+
+

चुरे नजोगाई जोगिन्न मधेश

चुरे संरक्षण मधेशको उन्नति, प्रगति र उत्थानसँगै समृद्धिको पाटोसँग जोडिएको विषय हो । चुरे मधेशको भूमि, जल, खनिज, वातावरणीय प्रभावसँग जोडिएको छ । यो मधेशको लाइफलाइनको अभिन्न अंग हो ।

रामचन्द्र मण्डल रामचन्द्र मण्डल
२०८० भदौ २७ गते २०:१५

चुरे क्षेत्र हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणमा मधेशको राजमार्गभन्दा माथिको क्षेत्र हो । माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, कमलो र कमजोर पर्वतीय शृङ्खला क्षेत्र हो, चुरे । चुरेलाई मधेशसँग प्रत्यक्ष सरोकार राखेकोले मधेशको लाइफलाइनको रूपमा पनि लिन सकिन्छ । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो ।

पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रहृमपुत्र नदीसम्म फैलिएको चुरे शृङ्खला सिवालिकको नामबाट पनि चिनिन्छ । यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील छ ।

चुरे संरक्षण मधेशको उन्नति, प्रगति र उत्थानसँगै समृद्धिको पाटोसँग जोडिएको विषय हो । चुरे मधेशको भूमि, जल, खनिज, वातावरणीय प्रभावसँग जोडिएको छ । यो मधेशको लाइफलाइनको अभिन्न अंग हो ।

रामचन्द्र मण्डल

चुरेको संरक्षण जुन स्तरबाट गरिंदैछ, त्यो तौरतरिकाले चुरे र मधेशलाई बचाउन सकिंदैन । चुरे संरक्षण नभएसम्म मधेशको भूमि पनि संरक्षित र उत्पादनमूलक हुन सक्दैन । त्यसकारण चुरे फेद हाइवे भन्दा माथि कोशीदेखि नारायणीसम्म पूर्व-पश्चिम कृत्रिम नहर बनाउने दीर्घकालीन योजना अघि बढाउनुपर्छ । यसबाट वाटर रिजर्भको रूपमा एउटा नहर निर्माण हुन्छ । र त्यसलाई विभिन्न प्रयोजनमा काम गर्न सकिन्छ । एउटा जलमार्गको रूपमा प्रयोग गर्न सकिन्छ ।

अर्को नहरमा बनाइएको ड्यामलाई यातायात प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ । दोस्रो, नदीको माध्यमबाट कृत्रिम नहर बनाइए नदी नियन्त्रण भई नदी उकासको लाखौं बिघा जग्गालाई बैंक अफ ल्याण्डको रूपमा प्रयोग गर्न सकिन्छ । उद्योग धन्दाको रूपमा प्रयोग गर्न सकिन्छ । भूमिहीन किसानलाई व्यवस्थापन गर्न सकिन्छ । ठूल्ठूला पूँजीवादी उत्पादनहरूलाई बढावा दिन सकिन्छ ।

चुरेबाट जति पनि नदी बगेको छ, ती सबै नदीहरूलाई नहरको रूपमा डेभलप गर्दा खेत-खेतमा पानी लगेर सिंचाइको व्यवस्थापन गर्न सकिन्छ । नहरले वाटर रिजर्भ हुने बित्तिकै चुरेको वाटर रिचार्जिङ क्यापासिटी बढ्छ । यसले मधेशको वाटर स्वाभाविक बढ्छ । र, खानेपानीको समस्या सजिलै हल गर्न सकिन्छ । त्यही नहरको पानीलाई पनि खानेपानीको रूपमा प्यूरिफाई गरेर प्रयोग गर्न सक्छौं । त्यहींबाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

यसले मधेशमा अहिले विद्युत् उत्पादनविहीन बनेको प्रदेशमा विद्युत् उत्पादनको सम्भावना उत्तिकै बढ्छ । जहाँ बालुवा, गिट्टी, ढुङ्गाको उत्खनन् हुँदैछ । जसले एउटा ठूलो समस्या निम्त्याउँदैछ । जुन प्रदेश, स्थानीय वा संघीय सरकार कसैको कमाण्ड छैन । जसले चुरेको दोहन नदीजन्य पदार्थको उत्खननको स्पिड दर्दनाक देख्छौं । त्यसलाई पनि नियन्त्रण र निगरानी गरेर राजस्व वृद्धिका लागि प्रयोग गर्न सकिन्छ । अर्को कुरा मधेशको माछा देश र विदेशमा प्रसिद्ध छ । हामीले त्यही नहरलाई माछा पालनको रूपमा प्रयोग गर्न सक्छौं । यी यावत् आयामबाट हामीले बेनिफिट लिन सक्छौं ।

कोशी-मरिन डाइभर्सन मार्फत सिंचाइ प्रयोजनको काम गरिंदैछ । त्यसरी नै कोशी कमला डाइभर्सन मार्फत काम गर्दा पनि पूर्व-पश्चिम व्यवस्थापन गर्नैपर्छ । कोशी-मरिन वा कोशी बागमती डाइभर्सन गर्नु बाहेक मधेशको समृद्धिको अर्को कुनै विकल्प छैन । त्यसकारण कोशीदेखि नारायणीसम्म पूर्व-पश्चिम कृत्रिम नहर बन्यो भने मधेशको जीवन उपयोगीको रूपमा सिद्ध हुन्छ ।

यो मधेशको लागि गौरवको एउटा योजना पनि हुन्छ । जसमा देशले पनि गर्व गर्छ । यो एउटा सम्पूर्ण मधेशको लाइफलाइनको रूपमा बन्छ । जुन चुरे दोहनको साधन बनिरहेको छ त्यसले नहरको विकाससँगै उत्पादन र आम किसानको आयस्तरमा समेत वृद्धि ल्याउँछ ।

देशको करिब १३ प्रतिशत भू-भाग ओगटेको पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३६ वटा जिल्लामा फैलिएको चुरे क्षेत्रलाई हामीले जलमार्गको रूपमा समेत विकास गर्न सक्छौं ।

पूर्वदेखि पश्चिमसम्म यो देशभित्र ८०० किलोमिटर तन्किएको छ । यसमा हामीले जलमार्गको निर्माण गर्न सक्यौं भने यहाँबाट कुनै ठाउँ जान ४ देखि ५ दिन लाग्ने समयको पनि बचत हुन्छ । समयसँगै पैसाको समेत बचत हुन्छ । चुरेले ओगटेको झण्डै चौडाइमा १० देखि ५० किलोमिटरको क्षेत्रलाई हराभरासँगै मनमोहक र आकर्षक बनाउन सक्छौं ।

चुरेको पहाड सकिने बित्तिकै रहेको क्षेत्रलाई हामी भावर भन्छौं । त्यहाँको जमिन अचम्मको छ, त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ । त्यही पानी अलि पर तराईमा पुग्दा प्रयोग गरिन्छ । त्यसैले मधेशको हरेक विषयवस्तु चुरेसँग जोडिएकोले यसको विकास र संरक्षण महत्वपूर्ण छ

नदीमा डाइभर्सन र चुरेमा नहरको निर्माणले मधेशका हरेक जिल्लामा वर्षेनि खेप्दै आएको पानीको समस्यालाई निर्मूलीकरण गर्न सकिन्छ । चुरेबाट झण्डै ५०० देखि ६०० मिटरको अग्लो भागमा रहेको मधेशमा नहरबाट सजिलै पानी ल्याउन सकिन्छ । ड्याम बनाएर नहरलाई रिजर्भ ट्याङ्कीको रूपमा सीधै मधेशका गाउँ-गाउँमा पाइपलाइन गरेर पानी ल्याउन सकिन्छ । रिजर्भ ट्याङ्कीमा पानी रिजर्भ हुने बित्तिकै वाटर लेभल स्वतः माथि उकासिन्छ ।

अहिले हामी लाखौं, करोडौं रुपैयाँ खर्च गर्दैछौं । खानेपानीको सवालमा ओभरहेड ट्याङ्की बनाएर तलबाट पानी ल्याउने तर चुरेको संरक्षण व्यवस्थापन नगर्ने भएपछि वाटर लेवल दिनानुदिन तल झर्दै गइरहेको छ । पहिले २०० मिटरमा हुने चापाकलहरू अहिले ४०० फिटमा पानी आउन गाह्रो हुन्छ । यो स्थितिलाई गम्भीर रूपमा लिन सकिन्छ ।

चुरे संरक्षण, नदीको डाइभर्सन र नहरको निर्माणले मल्टिपर्पसेज योजनालाई कम्पि्लिट गर्न स्थानीयदेखि प्रदेश र संघीय सरकारले समेत गहन रूपमा लाग्न जरूरी छ । यो कृत्रिम नहरबाट पर्यटनको आकर्षणको केन्द्र बनाएर पर्यटन प्रवर्द्धन समेत गर्न सकिन्छ । मुख्यतः सिंचाइ बढाएर उब्जनीविहीन बनेको भूमिलाई बाह्रैमास उब्जाउ जग्गाको रूपमा प्रयोग गर्न सकिन्छ । यो सबैभन्दा ठूलो उपलब्धि मानेर काम गर्नुपर्छ । मुख्यतः नदी उकास जमिनलाई प्रयोग गर्न सक्छौं । जसले देशको हजारौं बिघा जमिनलाई फेरि हराभरा र उब्जनीयोग्य बनाउन मद्दत गर्छ ।

चुरे सकिने बित्तिकै भावर अनि त्यसपछि तराईको समथर भूभाग छ । तराईलाई हामी अन्नभण्डार भन्छौं । यो समग्र क्षेत्रमा ५० प्रतिशत जनसंख्याको बसोबास छ । अब हाम्रो अन्नभण्डार अनि ५० प्रतिशत जनसंख्याको बसोबास भएको क्षेत्र जोगाउन चुरे महत्वपूर्ण छ । चुरेका कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराई रहन सक्ने नत्र त्यसको विनाश अनि साथै त्यहाँ रहने मानिसहरूको जनधन जोखिममा पर्ने समस्यालाई समाधानको एउटा निकास पनि हो । चुरेको महत्व यहाँको जमिनको उत्पादकत्वमा मात्र नभई विपद्सँग पनि जोडिएको छ । जथाभावी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरो दुवैको जोखिम उच्च छ ।

तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । नेपालमा वर्षमा करिब साढे तीन महिना वषर्ा हुने गर्छ भनेर अरू बेला पानी फाटफुट मात्रै पर्छ । प्राकृतिक भण्डारको हिसाबले हिमालमा जम्ने हिउँ यहाँको प्रमुख जलभण्डार हो । चुरे क्षेत्रले तराईका निम्ति भूमिगत जलभण्डारको काम गरेको छ ।

यहाँको विशेषता के छ भने कतिपय खोलानाला मौसमी प्रकारका छन् । त्यहाँ वषर्ा मौसममा पानी देखिन्छ अरू बेला सुख्खा Û तर त्यही सुख्खा खोलानालामा पनि जमिनमुनि पानी रहेको छ । तराईको हकमा वषर्ा मौसम बाहेक अन्य बेला पानीको मुख्य स्रोत भूमिगत जल रहेको र यो चुरेकै कारण सम्भव भएको छ । त्यसैले चुरेलाई पानीको स्रोतको रूपमा वाटर रिजर्भ ट्याङ्कको रूपमा पनि विकास गर्नुपर्छ ।

हाम्रो अन्नभण्डारका निम्ति चुरे क्षेत्रमा परेको पानी बगेर भूमिगत भण्डारमा जम्मा हुन्छ । चुरेको पहाड सकिने बित्तिकै रहेको क्षेत्रलाई हामी भावर भन्छौं । त्यहाँको जमिन अचम्मको छ, त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ । त्यही पानी अलि पर तराईमा पुग्दा प्रयोग गरिन्छ । त्यसैले मधेशको हरेक विषयवस्तु चुरेसँग जोडिएकोले यसको विकास र संरक्षण महत्वपूर्ण छ ।

(लेखक मधेश प्रदेश सभाका सभामुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?