भने, ‘कति ठाउँमा त भागै पाउनु भएन, भाग पाएका ठाउँमा कहाँ सन्तुलन मिलाउनुभयो ?’

शेखर–गगन पक्षले भ्रातृ संस्थाको कुनै पनि अध्यक्ष पाउन सकेका छैनन् । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, आदिवासी जनजाति संघमा देउवाले आफू पक्षका अध्यक्ष बनाएका छन् । भ्रातृ संस्थाको तदर्थ समिति ठूलो आकारको बनाए पनि महाधिवेशनको हैसियत अनुसारको भाग मिलाइएको  छैन । संघदेखि प्रदेशसम्मको मन्त्री बनाउँदा सभापति देउवाले अर्को समूहको हैसियतलाई उपेक्षा गरेको चिन्ता छलफलमा उठेको थियो ।

महामन्त्री थापाले सभापति देउवा एकलौटी निर्णय प्रक्रिया विरुद्ध प्रतिवादमा उत्रिरहे पनि आफ्नै समूहबाट पूर्ण साथ पाउन नसकेको बताए । टीममा समस्या आफ्नो कारणले नआएको थापाको दाबी थियो ।

‘मेरो कारणले टीममा एकता नभएकोे होइन । कयौं अपमान सहेर पनि म देउवाका गलत क्रियाकलाप विरुद्ध लडिरहेको छु’, थापाले भनेका थिए । महिला संघ, नेविसंघमा संस्थापन पक्षले एकपक्षीय निर्णयका विरुद्ध आफू उत्रिएको उनले सुनाएका थिए । संस्थापन इतरका कतिपय व्यक्ति आफ्नै समूह विरुद्ध बोलिरहेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

शेखरसँग परामर्श गरेर विश्व–प्रदीपसहित वृहत बैठक राख्ने सहमति नेताहरुबीच बनेको छ । नेता बलबहादुर केसीलाई त्यसका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

भ्रष्टाचारको मुद्दामा आक्रामक ढंगले आफ्नो समूहका सबै नेताले विषय उठाइदिए हुने भन्ने चाहे पनि साथ नपाएको उनले बताए । ‘देउवाको एकपक्षीय कार्यशैली र भ्रष्टाचार विरुद्ध साथीहरुको एउटै बोली होस् भन्ने चाहेको हुँ, त्यस्तो हुन सकेन,’ थापाले छलफलमा भने ।

१४ औं महाधिवेशनमा ४० प्रतिशतको शक्ति प्राप्त गरेका संस्थापनइतरका नेता शेखरले आफ्नो हैसियत अनुसार भूमिका नदेखाएको चिन्ता पनि नेताहरुले व्यक्त गरेका थिए । बैठकमा ‘शेखरजीको व्यवहारबाट देउवासँग लडिरहेका छन् भन्ने किन देखिएको छैन ? देउवासँग लडेको इमेज बनाउन शेखरले सक्नुभएको छैन,’ भनेका थिए ।

शेखरलाई साथमै राखेर टीम थप सशक्त बनाएर जाने कुरामा सहभागी सबै एकमत भएका थिए । सहभागी एक नेताका भनाइमा, ‘शेखरजी बाहेकको टीम बनाउनेबारे कसैबाट पनि कुरा आएन । सभापति देउवाको एकलौटी निर्णय प्रक्रियाविरुद्ध बोल्नेहरु सबै जोडिनुपर्छ भन्ने कुरा उठेको थियो त्यहाँ ।’

लोकतान्त्रिक अभ्यासमा पार्टीभित्रको विपक्षी बलियो हुनुपर्ने तर्क नेता प्रदीप पौडेलले राखेका थिए । ‘पार्टीमा विपक्षी शक्ति एकदमै कमजोर भएको व्यवहारबाट देखिएको छ,’ पौडेलले भनेका थिए । पार्टी र सरकारमा देखिएका विकृतिविरुद्ध नेताहरु बोल्न नसकेको उनको भनाइ थियो ।

‘हाम्रो नेतृत्व इतिहासकै सबैभन्दा अलोकप्रीय छ र पनि हाम्रा साथीहरुले योबारे किन बोल्न सक्नुभएको छैन ?’ पौडेलको भनाइ सुनाउँदै बैठकका सहभागी एक नेताले भने ।

केन्द्रीय समितिको बैठकमा संस्थापन इतरका नेताहरुको फितलो प्रस्तुतीका विषयमा पनि कुरा उठेको थियो । ‘केन्द्रीय समिति बैठकमा गगन जी र म आक्रामक ढंगले बोल्यौं । अरु नेता किन बोल्न सक्नुभएन ?’ पौडेलले छलफलका क्रममा भनेका थिए । मूल नेतृत्वकै कारण पार्टी अलोकप्रिय भएको सहभागीहरुको तर्क थियो ।

सभापतिको रवैयालाई साथ दिँदै गयौं भने पार्टी उठ्नै नसक्ने अवस्थामा पुग्ने भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । सहभागी एक नेताका अनुसार देउवा पक्ष जुन रुपमा पनि पार्टी कब्जा गर्नुपर्ने लाइनमा रहेको आवाज बैठकमा उठेको थियो ।

संस्थापनइतरलाई बलियो बनाउन विश्व–प्रदीपलाई शेखर–गगन पक्षमा ल्याउन ढिलो भइसकेको मत कतिपयको थियो ।

अर्जुन नरसिंह केसी

छलफल आयोजना गरेका नेता केसीले आफूले समूहका नेता शेखरलाई विश्व–प्रदीप सहितको बैठक राख्न आग्रह गरिरहेको सुनाएका थिए । ‘विश्व–प्रदीपलाई पनि बोलाएर छलफल गर्न धेरैपटक शेखरजीलाई भनें । उहाँले नभ्याएर हो कि,’ केसीको भनाइ थियो । टीम लिडरको हैसियतले शेखरले सबैलाई बोलाउनुपर्ने मत नेताहरुले राखेका थिए । शेखरसँग परामर्श गरेर विश्व–प्रदीप सहित वृहत बैठक राख्ने सहमति नेताहरुबीच बनेको छ । नेता बलबहादुर केसीलाई त्यसका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

संस्थापनइतरलाई बलियो बनाएर २०८२ सालमा नै महाधिवेशन हुने गरी अघि बढ्नुपर्ने मत बैठकमा उठेको थियो । पार्टी संस्थापन पक्षकोे हैकम र सरकारको दिशाहीनता विरुद्ध सशक्त आवाज उठाउने सहमती भएको सहभागी एक नेताले बताए ।

छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु बलबहादुर केसी, प्रदीप पौडेल दिलेन्द्र बडु लगायत सहभागी थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?