+
+

टोरन्टोमा ‘गाउँ आएको बाटो’को प्रिमियर, दर्शकसँग निर्देशक र कलाकारको प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते ११:४२

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘गाउँ आएको बाटो’लाई प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान फिल्मको स्क्रिनिङ गरियो, जहाँ कास्ट एण्ड क्रिउ सहभागी रहे ।

निर्देशक नवीन सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, छायाकार जोस हेरुम, निर्माता आमोद राई लगायत प्रिमियरमा उपस्थित भए । फिल्म प्रदर्शनपछि दर्शकसँग भएको प्रश्नोत्तरमा निर्देशक र कलाकारले जवाफ दिए ।

निर्देशक सुब्बाले आफूले फिल्ममार्फत शक्तिको पहुँचमा नभएका मानिसको कथा उठान गरेको बताए । उनले भने, ‘जोसँग स्रोतको पहुँच छ, उनीहरुले फाइदा लिइराखेका छन् । तर जोसँग शक्तिमा पहुँच छैन उनीहरु पछाडि पारिएका छन् । यो अहिलेको वास्तविकता हो । मैले यो यथार्थलाई उठाएको हुँ ।’

टोरन्टोमा दयाहाङको यो दोस्रो प्रिमियर हो । यसअघि दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’बाट दयाहाङले टोरन्टोमा डेब्यु गरेका थिए । प्रश्नोत्तर सत्रमा दयाहाङलाई चरित्र चित्रणको चुनौतीबारे सोधिएको थियो ।

दयाहाङ भने, ‘यसका लागि हामी सबैलाई चुनौती थियो । किनभने म सहरमा बस्छु । यो गाउँको कथा हो । तर गाउँ मैले १८ वर्षसम्म भोगेको हो । गाउँको जनजीवन पछिल्लो समय त्यो दैनिकीबाट हटेको थियो । किनभने गाउँमा पनि फिल्ममा जस्तै परिवर्तन हुँदैथियो । चरित्रमाथि काम गर्न सबैभन्दा ऊर्जा मिलेको यो हामीले भोगेको समय हो । विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था हो । यो पात्र गर्दा म खुसी छु ।’

अभिनेत्री पशुपतिले आमालाई सम्झिएर आफूले पात्रलाई चित्रण गरेको जवाफ दिइन् । निर्माता आमोद राईले टोरन्टोबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताए । सेप्टेम्बर १२ मा अब यो फिल्मको दोस्रो पब्लिक स्क्रिनिङ हुँदैछ । दयाहाङ मंगलबार क्यानडाबाट नेपाल फर्कने तयारीमा छन् । टोरन्टोपछि फिल्मको स्क्रिनिङ बुसान फिल्म फेस्टिभलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?