+
+

सुवास नेम्वाङका छोराहरुले नलेखेको भाइरल चिठी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १६:३९
बिहीबार नेम्वाङलाई दागबत्ती दिँदै छोराहरु मिङ्सो र सुहाङ ।

२८ भदौ, काठमाडौं । आर्यघाटमा पिता सुवास नेम्वाङको अन्त्येष्टिमा मानव सागर उर्लिंदा छोराहरु मिङ्सो र सुहाङ नजिकैको एउटा कुनाबाट दृश्यहरु हेरिरहेका थिए ।

जेठा छोरा मिङ्सो बेलायतबाट आइपुग्नुअगावै सुहाङ आफ्नो अष्ट्रेलिया भ्रमण छोट्याएर काठमाडौं ओर्लिएका थिए । मिङ्सो केही वर्षयता बेलायत बस्दै आएका छन्, सुहाङ काठमाडौंमै कानुन व्यवसाय गर्छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङको साेमबार राति हृदयघातबाट निधन भएको थियो । मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा नेम्वाङका छोराले बाबुलाई लेखेको चिठी शीर्षकमा एउटा कन्टेन्ट भाइरल हुन थाल्यो ।

उक्त चिठी विदेशिएको छोराले स्वदेशमा अन्तिम सास फेरेको बाबुलाई लेखेको भावुक भाकामा पेश छ । त्यसमाथि कमेन्ट गर्दै धेरैले, ‘आफ्नै छोरा त स्वदेशमा टिकाउन नसक्नेले के राजनीति गर्नु’ भन्ने किसिमको प्रतिक्रिया दिएका छन् ।

मिङ्सो र सुहाङ दुवैले त्यस्तो कुनै चिठी नलेखेको भन्दै खण्डन गरेका छन् । आफ्नो पिताले सधैं निष्ठाको राजनीतिमा जोड गरेको, प्रत्येक व्यक्ति आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको उनीहरुको भनाइ छ ।

‘यस्तो कुनै चिठी छैन, यस्तो खालको सस्तो प्रचारबाजी हुनुहुँदैन’ जेठा छोरा मिङ्सोले भने, ‘हामी यति बेला शोकमा छौं । कहाँबाट गलत कुराहरु आइरहेको छ ?’

कान्छा छोरा सुहाङले कसैको मृत्युलाई राजनीतिक उद्देश्य राखेर प्रचार गरिनु अनुचित हुने बताए । ‘बुवासँग मेरो भिडियो कल भएको थियो, सबै कुराहरु सामान्य ढंगले भएको थियो, अनपेक्षित घटना सुनेलगत्तै मैले दुई साताको भ्रमण छोट्याएँ’ सुहाङले भने, ‘गलत र भ्रामक कुराहरु प्रचार हुनु अनुचित छ । शोकको बेलामा यस्तो कुरा सुन्नु हामी परिवार र कसैको लागि पनि राम्रो होइन ।’

दुई छोरी र दुई छोराका पिता सुवास नेम्वाङको बिहीबार दिउँसो आर्यघाटमा अन्त्येष्टि भएको छ । उनको निधनमा सरकारले शोक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?