+
+
नाटक :

त्यसपछि दमिनीले भीरबाट हाम फाली

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:३५

घड्क–घड्क घोडाको टाप र घण्टीको चर्को ध्वनीले जहिल्यै आतंकित बनाउँछ, दमिनीलाई । किनभने त्यो ध्वनीसँगै उनको घर-आँगनमा काजी कालिबहादुर प्रकट हुनेगर्छ । र, उही कुटिल अनि कर्कश आवाजमा सोध्ने गर्छ, ‘भाका त मार्दैनस् होला नि ।’

तर भाका सकिन्छ, ऋण तिर्ने । फेरी पनि हावाको बेग जसरी घोडामा चढेर काजी आइपुग्छन् । दमिनी आत्तिन्छिन् । उनका श्रीमान् सुकेको मुटुले ठाउँ छाड्छ । किनभने उनीहरुँग काजीको ऋण तिर्न सक्ने हुति छैन ।

काजी अघोरै रिसाउँछ । सुकेलाई घोक्र्याउँछ । लात हान्छ । र, मुखभरीको गाली गर्छ ।

अपमानको चोटले हो वा ऋणले बोझले, भोलिपल्ट बिहानै सुकेले घर छाड्छ । पुगनपुग महिना दिन अघि उनले दमिनीलाई विवाह गरेर भित्र्याएका थिए । दमिनी कलकलाउँदी थिई । अनि रुपवती पनि ।

यी वैंशालु जोडीले न्यानो साथ बिताउन पाएनन् । चिसा रातहरु गुज्रिए । दमिनी एक्लै भईन् । सुके फर्किएर आएनन् ।

महिना बित्छ ।

पृष्टभूमीमा घोडाको टाप र घण्टीको ध्वानी बज्यो । दमिनी विचलित भइन् । आँगनमा काजी जो उभिएका छन् । एक्ली महिला, त्यो पनि निरिह । काजीको अहंम्, उदण्डता र उत्तेजना बढ्ने नै भयो । अन्ततः जे नहुनु त्यही हुन्छ ।

काजीले दमिनीलाई समाते, ताने, अठ्याए । जबरजस्ती भोग गरे । आफुलाई तृप्त बनाएर अलप भए ।

तर, दमिनी ?

त्यो अवोध महिलको चित्कार सुन्ने कोही छैन । न आफ्नो पीडा सुनाएर उनी मन शान्त बनाउन सक्छिन्, न विद्रोह गरेर उम्लिएको रगत सेलाउन नै । अब दमिनी के गर्छिन् त ?

त्यही रात अत्यासलाग्दो भीरबाट हाम फाल्छिन् ।

त्यसपछि के हुन्छ ? दबाईएका, होच्याइएका, हेपिएका, कुल्चिएका मान्छे र तिनका सपनाको पटाक्षेप हुन्छ । तर, यो अन्त्य होइन सुरुवात हो । यहीबाट सुरु हुन्छ, दमिनी भीरको कथा ।

…………

नाटक : दमिनी भीर

परिकल्पना-निर्देशक : इँगिहोपो कोइँच सुनुवार

लेखक : राजन मुकारुङ

स्थान : मण्डला नाटकघर, थापागाउँ (काठमाडौं)

निष्पट अध्याँरो । कता–कता कोही बोले जस्तो । छिल्लिए जस्तो । सुस्तरी धुन बज्छ । मञ्चमा प्रकाश छाउँछ । अनि देखापर्छन्, दुई नवयौवना ।

माया–पिरतीको कुरा हुन्छ । नौरंगी सपनाको कुरा हुन्छ । प्रेमलापमा मग्न हुन्छन्, दुबै । तर, कसलाई के थाहा र ? यो प्रेमको चटकभित्र यौनतृष्णाको कति कुटिल चालबाजी छ ।

आज पनि त्यही हुन्छ, जो उहिले दमिनीमाथि भएको थियो । युग बितेको थियो । समय बद्लिएको थियो । तर, नियत र नियती उस्तै थियो । त्यसैले त एउटी किशोरीमाथि कुनै पुरुष बलजफ्ती जाइलागे । मनलाग्दी यौन भोग गरे । आफुलाई तृप्त बनाएर बेपत्ता भए ।

अब यी युवतीको हालत के हुन्छ ? के उनले पनि दमिनीले जस्तै भीरबाट हाम फालेर आफुलाई मेटाउँछिन् ?

उनलाई यस्तो प्रश्नले घोचेकै थियो, ‘कसको भूँडी बोकेकी होस् ए नकचरी ?’

उनलाई यस्तो सुझावले रुवाएकै थियो, ‘जे हुनु भइगयो, पेटको बच्चा फालिदे ।’

उनलाई यस्तो वन्दोवस्तीले अठ्याएकै थियो, ‘अब खोजेजस्तो बुढा भेटिन्न । फलानोसँग भएपनि घरजाम गरेर बस ।’

एउटी अवोध नारी, जसको सामुन्ने पीडाको कठोर पहाड छ । अब उनको जीवन के हुन्छ ? गर्भपात गर्छन् ? अर्कैसँग पोइला जान्छन् ? आफुलाई लुकाउन आत्महत्या गर्छिन् ? वा जीवनभर ‘कलंक’ बोकेर बाँच्छिन् ?

यी प्रश्नहरुमै घुम्दै–फिर्दै नाटकले तपाईंलाई पूर्वी पहाडतिर लैजान्छ र एउटा कालखण्डको सग्लो अनि सजिव तस्विर देखाइदिन्छ । फरक–फरक कालखण्डामा नेपाली समाजले जे देखेर, झेलेर, भोगेर आयो नाटकले त्यसलाई विस्तारित गरेको छ । नाटकमा थुप्रै पात्र छन्, थुप्रै चरित्र छन्, थुप्रै गाँठागुठी छन्, थुप्रै लक्ष्य छन्, थुप्रै कुण्ठा छन् । र, यी सबैको एउटा मोहक कोलाज छ ।

कहिले हाँसो ठट्टा, कहिले विस्मय, कहिले ऐठन । दृश्यहरुले तपाईंलाई अस्थिर रहन दिदैन । पृष्टभूमीमा बद्लिरहने चट्टाने भीर र त्यसलाई साक्षी राखेर घटने अनेक परिघटनाले मनलाई चञ्चल  बनाइरहन्छ ।

पात्रहरु गतिशिल छन् र संवाद छरितो छ । थोरै संशाधनकै भरमा पात्रहरुको हाउभाउ र बोलीचालीले घटनाको चित्रण गर्दै जान्छ । यसमा सबैभन्दा शक्तिशाली छ, पाश्र्व ध्वनी र प्रकाश । यी दुबैको तालमेलले नाटकलाई प्राण दिएको छ ।

जगजाहेर छ, दमिनी भीर उपनस हो । राजन मुकारुङले लेखेको । मदन पुरस्कार पाएको । यति गहकिलो उपन्यासलाई नाट्य रुपान्तरण गर्नु सानो दुःखले पुग्दैन । इँगिहोपो कोइँच सुनुवारले आफ्नो नेतृत्व र रचनात्मक अभिव्यक्तिबाट यो दुःखलाई सिर्जनामा बदलेका छन् ।

सोझै देखाउन नसकिने कतिपय दृश्य छन्, जसलाई कलात्मक ढंगले पेश गरिएको छ । जस्तो कि, बलात्कारको दृश्य । त्यसमा पात्रको हाउभाउ, ध्वानी र प्रकाशको संयोजन कम्ता जोडदार छैन । समग्रमा नाटक स्वादिलो र खँदिलो छ ।

फोटो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?