News Summary
Generated by OK AI. Editorially reviewed.- जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी छन्।
- एलिजाले आम जनता पार्टीमा उपाध्यक्षको जिम्मेवारी पाएकी छन् र फेसबुकमा पार्टी अध्यक्ष प्रभु साहलाई धन्यवाद दिएकी छन्।
- उनले पार्टीलाई सबल बनाउन १० बुँदे एजेण्डा सार्वजनिक गर्दै विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन र महिला सशक्तीकरणमा काम गर्ने बताएकी छन्।
१० पुस, काठमाडौं । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । जनादेश पार्टी छाडेर उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन् । आजपामा उनले उपाध्यक्षको जिम्मेवारी पाएकी छन् ।
पत्रकार ऋषि धमला पत्नी एलिजाले जनादेश पार्टी छाडेको र आजपाको उपाध्यक्ष बनेको जानकारी आफैं दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन गरिएको जनादेश पार्टीमा एलिजा केन्द्रीय सदस्यको सूचीमा थिइन् । २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश हुँदा एलिजा पनि गएकी थिइन् । तर बुधबार उनी जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आजपातिर लागिन् ।
उनले नयाँ पार्टीमा रहँदा गर्ने काम पनि सार्वजनिक गरेकी छन् । पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै उनले आफ्ना ‘एजेण्डा’ भनेर बुँदागत रुपमा लेखेकी छन् । उनकै भाषामा उनका ‘एजेण्डा’हरु यस्ता छन्–
१. देशमा विकास गराउन पहल गर्ने
२. नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने
३. भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने
४. देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सृजना गर्ने
५. भुइँ मान्छेको एजेन्डा बोकेर अघि बढ्ने
६. देशका जनताको पक्षमा काम गर्ने
७. व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने
८. पीडितको पक्षमा उभिने र अन्यायमा परेको मानिसलाई न्याय दिने
९. महिला सशक्तीकरणका लागि निरन्तर काम गर्ने
१०. मजदुरको लागि काम गर्ने ।
प्रतिक्रिया 4