+
+
ब्लग :

अतिवादले निम्त्याउने अनिष्ट

जाति र धर्म अनुसार खानपान फरक होला तर मानवता एकै होl जातीय र धार्मिक हिंसा भएका समाज कहिल्यै सुरक्षित र समृद्ध बन्दैनन्l जातीय हिंसाको आगोमा जलिरहेको मणिपुर, धार्मिक हिंसामा फसेको काश्मिर, इजरायल-प्यालेस्टाइन यसका उदाहरण हुन् ।

 पासाङ शेर्पा  पासाङ शेर्पा
२०८० भदौ १९ गते १६:२९

अग्नि आफैंमा नव सभ्यताको ज्योति हो। आगो पाएपछि आगोको संरक्षण गर्न जानेपछि मान्छे नयाँ सभ्यताको युगमा प्रस्थान गरेको हो । अत: आगो महत्वपूर्ण अस्त्र हो । जलाउनु आगोको नैसर्गिक धर्म (स्वभाव) हो । आगोको प्राकृतिक स्वभाव जलाउनु हो यद्यपि जहाँ, जहिले र जे पनि जलाउनु आगोको धर्म होइन ।

आगोलाई प्रयोग गर्नेले यसको धर्मको पनि रक्षा गर्ने दायित्व बोकेको हुन्छ । त्यसैले अग्नि स्वभाव मात्र होइन प्राकृतिक भाव पनि हो । प्रकृति स्वभावतः हुन्छ भने संस्कृति मानव निर्मित । धर्म, नियम, कानुन सबै मानव निर्मित अभ्यासहरू हुन् । यद्यपि मानव निर्मित संस्कृति र कानुनहरू पनि समयक्रममा स्वाभाविक लाग्न थाल्छन्।

‘धर्म भनेको जीव-जगतका स्वभावको सूक्ष्म नियमको खोज हो। यो खोजका उपाय अनेकन् छन्। यस अर्थमा मुन्धुम र वेद/वेदान्तमा केही भिन्नता होला। तर जीवन-जगतको स्वभावका विषयमा मुन्धुम र वेदको निष्कर्ष समान छ। यस अर्थमा वेद र मुन्धुम एक-अर्का विरोधी होइनन्। यी फरक नदी अवश्य हुन्। तर यिनीहरूको मुहान एउटै हो। यी दुवैको अभिमुखीकरण एउटै छ। त्यसकारण वैदिक र मुन्धुमीबीच दूरी होइन, निकट सहकार्य नै उपयुक्त हुन्छ’ (मोहन तिम्सिना- अनलाइनखबर) ।

हाम्रो सबैभन्दा ठूलो धर्म भनेको मानवता हो । मानवता हिन्दु, बौद्ध, मुस्लिम, सिख, जैन, बोन लगायत संसारमा प्रचलित सबै धर्मको सार हो । संस्कृति जीवन पद्धति हो । त्यसैले फरक–फरक धर्मको संस्कृतिलाई सम्मान गर्दै सामाजिक मर्यादा, शिष्टता र व्यवस्था कायम गर्नु सबै धर्मावलम्बीको कर्तव्य हो ।

जाति र धर्म अनुसार खानपान फरक होला तर मानवता एकै हो । जातीय र धार्मिक हिंसा भएका समाज कहिल्यै सुरक्षित र समृद्ध बन्दैनन् । जातीय हिंसाको आगोमा जलिरहेको मणिपुर, धार्मिक हिंसामा फसेको काश्मिर, इजरायल-प्यालेस्टाइन यसका उदाहरण हुन् ।

आगोलाई मिलाएर बचाएर चलाउनुमा नै यसको गरिमा रहन्छ । सृष्टिको आगो विनाशकारी हुनुहुन्न । त्यस्तै धर्म पनि समुदायको आगो हो, आगो उज्यालो हो । आगो ज्योति पुञ्ज हो, यसले सृष्टि र संरक्षण गर्ने दायित्व बोक्छ विनाश गर्ने काम गर्दैन । धर्मले विनाशको बाटो लिंदैन । मानव मर्यादाको बाटो हिंड्छ । धर्म रूपमा जहाँ जे जस्तो देखिए पनि, अनेक विविधता रहे पनि अन्तर्य एकै हो- मानव कल्याण र प्राणी हित । अत: धर्मको बाटो हिंड्नेहरू अधर्मी बन्न मिल्दैन ।

कुनै पनि धर्म र सम्प्रदायका व्यक्तिहरू, अगुवाहरू अधार्मिक नहुने बित्तिकै समस्या हल हुन्छ । धर्ममा अहम् र विनाशको भाव हुँदैन । जहाँ अहम् र विनाशको भाव रहँदैन त्यहाँ धार्मिक द्वन्द्व, किचलो र उग्रताले स्थान पाउँदैन । देशको एउटा चर्चित शहर धरानसँग जोडिएर भएका चर्चा र बहसलाई यसरी नै बुझ्नुपर्छ।

पहिचानको आन्दोलनले गत २०७९ फागुनदेखि पूर्व आन्दोलित रह्यो र यो आन्दोलनले एक सदस्य समेत गुमायो । प्रदेशको राजधानी विराटनगरमा भएको आन्दोलनमा सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च सम्बद्ध युवा पदम लिम्बु (लाजेहाङ) को चैत १० गते मृत्यु भयो । पछिल्लो समय अनेक र अनावश्यक विषयमा विवाद बढ्यो र खासगरी सामाजिक सञ्जालले यसलाई मलजल गर्‍यो। पछि कर्फ्यु नै लगाउनुपर्ने अवस्था पनि सिर्जना भयो।

पानी र दमकल बोकेर जानुपर्नेहरू झुलो–चकमक, सलाई र लाइटर बोकेर सडकमा निस्कने अवस्था सिर्जना गर्नु दुःखद छ । संयम  र मौन रहनुपर्नेहरू जोड–जोडले चिच्याइरहेका छन् । आफ्ना अनुयायीहरूलाई शान्त रहन आह्वान गर्नुपर्ने धार्मिक गुरुहरू युद्धको अन्तिम मोर्चामा जान झैं हतारिरहेका छन् । जुन दुर्भाग्यपूर्ण हो ।

 प्रदर्शनको विषय बनाइनुहुन्न खाद्य संस्कृति  

खाद्य संस्कृति खासमा प्रदर्शन गर्ने विषय नहुनुपर्ने हो। झन् प्राणी हत्या गरेर बनाइने मासुजन्य विषय प्रदर्शनको विषय कसरी बन्छ ? जुनसुकै धर्मावलम्बीले बुझ्नुपर्ने कुरा के हो भने प्राणी हिंसाको विषय बहादुरी प्रदर्शन गर्ने चिज होइन । गाई, गोरुको मात्र होइन, अरू मासुजन्य खाद्य पदार्थ खसी, कुखुरा, राँगा, हाँस, सुँगुर, बंगुर जस्ता पशुपन्छीको सार्वजनिक बध र खुला मासु बेचबिखन बन्द गर्नु उपयुक्त हुन्छ ।

मासुजन्य पदार्थको बेचबिखनलाई उचित व्यवस्थापन गर्दै नियमन र वैज्ञानिक विधि मार्फत बजारमा ल्याउनु आजको आवश्यकता बनेको छ । बुद्धभूमि नेपालमा जुनसुकै किसिमका हिंसा पनि अशोभनीय हुन्छ । बुद्धको यो प्रसङ्ग मनन गरौं : ‘सबै दण्डदेखि डराउँछन्, सबैलाई जीवन प्रिय छ, सबै प्राणीलाई आफू समान मानेर न कसैको हत्या गर्नु र न गर्ने प्रेरणा दिनु ।’

संविधानको प्रावधान

हाम्रो संविधानको धारा २६ मा रहेको धार्मिक स्वतन्त्रताको ३ नं बुँदामा उल्लेख छ : ‘धार्मिक स्वतन्त्रताको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ ।’

संविधानको यो प्रावधानको हेक्का राखियो भने यहाँ विवाद उत्पन्न हुने ठाउँ देखिन्न । यद्यपि कानुनको व्यावहारिक प्रयोग कुनै अपवाद घटना संस्कृति र सभ्यतामा कानुन मौन बस्ने परम्परा पनि छ । कानुन र त्यसको मौनता बारे आपसमा समझदारी बन्दा कुनै धर्म, संस्कृति र सभ्यताबारे कम प्रश्न उठ्ने वातावरण बन्छ ।

कुनै अवोध प्राणी मेरो मात्र भन्ने अप्राकृतिक दाबी पनि बेठिक हुन्छ भने कानुनले वर्जित गरेको कुराको उल्लंघन पनि न्यायोचित हुन्न । हाम्रो समस्याको समाधान यो बीचको बाटो परस्परको समझदारी र हिस्सेदारीमा खोजिनुपर्छ । विगतदेखि जुन अभ्यास छ त्यसलाई कानुन र अहंको विषय बनाइएन भने समाधान पहिल्याउन सकिन्छ । कानुनमा उल्लेख भएको भनेर गरिने यान्त्रिक विरोध र हाम्रो सभ्यता र संस्कृतिको अभिन्न अङ्ग हो भनेर गरिने खुल्लमखुला प्रदर्शन दुवै घातक हुन्छ ।

अपमान न गाई–गोरु खाने समुदायको गर्न हुन्छ न गाई–गोरु पुज्ने संस्कृतिको। विविधता हाम्रो मौलिकता र परस्परको एकता भनेर स्वीकार गर्न सक्नुपर्छ । समस्याको गाँठो फुक्छ । धर्मको नामबाट गरिने अराजनीति र राजनीतिमा सेक्न खोजिएको रोटीको अन्तर्य पहिल्याउन सकिएन भने धार्मिक र जातीय द्वन्द्वको दलदलमा हामी फस्ने र कहिल्यै कसैले नजित्ने युद्धमा सामेल हुने निश्चित छ ।

संविधानलाई मान्ने र संविधानवादलाई विश्वास गर्ने हो भने हाम्रो संविधानका प्रावधानहरू परिवर्तनीय छन् । बहुमत पुर्‍याएर संविधान र प्रावधान उल्ट्याउन पाइन्छ । त्यसैले कुनै पनि अभियान आफैंमा निषेध र बन्देजको पक्ष मान्न सकिन्न ।

विद्रोहीहरूले आत्मसात् गर्नुपर्ने पक्ष यो हो कि, नेपालको सन्दर्भमा पहिचान र सामुदायिक अधिकारको कुरा कानुनी प्रश्न मात्र होइन, यसमा अन्तरसामुदायिक मनोविज्ञान र संवेदनशीलता पनि जोडिएको हुन्छ। यो विषयलाई विद्रोहीहरूले बेवास्ता गर्न मिल्दैन। यस्ता विषयमा समझदारी, सौहार्दता कायम गर्न सकियो भने हामीलाई लडाएर मजा मान्ने र फाइदा लिनेहरू निराश हुनेछन् ।

आज जो जसका बीच अन्तरविरोध छ त्यो कुनै पराइ मान्छे र दुश्मन होइन हाम्रै समाजका दाजुभाइ दिदीबहिनी हौँ । परिस्थितिको गाम्भीर्यलाई बुझेर प्रा.डा. युवराज सङ्ग्रौला भन्छन्, ‘म पाँचथरमा जन्मेको मान्छे हुँ, जातले म बाहुन हुँ, तर सभ्यताले किराँत हुँ।’ स्थानीय तवरमा सबैले आ–आफ्नो सामाजिक, सांस्कृतिक र पहिचानको बनोट अनुसार यति बुझिदिने हो भने समस्या समाधान गर्न असहज छैन ।

 अतिरञ्जनाबाट बचौं

अतिरञ्जनाले वास्तविकता छोपेर घृणाजन्य कुरालाई मलजल गर्छ । आफूले देखेको सत्य र आफूलाई लागेको मात्र असल हो भन्ने भ्रमबाट बच्न सकियो भने यथार्थ छिटो भेटिन्छ । अतिरञ्जनापूर्ण अभिव्यक्ति र घृणाजन्य भावमा कमी ल्याउने वातावरण निर्माण गर्न समाजका सचेत र बौद्धिक व्यक्तिहरूले समन्वय र सामञ्जस्य राख्नुपर्दछ । दूरी बढाउने होइन, त्यसलाई साँघुरो पार्ने नीति र नियत जरुरी हुन्छ ।

 धर्मनिरपेक्षताको मर्म

धर्मनिरपेक्ष हुनु भनेको सबैले आ–आफ्नो धर्म र संस्कारमा गर्व सहित बाँच्न पाउनु हो । कुनै धर्मको विशेषाधिकार र अन्य धर्म–संस्कृतिलाई अधीनस्थ बनाएर केन्द्रीकृत एउटा धर्मको मियोमा राज्यलाई हिंडाउनु होइन । धर्मलाई निजी आस्थाको मामला छोडेर राज्य तटस्थ बस्नु र सबै धर्ममा आइपर्ने विघ्न–बाधालाई अभिभावकीय भूमिका दिनु हो ।

कसैलाई लाखा र कसैलाई पाखा गरेर कुनै विशेष धर्म र समुदायको पृष्ठपोषण गर्नु होइन । धार्मिक स्वतन्त्रताको अर्थ पनि अराजक र स्वच्छन्द हुनु नभएर आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरूको मर्यादामा आँच आउन नदिई आफ्नो स्वतन्त्र गतिविधिमा अभ्यस्त हुनु हो ।

 प्रविधिले ल्याएको गोलमाल

प्रविधिको सदुपयोगले जसरी हाम्रो जीवन सहज छ त्यसैगरी यसको दुरूपयोगले हाम्रो जीवन दुरुह पनि बनाएको छ । प्रेम, मिलन प्रदर्शन गर्ने विषय हो तर झै–झगडा हिंसा प्रदर्शन गर्ने खुराक होइन । हामी आज जे गर्नुहुँदैन भनिन्छ जुन कुरा समाजको लागि घातक हुन्छ सो गर्न अभिप्रेरित छौं ।

नकारात्मकता छोडेर सकारात्मकताको प्रचार गरौं । वर्तमानमा बाँचेर भविष्यको चिन्ता गरौं । विशाक्त धार्मिक अन्धता र रुढता हामीले त्याग्ने विषय हुन् । सहिष्णुता, सद्भाव, मेलमिलाप र परस्परको मर्यादा र विश्वास ग्रहण गर्ने हाम्रा आदतका निरन्तरता र सांस्कृतिक अभिन्नता हुन् ।

वेदवालाहरू (वैदिक), मुन्धुमवालाहरू (मुन्धुमी), त्रिपिटकवाला (बुद्दिष्टहरू) हुन् या बाइबलवाला क्रिस्चियन वा मुश्लिम, बोन, जो जुन धर्मावलम्बी भए पनि आजको उद्देश्य परस्पर विश्वास र भाइचाराको सम्बन्ध सहित एकताको आह्वान गर्ने समय हो । शान्तिको अपील गर्ने बेला हो ।

बुद्ध भूमिमा शान्ति र सद्भावका कुरा गरौं । अनन्त युद्धमा जाने मार्ग त्यागेर कहिल्यै नजितिने अतिवादको अहम् छोडेर सम्बद्ध पक्ष वार्ता, सहमति र समझदारीमा अगाडि बढ्नु नै समयको माग र बुद्धिमानी हुनेछ ।

(नेपाल शेर्पा संघ ललितपुरका अध्यक्ष रहेका लेखकले त्रिभुवन विश्वविद्यालयबाट एमफिल पीएचडी अध्ययन गरिरहेका छन्।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?