+
+

नयाँ गीत ल्याउँदै गौरी मल्लले सम्झिइन् नारायणगोपालले संगीत सिक्न बोलाएको किस्सा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १२:०५

काठमाडौं । अभिनेत्री गौरी मल्लले आफ्नै शब्द, संगीत र गायनमा तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक गरेकी छन् । गौरी मल्ल युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा गौरीसहित मिथिला शर्मा पनि फिचर्ड छिन् ।

गौरीको यो गीत आफ्नो भोगाइबाट प्रभावितजस्तो देखिन्छ । उनी गीतमा लेख्छिन्-

काठमाडौं सहर झिल र मिली

सम्झना आउँछ संगी सहेली

लण्डन पनि पुगें, अष्ट्रेलिया नि पुगे

अमेरिका नि घुमें, जापान पनि घुमे

जहाँ पुगेपछि माया आफ्नै देशको लाग्ने

मीठो चोखो माया आफ्नै ठाउँको लाग्ने

पत्रकार सम्मेलनमा गौरीले भनिन्, ‘म पनि विभिन्न देश र ठाउँ घुमें । आफ्नो देशभन्दा प्यारो, मातृभूमिभन्दा ठूलो केही पनि हुँदैन । हो यो यहाँ गरिबी छ, अव्यस्थित छ, धुलोधुवाँ छ । तर हामी आफ्नो माटोमा छौं भन्ने आभास जहिले पनि भइरहन्छ । निर्धक्कताको बोध जहिले पनि भइरहन्छ । बाहिर त्यो अनुभूति गर्ने अवसर पनि हुन्छ ।’

बच्चैदेखि लेख्ने, पढ्ने र गाउने सौख आफ्नो भएको भन्दै उनले अभिनय आफूले बोनसमा पाएको कुरा भएको बताइन् । ‘तर अभिनय नै मेरो पेशा छ । आफूले होस सम्हालेदेखि नै मैले गाउन थालेको हुँ । योङ भ्वाइसको बेला म नियमित रुपमा गाउँथे । मलाई जुनियर लता मंगेशकर भन्थे ।’

नारायणगोपाल आफ्नो घर छिमेकी भएको र स्वर मीठै छ, रियाज गर्न पठाइदिनुस् भनेर आफ्नो बुवाआमालाई भनेको किस्सा गौरीले सुनाइन् । ‘तर म अति नै लाज मान्ने खालकी थिएँ, कहाँ हुन्छ भनेर मैले सिकिनँ,’ उनले सम्झिइन्, ‘त्यतिबेला सिकेको भए म सुमधुर गायिका र नारायणगोपालकी चेली भएर अहिले तपाईंको सामु उपस्थित हुन्थें ।’ यी कुरा सुनाउँदा गौरी मल्लको अनुहारमा ‘नोस्टाल्जिया’ झल्किएको देखिन्थ्यो ।

फिल्मको कुरा गर्दा गौरीको शीर्ष अभिनय रहेको फिल्म ‘महापुरुष’ पछिल्लो पटक बक्स अफिसमा सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?