जलनेती एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । जसरी दाँत माझेर दाँतको सरसफाइ गरिन्छ, जलनेतीको अभ्यासले नाकको सरसफाइ हुन्छ ।
नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ । कुनै पनि योगाभ्यास गर्न राम्रोसँग सास लिन सहज बनाउन जलनेतीले मद्दत गर्छ ।
विधि
-जलनेती योग गर्न नेती भाँडाको आवश्यकता पर्छ । जलनेती गर्ने भाँडा बजारमा पाइन्छन् । जुन नाकमा ठीकसँग सेट हुनुपर्छ ।
-अब नेती भाँडोमा एक लिटर मनतातो पानी लिने र यसमा एक चम्चा नुन हाल्नुपर्छ ।
-जलनेती गर्न दुई खुट्टाको बीचमा अलिकति दूरी राखेर बस्नुपर्छ ।
-टाउको अलि तल झुकाउने र मुखबाट सास फेर्न सुरु गर्ने, ताकि एउटा नाकबाट हालेको पानी अर्को नाकको प्वालबाट आउन सहज होस् ।
-कम्मरबाट अलिकति झुकेर पनि जलनेती योग गर्न सकिन्छ ।
-अब पानीले भरिएको नेती भाँडो लिनुहोस् र यसलाई आफ्नो दाहिने नाकको प्वालमा राखेर र बिस्तारै पानी खन्याउनुपर्छ ।
-अब फेरि देब्रे नाकको प्वालमा नेती भाँडोमा पानी हालेर दाहिने नाकको प्वालबाट पानी बिस्तारै हाल्नुपर्छ ।
जलनेती दिनको कुनै पनि समयमा गर्न सकिन्छ तर बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । जलनेती साताको एकपटक गर्नु उपयुक्त हुन्छ । यदि कसैलाई रुघाखोकी लागेको छ भने यो दिनमा दुईदेखि तीनपटक गर्दा फाइदाजनक हुन्छ ।
यो अभ्यास पहिलोपटक गर्दा योग प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्छ । नाक, कान र घाँटीको शल्यक्रिया गरेका, ढाड दुख्ने समस्या भएका र गर्भवती महिलाले बाहेक सबैले यो अभ्यास गर्न सक्छन् ।
फाइदा
-जलनेती गर्दा नाकभित्रको झिल्लीमा रगतको प्रवाह बढ्छ । यो नाकसम्बन्धी समस्याको लागि एक प्रभावकारी उपचार हो ।
-नुन पानीले नाक पनि सफा हुने हुँदा पिनास, रुघा र चिसो र प्रदूषणबाट बच्न सकिन्छ । यसले नाक वरपर कीटाणु बढ्न दिंदन ।
-अनिद्राबाट पीडित व्यक्तिले नियमित रूपमा यसको अभ्यास गरेमा निन्द्रा लगाउन मद्दत गर्छ ।
-माइग्रेन भएकाहरुले यो अभ्यास गर्दा टाउको दुख्ने समस्या कम हुन्छ ।
-आँखासम्बन्धी समस्या जस्तै आँखा दुख्ने, आँखाको ज्योति गुम्ने उपचार यसमा गरिन्छ ।
-कानको रोग, सुन्ने समस्या र कानबाट पानी बग्ने रोगको उपचारमा यो लाभदायक हुन्छ ।
जलनेतीपछि नाकलाई सुख्खा राख्न कपालभाती प्राणायाम गर्नु लाभदायक हुन्छ ।
कपालभाती
कपालभाती भनेको भित्रको सासबाहिर छाड्ने प्रक्रिया हो । जलनेतीपछि कपालभाती गर्नाले नाकलाई आराम मिल्नुका साथै नाकलाई सुख्खा राख्छ ।
त्यति मात्र होइन, यस विधिले नाकलाई सफा गर्ने, पाचनप्रणालीलाई स्वस्थ राख्ने, फोक्सोको कार्य क्षमतालाई बलियो बनाउने र शरीरभित्र शुद्ध अक्सिजन पुर्याउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्तप्रवाहमा समेत सहज हुन्छ र मनलाई शान्त बनाउँछ ।
विधि
कपालभाती गर्न आफ्नो मेरुदण्ड सीधा राखेर आरामसँग बस्नुपर्छ । आकाशतर्फ हेर्दै भित्र लामो गहिरो सास लिनुपर्छ । श्वास छोड्दा, आफ्नो पेटले मेरुदण्डलाई छोएको जसरीभित्र तान्ने । कपालभाती प्राणायामको एक राउण्ड पूरा गर्न २० पटक श्वास लिंदै छाड्नुपर्छ ।
(प्राकृतिक चिकित्सक गुरुवाचार्य सुस्वास्थ्य अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4