+
+
यात्रा :

दूरीले नघटाउने देशको माया 

बाहिर नेपालको झण्डा देखें। मेरो मुटु ढक्क फुल्यो त्यो चन्द्र र सूर्यको झण्डालाई देख्दा। दूतावासभित्र छिरें। कर्मचारीहरूसँग बोलें र राजदूतसँग छोटो भेटघाट गरें। आफ्नै देश पुगे जस्तो लाग्यो।

डा. रुद्र अर्याल डा. रुद्र अर्याल
२०८० भदौ ३० गते ९:३३

केही वर्ष पहिलेदेखि नै युरोप यात्रा गर्न मन लागिरहेको थियो। यो रहर न युरोपसँग न म धेरै वर्ष बसेको अमेरिकासँग नेपालको तुलनाको लागि थियो।

नेपाल रहँदा आफूलाई विश्वको बारेमा धेरै जानकारी भएको भनेर बताउने एक जना नेपालीसँग भेट भएको थियो। उनले पश्चिम जर्मनीहरू ३०० वर्ष पहिला जर्मन कस्तो थियो भनेर थाहा पाउन मन लाग्यो भने नेपाल आउँछन् भनेर सुनाएका थिए। मलाई उनको कथन साँचो हो कि झुटो भनेर पत्ता लगाउन मन भने पक्कै थियो।

त्यस्तै ८-९ कक्षामा इतिहास पढ्दा मलाई पहिलो र दोस्रो विश्वयुद्धमा भाग लिएका देश बारे जानकारी लिन कठिन लाग्थ्यो। फ्रान्सेली राज्य क्रान्ति, युरोपको गौरवमय लगायत औद्योगिक क्रान्ति भएका देशहरू, अनि संसार जितेर आफ्नो अधीनमा राख्दै उन्मुक्त बनेर हिंडेको बेलायत हेर्ने रहर भने भित्रैबाट जागेर आएको थियो।

विश्वविद्यालयमा प्राध्यापक भइसकेपछि म प्रत्येक ६ वर्षमा पाइने विश्राम बिदा (सब्याटिकल) मा जर्मनीको एउटा विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने निधो गरेर युरोप यात्रामा निस्कने योजना तय गरें।

जर्मनीको फ्र्यांकफर्टबाट सुरु गरेर म्युनिख, बेरुथ, चेक रिपब्लिकको प्राग, जर्मनीकै बर्लिन, नर्वेको ओस्लो, बेल्जियम, फ्रान्स र बेलायतको समेत भ्रमण गर्ने गरी अमेरिकाको बोस्टनबाट जर्मनीतिर लाग्ने गरी यात्रा सुरु गरें।

बेलायतको हिथ्रो एयरपोर्टमा भएको आठ घन्टाको ट्रान्जिटमा बाहिर निस्कने गरी प्रबन्ध मिलाएको थिएँ। यो एयरपोर्ट मेरो निम्ति अति नै महत्वपूर्ण थियो। सन् २००१ मा पहिलोचोटि नेपालबाट अल्जेरिया जाँदा प्लेनबाट यो एयरपोर्टमा ट्रान्जिटको निम्ति उत्रँदै गर्दा बाहिरतिर देखिएका घरहरूमा सबै बुद्धिजीवी, धनी र वैज्ञानिकहरू मात्रै बस्छन् होला भनेर कल्पना गरेको थिएँ।

हुन पनि त्यतिवेला अंग्रेजी बोल्ने देशका मान्छे भनेपछि बुद्धिजीवी नै हुन्छन् भनेर मान्ने गरिन्थ्यो। त्यसमा पनि न्यूटन, शेक्सपियरहरू जन्मेको देश भनेपछि त त्यसै पनि मेरो मनमा राम्रै प्रभाव पर्ने भइहाल्यो।

त्यसैले यसपालि हतार-हतार भए पनि बाहिर निस्कने निधो गरेको थिएँ। मेरो दिदी–भिनाजु समेत त्यहीं बस्नुभएकोले पनि मलाई सहज भयो बाहिर जानको निम्ति। संसार नै बेलायत हो भन्ने रानी भिक्टोरियाको देश केही घन्टाको लागि भए पनि हेरें र कल्पना गरें सायद जर्मन नपुग्दै उत्तर पाइसकें कि एक जना नेपालीले गरेको जर्मनी र नेपालको तुलना गलत थियो।

जर्मनीको फ्र्यांकफर्ट एयरपोर्टमा झर्दा हाम्रा साथीहरू मलाई रिसिभ गर्न आइसक्नुभएको रहेछ। नेपालीपन, नेपाली माया कति ठूलो हुँदोरहेछ ? भोलि बिहान एउटा होटलको हलमा मेरो कार्यपत्र प्रस्तुत गर्नुथियो। मैले त्यही होटलमा रुम मिलाएको थिएँ तर साथीहरूले गाली गर्नुभो– हामी बसेको ठाउँमा जानुपर्थ्यो नि, किन पैसा तिर्नुपर्‍यो भनेर।

कति फराकिलो माया, कति ठूलो सद्भाव र कति ठूलो हृदय हाम्रो समुदायको। तर म भने होटल बुक गरिसकेको र मेरो कार्यक्रम पनि होटलमै भएकोले पनि सजिलोको निम्ति त्यहीं बस्ने निर्णयमा पुगेको थिएँ।

कार्यपत्र प्रस्तुत गरिसकेपछि साथीहरूले फ्र्यांकफर्टका केही महत्वपूर्ण ठाउँहरू घुमाउनुभयो। साँझ नेपाली साथीले आयोजना गर्नुभएको डिनरमा सहभागी भएँ। सबै साथीहरूको कुरा अनि योजना आफ्नै देश नेपालमा के गर्न सकिन्छ भन्ने नै थियो।

एनआरएन र सबै प्रवासी नेपालका लागि नेपालको दोहोरो नागरिकताका विषयहरू छलफल भए। विदेशमा आर्जेको सीपलाई कसरी देशमा भित्र्याउन सकिन्छ भन्ने बारेमा गहन तरिकाबाट छलफल भए।

भोलिपल्ट फेरि जर्मनीकै म्युनिख पुग्नुथियो। संसारको एउटा क्रुर शासकको रूपमा दर्ज भएको हिटलर नेतृत्वको पार्टीको प्रधान कार्यालय रहेको ठाउँ। सन् १९३८ मा जर्मनी, फ्रान्स, ब्रिटेन, फ्रान्स र इटाली भएर चेकोस्लोभाकियाको एउटा क्षेत्र जहाँ जर्मन मूलका मान्छेहरू बस्ने गर्दथे, त्यो ठाउँ जर्मनीलाई दिने प्रस्तावको समर्थन गर्दै एउटा सम्झौता भएको ठाउँ पनि हो त्यो। त्यसैले पनि म त्यसलाई हेर्न चनाखो थिएँ।

हुनत त्यो सम्झौता भविष्यमा हुने युद्ध रोक्नको निम्ति गरिएको थियो। तर हिटलरले त्यसलाई लत्याइदिए र केही महिनामा नै नरसंहारपूर्ण युद्धको सुरुवात गरेका थिए। अझ त्योभन्दा पनि महत्वपूर्ण ११औं शताब्दीका महत्वपूर्ण कला संस्कृतिहरू दर्शाउने शहरहरूका भवन र ठाउँहरूले ढाकिएको शहर हो- म्युनिख भनेर सुनेको थिएँ मैले।

मेरो यात्राले नेपालको सुन्दरता संसारका देशहरू भन्दा सयौं वर्ष अगाडि छ भन्ने लाग्यो। हामीले अझै नेपालको सुन्दरतालाई चिन्न सकेका छैनौं जस्तो लाग्यो। यही कुरालाई मनमा राख्दै अर्को दिन नर्वेको ओस्लो हुँदै बेल्जियम, फ्रान्स र बेलायततिर लाग्ने गरी बर्लिनको एयरपोर्टतिर लागें

मेरो आफ्नै नातेदारको बसाइ समेत भएको शहरमा पुग्न उत्साहित थिएँ। बसमा फ्र्यांकफर्टबाट म्युनिखको यात्रा गर्दा जर्मनको एउटा चित्र उतारिसकेको थिएँ। हावाबाट चलेका उपकरणहरू लगायत सौर्य शक्तिबाट बिजुली निकाल्ने प्रविधिलाई महत्व दिएका रहेछन्।

अझ महत्वपूर्ण त जर्मनमा कृषि क्षेत्रलाई विशेष महत्व दिएर वैज्ञानिक ढंगले बस्ती बसालिएको रहेछ। बसमा कुनै अंग्रेजी बोल्ने मान्छे भेटिएनन्। फोनको मद्दतले अंग्रेजी-जर्मनी दोभाषेको काम चलाएँ। बाटोमा पर्ने ठाउँहरूको जानकारी लिंदै मजा लिएँ। केही दिनको बसाइपछि म्युनिखको अवलोकन गरेर लगभग सकें।

त्यहाँ मलाई सन् १७८९ मा स्थापना गरिएको इङ्ग्लिस पार्कले मन लोभ्यायो। हजारौं युवायुवती, बुबाआमा सहितका परिवारका सदस्यहरू रमाउँदै, नाच्दै साँझको डिनर समेत त्यहीं लिएर जाँदा रहेछन् र साँझसम्म रमाइलो गर्दा रहेछन्। कोही पार्कको बीचमा मान्छेहरूले कृत्रिम तरिकाबाट पाँच मिटर प्रतिसेकेन्डमा बग्ने आइसब्याक नदीमा हाँस्दै र मुस्कुराउँदै बग्दै गरेका युवायुवतीका समूहले त्यो पार्कलाई अझ रोचक बनाइदिंदा रहेछन्।

शहरको बीचमा रहेको धेरै ठूलो पार्कले म्युनिख शहर समेत मुस्कुराएको देखिन्थ्यो। मलाई लाग्यो- यो पार्कमा भएका गतिविधिले मानिसहरू मानसिक र शारीरिक रूपमा स्वस्थ रहेका छन् जस्तो लाग्यो। म्युनिखमा हिटलरको नेतृत्वमा भएको कन्सर्नट्रेशन क्याम्प मेमोरियल पार्कको यात्रा गरेपछि भने मन अलि खिन्न भयो।

हजारौं मान्छेलाई हिटलरको नेतृत्वमा कसरी दुःख दिइएको थियो र मारिएको थियो भन्ने बारेमा जानकारी पाइने रहेछ यो मेमोरियल पार्कमा। तर पनि इतिहासको बारेमा जानकारी लिनु मेरो उद्देश्य भित्र परेको थियो।

म्युनिख वरिपरि र केही दिनपछि चेकरिपब्लिक प्रागको यात्रामा निस्किएँ। यो यात्राको अवसरमा नेपाली समुदायका सदस्यहरूको शालीनता, परिश्रम र व्यवस्थापन राम्रो लाग्यो। उनीहरू नेपालमा विभिन्न तरिकाबाट आफ्नो गाउँहरूमा सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने रहेछन् भनेर थाहा पाउँदा मेरो यात्रा अझ खुसियालीमा परिणत भएको थियो।

प्रागको तीन दिनको यात्रा पछि मलाई जर्मनीको बर्लिन शहरमा पुग्न हतार भइसकेको थियो। सानैदेखि सुनेको ठाउँ। अमेरिकाको राजनीतिमा समेत बर्लिन वालको प्रसंग धेरै आइरहन्थ्यो। मलाई त्यो इतिहास भएको ठाउँमा पुग्नु थियो। इन्टरनेटबाट बर्लिन वालको नजिकै एउटा होटल खोजें र बसें।

भोलिपल्ट बिहानै बर्लिन वालको भग्नावशेष भएको ठाउँ हेर्न पुगें। स्थानीय वयोवृद्धहरूसँग सोधें तिनीहरूको धारणा बुझ्न। तर मान्छेहरूले बिर्सेर हो कि के हो तिनीहरूले बाहिर सुने जस्तो व्याख्या गरेनन्। राजनीतिक गतिविधि बाहेक अरु त राम्रै थियो अरे भने। कोही कोहीले भने अलि फरक तरिकाबाट व्याख्या गरे।

मलाई वाल छोएर उभिन मन लग्यो। एउटा जर्मनी नजिकै आयो र सोध्यो, ‘वहार कोमेन साइ’ मैले यस्तै यस्तै सुनेको थिएँ। पछि बुझिनँ र अंग्रेजीमा सोधें। उसले अलि अलि बोल्दो रहेछ। उसले सोधेको रहेछ, ‘होयेर आर यु फ्रम’ अल्लि फरक लाग्यो अमेरिकनहरूको बोल्ने तरिका र जर्मनीहरूको।

अमेरिकनहरूले कहाँबाट आइस भनेर सीधै सोधेको त्यति धेरै सुनेको थिइनँ। तर पनि बर्लिन वाललाई हेरें र फोनबाट खोज्न थालें इतिहासका तथ्यहरू। संसारको अति नै ठूलो इतिहास बोकेको ठाउँमा पुगे जस्तो अनुभव भयो। बर्लिनमा रहँदा एउटा युनिभर्सिटीमा कार्यपत्र पेश गर्ने कार्यक्रम सकेपछि जर्मनस्थित नेपाली राजदूतावास पुगें। आफ्नो देशको प्रतिनिधि रहेको ठाउँ भनेर।

बाहिर नेपालको झण्डा देखें। मेरो मुटु ढक्क फुल्यो त्यो चन्द्र र सूर्यको झण्डालाई देख्दा। दूतावासभित्र छिरें। कर्मचारीहरूसँग बोलें र राजदूतसँग छोटो भेटघाट गरें। आफ्नै देश पुगे जस्तो लाग्यो।

मेरो यात्राले नेपालको सुन्दरता संसारका देशहरू भन्दा सयौं वर्ष अगाडि छ भन्ने लाग्यो। हामीले अझै नेपालको सुन्दरतालाई चिन्न सकेका छैनौं जस्तो लाग्यो। यही कुरालाई मनमा राख्दै अर्को दिन नर्वेको ओस्लो हुँदै बेल्जियम, फ्रान्स र बेलायततिर लाग्ने गरी बर्लिनको एयरपोर्टतिर लागें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?