+
+

के हो ‘बर्निङ म्यान फेस्टिबल’ ? जहाँ ७० हजार मानिस हिलोमा फसे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते ११:५६
Photo Credit : Sydney Morning Post

काठमाडौं । अमेरिकाको नेवादामा हालै ‘बर्निङ म्यान फेस्टिबल’ आयोजना गरियो । उक्त सांस्कृतिक पर्वको खुसीयाली मनाउनका लागि करीब ७० हजार मानिस सहभागी भए । तर ती सबै मानिस मेलास्थलमै हिलोमा फसे ।

नेवादाको दक्षिणी भेगमा अवस्थित मरुभूमि क्षेत्रमा उक्त फेस्टिबलको आयोजना गरिएको गरियो । तर त्यहाँ जे कुराको कल्पनै गरिएको थिएन, त्यही नै हुनपुग्यो ।

उक्त पर्वको दिनमा २४ घण्टाभित्रै त्यहाँ घनघोर पानी पर्यो । दुई/तीन दिनमा पर्ने परिमाणको पानी एक दिनमै परेपछि मरुभूमिको बालुवा दबदबे हिलोमा परिणत भयो । अनि उपस्थित हजारौँ मानिसहरु त्यही हिलोमा फसे । उनीहरु हिलोमा यसरी गाडिए कि त्यहाँबाट हिँडेर अन्त जान पनि सकेनन् ।

रेनोबाट ११० माइल उत्तरमा अवस्थित ब्लाक रक मरुभूमिमा आयोजित उक्त पर्वमा कलाकार, संगीतकार तथा अभियानकर्मीहरुले जंगल क्याम्पिङका साथै विभिन्न खालका प्रस्तुती दिने गर्दछन् । तर विभिन्न सेलिब्रेटी, प्रभावशाली व्यक्ति तथा अर्बपतिहरु समेत सहभागी हुने उक्त पर्वलाई वर्षाले यस्तो गरी बिथोल्यो कि त्यहाँ जडान गरिएका शौचालयहरुले पनि राम्रो ढंगले काम गरिरहेका थिएनन् ।

हिलो आतंकका कारण मानिसहरुबीच त्रास फैलियो । त्यहाँ एकजनाको मृत्यु समेत भएपछि आयोजकहरुले उक्त फेस्टिवल नै बन्द गरिदिए ।

यसअघि सन् २०१८ मा पनि यो फेस्टिबल बिथोलिएको थियो । त्यसबेला धुलोयुक्त आँधीका कारण फेस्टिबल स्थगित गरिएको थियो भने कोरोना महामारीका बेला पनि दुई पटक कार्यक्रम रद्द भएको थियो ।

गत शुक्रबार त्यहाँ परेको १.३ सेन्टिमिटर भन्दा धेरै वर्षाका कारण त्यहाँ गाडी चलाउन पनि असुरक्षित रहेको अमेरिकाको भू–व्यवस्थापन ब्यूरोले जनाएको छ । त्यहाँ थप पानी पर्ने सम्भावना रहेकाले मानिसहरुलाई खाना र पानी बँचाएर राख्न भनिएको छ ।

यस्तो छ बर्निङ म्यान फेस्टिबलको इतिहास

बर्निङ म्यान फेस्टिबल नेवादाको ब्लाक रक सिटीमा आयोजना गरिन्छ । ब्लाक रकलाई संसारकै सबैभन्दा मृत मरुभूमि पनि भनिन्छ । उक्त फेस्टिबलको सुरुवात सन् १९९० को दशकमा भएको थियो । पहिलो पटक फेस्टिबल आयोजना हुँदा केवल ८० जनामात्रै मानिस आएका थिए । सन् १९९३ मा भने सहभागीको संख्या १ हजार नाघेको थियो । जुन संख्या अहिले ७० हजार पुगिसकेको छ ।

ब्लाक रक सिटीमा आयोजना गरिएको ‘बर्निङ म्यान फेस्टिबल’ । फोटो : सिड्नी मोर्निङ पोष्ट

अमेरिकामा बिदाका दिनमा गरिने भएकाले पनि यो पर्वमा धेरै मानिस सहभागी हुन्छन् ।

यो पर्वको खास विशेषता के हो भने त्यहाँ मानिसहरु एक हप्तासम्म मोबाइल फोन तथा इन्टरनेट जस्ता चिजहरुबाट टाढा रहेर परम्परागत नाचगानको मज्जा लिन्छन् ।

उक्त पर्वको नाम ‘बर्निङ म्यान’ (जलेको मान्छे) राखिनुको पनि खास कारण छ । यो नामले धेरै मानिसको ध्यान खिचेको छ । उक्त पर्वको अन्तिम दिन मानिसहरुले आफूले बनाएका सबै कलाकृतिलाई आगोमा जलाउने हुनाले सो पर्वको नाम नै जलेको मान्छे राखिएको हो । आफूले बनाएका चिज जलाउनाले मानिसको आफूभित्र रहेको अहंकार नष्ट हुने विश्वास गरिन्छ ।

उक्त मेलामा सहभागी हुन आएका मानिसहरुलाई सम्पूर्णरुपमा स्वतन्त्रता हुन्छ र उनीहरुमाथि कुनै रोकतोक गरिँदैन । जीवनको वास्तविक स्वतन्त्रताको अनुभूति मानिसहरुले त्यहाँ गर्न पाउँछन् ।

तथापि वातावरणमा नकारात्मक असर पार्ने खालका कुनैपनि चिज त्यहाँ प्रयोग गर्न दिइँदैन । त्यहाँ प्लास्टिकबाट बनेका चिजहरु लैजान बन्देज छ । मानिसहरु केवल साइकल वा पैदल मात्रै घुम्न सक्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?