+
+
Shares

अनलाइन ट्रोलिङ र स्याडिज्म

विना कारण जनावरलाई पिटेर, कसैलाई जिस्काएर, दुःख दिएर, कसैको बेइज्जती गरेर वा बेइज्जती भएको देखेर, कोही झगडा गरिरहेको छ भने त्यसलाई हेरेर आनन्द लिनु, यी सबै एभ्रिडे स्याडिज्मका उदाहरण हुन्।

विष्णु पौडेल लम्साल  विष्णु पौडेल लम्साल 
२०८० भदौ २७ गते १०:०५
nypost.com

केही दिनअघि इलामको एक घटना भाइरल भयो। जहाँ कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत बीचको अनैतिक हर्कत देख्न सकिन्थ्यो। कार्यालयभित्र नै उक्त हर्कत लज्जास्पद रहेकोमा कुनै आशंका रहेन। सम्बन्धित प्रशासन वा प्रचलित ऐन/कानुन अनुरुप कारबाही होला नै। तर हामी उक्त भिडियो सेयर गरेर उनीहरूको बेइज्जत गरेर रमाइरहेका छौं। त्यसबाट मनोरञ्जन लिइरहेका छौं। युट्युबरलाई राम्रो कन्टेन्ट मिलेको छ। मिमरहरूलाई एउटा हाँसोको सामग्री थपिएको छ। पोस्ट गर्नेहरू लाईक, कमेन्ट र सेयर पाएर दंग छन्।

मानिसलाई सजाय दिने अनेकौं तरिका हुन्छ तर हामीले सजायले उनीहरूमा हुने सकारात्मक रुपान्तरणमा ध्यान दिनुपर्छ। कसैलाई सिध्याउने गरी काम गर्नुहुँदैन। त्यो अवस्थामा भएको भए हामीलाई कस्तो हुन्थ्यो होला भनेर किन सोचिरहेका छैनौं वा उनीहरू हाम्रै नजिकको मान्छे वा आफन्त भएको भए पनि उक्त भिडियो सेयर गरेर मजाक उडाउँथ्यौं होला र ?

उक्त भिडियोमा अनुहार ब्लर गरेर पनि त भाइरल बनाउन सकिन्थ्यो होला नि ? तर हामीलाई त के नै फरक पर्छ र ? हाम्रो खेती त उक्त सामग्रीले चलेकै छ। केही दिनपछि उक्त भिडियोका कुनै पात्रले समाजको अपहेलना सहन नसकेर आत्महत्या गरे भने को जिम्मेवार हुन्छ ?

स्याडिज

कोही व्यक्ति अरु कसैलाई टर्चर, बेइज्जत गरेको देख्दा त्यसमा आनन्द भेट्छ भने त्यसलाई स्याडिज्म भनिन्छ। सामान्यतया स्याडिस्टिक व्यक्ति साइकोप्याथी नै हुन्छन्। साइकोप्याथी एक किसिमको पर्सन्यालिटी डिसअर्डर हो। अरुको हत्या वा क्रुर यातनाबाट आनन्द मान्ने स्वभाव हो यो। तर केही मनोवैज्ञानिक अध्ययनले योभन्दा केही सामान्य क्याटेगोरी उल्लेख गरेको छ जसलाई एभ्रिडे स्याडिज्मको नामले जानिन्छ।

प्राचीन रोमन साम्राज्यमा एक स्टेडियममा अक्सर दुई फाइटर एकआपसमा लडाइँ गर्दथे। जब फाइटर एकदम घायल हुन्थ्यो अनि स्टेडियमका दर्शकलाई छोड्दिने कि मार्ने भनेर सोधिन्थ्यो। प्राय:जसो मानिसले उसलाई मार्ने भनेर माग गर्दथे। उक्त घायल फाइटरसँग लड्न एक भोको सिंह वा बाघ पठाइन्थ्यो। एभ्रिडे स्याडिज्मको यो सबैभन्दा ठूलो उदाहरण हो। किनकि स्टेडियममा बसेका दर्शक उक्त फाइटरको पीडामा रमाइरहेका थिए, मनोरञ्जन लिइरहेका थिए।

विना कारण जनावरलाई पिटेर आनन्द लिने, कसैलाई जिस्काएर, दुःख दिएर आनन्द लिने, कसैलाई बेइज्जती गर्दा वा बेइज्जती भएको देख्दा आनन्द अनुभव गर्नु, कोही झगडा गरिरहेको छ भने त्यसलाई हेरेर आनन्द लिनु, यी सबै एभ्रिडे स्याडिज्मका उदाहरण हुन्।

हाम्रो समाज वा सामाजिक सञ्जालमा एभ्रिडे स्याडिज्मका थुप्रै उदाहरण भेटिन्छन्। इलाम सीसीटीभी फुटेज प्रकरण यसैको उदाहरण हो। किनकि हामी उनीहरूको बेइज्जती गरेर रमाइरहेका छौं, त्यसमै आनन्द लिइरहेका छौं। कसैको अश्लील सामग्री लिक भएको छ भने हामी त्यसलाई खोजी–खोजी हेर्छौं। त्यो एभ्रिडे स्याडिज्मको उदाहरण नभए पनि त्यस भिडियोलाई वा उक्त भिडियोमा भएको पात्रलाई सामाजिक सञ्जालमा पोस्ट गरेर उसको बेइज्जत गर्दा हामी रमाइरहेको होस् वा कसैको कामको बारेमा आलोचना र टिप्पणी गर्नु फरक कुरा हो। तर कोही–कोही कसैको मृत्युमा पनि रमाइरहेका हुन्छन्, त्यसलाई पनि एभ्रिडे स्याडिज्ममा राख्न सकिन्छ।

सामाजिक सञ्जालमा गरिने ट्रोल

स्याडिज्मका अलावा पनि हामी सामाजिक सञ्जालमा यस्ता सामग्रीहरू पोस्ट र सेयर गरिरहेका छौं, जसले कुनै समुदाय, भाषाभाषी, लिङ्ग वा अन्य व्यक्तिहरूलाई अप्रत्यक्ष रूपमा ठूलो असर गरिरहेको हुन्छ। तर हामी त्यस्ता सामग्रीलाई मजाकको रूपमा मिम र ट्रोल गरेर रमाइरहेका हुन्छौं।

उदाहरणको रूपमा सामाजिक सञ्जालमा कोही गोरी केटीसँग कालो केटाको जोडी देख्यो भने पक्कै पनि केटाको अस्ट्रेलियाको पीआर हुनुपर्छ, वा केटाको घरमा टमाटर फार्म हुनुपर्छ भनेर ट्रोलहरू देखिन्छन्। कुनै नराम्रो केटा वा केटीको फोटो भेटियो भने कसैलाई ट्याग गरेर वा नाम उल्लेख गरेर यसको बुढा वा बुढी भनेर जिस्काइन्छ। पोस्ट गर्नेहरू लाईक कमेन्टको प्रलोभनमा पोस्ट गरिरहेका छन् भने पढ्नेहरू पनि त्यसैमा हाँसिरहेका हुन्छन्। तर उनीहरूलाई यो थाहा छैन कि मैले रंगभेद गरिरहेको छु र धेरैलाई यसले समस्या पार्न सक्छ भन्ने।

सामाजिक सञ्जालमा अभद्र किसिमको ट्रोल कि सिकारमा पर्ने अर्को पक्ष हो- तेस्रो लिङ्गी समुदाय।

भर्खरै सल्यानमा केटी-केटीले विवाह गरे। त्यस बारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै विभिन्न मजाकका सामग्रीहरू बनाइए तर उनीहरूको न्यून चेतना भनौं या के भनौं उनीहरूलाई केटी-केटी बीच पनि आकर्षण हुन्छ भन्ने थाहा छैन या थाहा भएर पनि बुझपचाइरहेका छन्।

हुन त हामीलाई केटी-केटी बीचको आकर्षण वा केटाकेटा बीचको आकर्षण केही अप्राकृतिक र सामाजिक मान्यता विपरीत लाग्छ किनकि हाम्रो समाजले हामीलाई हजारौं वर्षदेखि त्यही कुरा सिकाएको छ।

हजारौं वर्षदेखि दिमागमा जरा गाडेको विषय १०-१२ वर्षको शिक्षा र चेतनाको कैंचीले कहाँ काट्न सकिन्छ र !

हामी अरुको कमजोरीमा हाँसिरहेका छौं। तर हामी उनीहरूको कमजोरीमा भन्दा आफ्नै कमजोरी र न्यून चेतना स्तरप्रति हाँसिरहेका हुन्छौं। अरुलाई पाठ सिकाउने र अरुको पीडामा रमाउँदा हामी आफैं अनैतिक र गैरकानुनी हर्कत प्रस्तुत गरेका छौं, तर हामीलाई थाहा नै छैन बस् हामीलाई त हाँस्नु नै छ !

समाजमा यौनिक अल्पसङ्ख्यकलाई स्थापित हुन गाह्रो त छ नै सामाजिक सञ्जालमा उनीहरूलाई लिएर गरिने ट्रोल पनि कम्ती छैन। नाम नलिई उल्लेख गर्दा एक दुई जना तेस्रोलिङ्गीहरू छन् जसको यौनिकतालाई लिएर सामाजिक सञ्जालमा निरन्तर ट्रोल र मिमहरू बनाइन्छ। त्यसले ती व्यक्तिलाई त असर गर्छ नै, समग्र यौनिक अल्पसंख्यकहरू नै उक्त ट्रोल र मिमको सिकार भइरहेका छन्। उनीहरूलाई होच्याउने, तुच्छ किसिमको शब्द प्रयोग गरेर गाली गरी त्यसैमा रमाइरहेका भेटिन्छन्।

तेस्रोलिङ्गी कम्युनिटीलाई ती शब्द र ट्रोलले कति असर गर्छ भन्ने कुरा सोचिरहेका छैनन्। उनीहरूलाई समाजमा सकारात्मक तरिकाले व्यवहार हुँदैन। पाइला–पाइलामा दुर्व्यवहार र अपमान सहनुपरेको हुन्छ नै। बाहिरै ननिस्की सामाजिक सञ्जाल चलाउँदा पनि सामाजिक सञ्जालको सामग्रीले अझ अपमानित र कमजोर बनाउँदैछ।

धर्म, जात र समुदाय भन्ने एकदमै संवेदनशील विषय हो तर सामाजिक सञ्जालमा एक धर्मले अर्को धर्मलाई ट्रोल गर्ने, एक जातले अर्को जातमा ट्रोल गर्ने गर्दछन्। यसले मिलेर बसेको समाजमा सामाजिक सद्भाव बिथोल्न र साम्प्रदायिक द्वन्द्वलाई मलजल गर्न सक्छ। तर सामाजिक सञ्जालमा ट्रोल र मिम बनाउने र सेयर गर्नेहरूले रत्ति पनि ध्यान दिएको पाइँदैन।

यसको अलावा पनि कसैको अक्षमता, न्यून ज्ञान, टङ स्लिप वा केही कमजोरी कतै फेला पर्‍यो भने पनि त्यसलाई अझ घाउमा नुन छर्किन हामी आइपुग्छौं। कसैको लुक्स, शारीरिक बनावट लगायत विभिन्न विषयमा ट्रोल गरेर उ माथि हाँस्ने गरिन्छ। उ यसै पनि आफैं पीडामा छ तर उमाथि निरन्तर प्रहार गरेर हामी रमाइरहेका छौं।

कमेडियन प्रनेश गौतम एक चलचित्रको रिभ्यु गरेकै कारण प्रहरी हिरासत पुग्नुपर्‍यो। कसैले त्यसलाई कमेडी शैलीको रिभ्यु त हो, त्यसमा के नै छ र भने। कसैले उक्त रिभ्युमा चलचित्रलाई गिराउनको लागि जथाभावी बोलेको भने। अर्का एक स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह पनि स्ट्यान्डअप कमेडी गरेकै कारण केही समय प्रहरी हिरासतमा बिताउनुपर्‍यो। सामाजिक सञ्जालमा अपूर्व क्षितिज सिंहको पक्ष र विपक्षमा बहसहरू चलिरह्यो। नेवार समुदाय केही उग्र र आक्रोशित देखिन्थ्यो भने अर्को समूहले कमेडीलाई सिरियस रूपमा लिन नहुने टिप्पणी गरेका थिए।

यसको मतलब एउटै कुरालाई कसैले कमेडी भनेर हाँसेरै पचाइदिन्छ भने अर्को व्यक्तिले त्यसमा गाली वा बेइज्जत महसुस गर्न सक्छ। ट्रोल, रोस्ट, कमेडी र गाली बेइज्जतमा मसिनो मात्र अन्तर रहेको छ। त्यो अन्तर पहिल्याउन सकेमा मात्र मिम र कमेडी बन्न सक्छ। नत्र त्यसले कुनै व्यक्ति र समुदायलाई नकारात्मक प्रभाव पार्न सक्दछ।

सामाजिक सञ्जालमा ट्रोल  

एक अध्ययन अनुसार ४० प्रतिशत अमेरिकीहरू कुनै न कुनै अनलाइन ट्रोलिङको सिकार भएका छन्। तीमध्ये ६२ प्रतिशत कुनै न कुनै समस्यामा परेका छन्। अस्ट्रेलियामा अनलाइन ट्रोलिङकै कारण सन् २०१९ को स्वास्थ्य अर्थतन्त्रमा नै ३.७ मिलियन डलरको नोक्सानी भएको उल्लेख छ। त्यस्तै इन्टरनेटको पहुँचमा रहेका एक तिहाइ व्यक्ति कुनै न कुनै अनलाइन ट्रोलिङको सिकार भएको अनुसन्धानमा उल्लेख छ। सामाजिक सञ्जालमा गरिने ट्रोलिङले डिप्रेसन, एन्जाइटी जस्ता गम्भीर मानसिक समस्यामा पर्ने गरेका छन्। अनलाइन ट्रोलिङ र मिमहरूकै कारण उक्त अपहेलना सहन नसकेर कतिपयले आत्महत्या गरेका उदाहरण पनि भेटिन्छन्।

आखिर सामाजिक सञ्जालमा किन ट्रोल गर्छन् ? विभिन्न मनोवैज्ञानिक अध्ययनले विभिन्न कारण बारे अनुसन्धान गरेको छ। कोही व्यक्ति फेस टु फेस कुरा गर्न र विरोध गर्न नसक्दा अनलाइनको सहारा लिन्छन् भने कोही व्यक्ति आफ्नो परिचय र अनुहार लुकाएर ट्रोलिङ गर्दा बढी सुरक्षित अनुभव गर्छन्।

त्यस्तै, कतिपयले स्याडिज्मको कारण पनि ट्रोलिङ गर्छन्। अरुलाई ट्रोल गरेर उनीहरूलाई सताउँदा मज्जा मिल्छ। कोही व्यक्ति आफ्नो धर्म, राजनैतिक दल, कुनै व्यक्तिप्रति अन्धभक्त नै हुन्छन्। कतैबाट उसको विश्वासमा खलल आउने जस्ता क्रियाकलाप भएमा त्यसको रक्षार्थ पनि विपरीत आस्थालाई ट्रोल गर्ने गरेको पनि अनुसन्धानले खुलेको छ।

सामग्री सञ्जालमा ट्रोल गर्न वा मिम बनाउन मज्जाले मिल्छ तर उक्त सामग्रीले कसैको जिन्दगी, कुनै समुदाय, कुनै भाषा, धर्म, जातिलाई कस्तो असर पर्छ भन्ने कुरा पनि सोचेर त्यस्ता सामग्री पोस्ट सेयर गर्दा राम्रो हुन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने हामी कसैलाई कुनै पनि तरिकाले ट्रोल गर्दा होस् वा माथि उल्लेख गरे झैं कसैको गोप्य भिडियो वा रंगभेद, यौनिक अल्पसंख्यक, कसैको शारीरिक कमजोरीमा ट्रोल गरेर हामी मनोरञ्जन लिइरहेका छौं, रमाइरहेका छौं।

हामी उनीहरूको कमजोरीमा हाँसिरहेका छौं। तर हामी उनीहरूको कमजोरीमा भन्दा आफ्नै कमजोरी र न्यून चेतना स्तरप्रति हाँसिरहेका हुन्छौं। अरुलाई पाठ सिकाउने र अरुको पीडामा रमाउँदा हामी आफैं अनैतिक र गैरकानुनी हर्कत प्रस्तुत गरेका छौं, तर हामीलाई थाहा नै छैन बस् हामीलाई त हाँस्नु नै छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?