+
+

अलैंचीको भाउ गत वर्ष भन्दा दोब्बर, किसान उत्साहित

रासस रासस
२०८० भदौ २४ गते १३:०५

२४ भदौ, फुङ्लिङ (ताप्लेजुङ) । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ हजारदेखि ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजार रुपैयाँ मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजार रुपैयाँमा कारोबार भएको उनले जानकारी दिए । ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो’, अधिकारीले भने ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा  रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताए । यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने उनको अनुमान छ ।

सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादन घट्ने देखिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?