+
+

गुल्मीको गर्जुरामा चिटिक्क बनेको रेसुङ्गा पार्क सञ्चालनमा आएन (तस्वीरहरू)

अनिल खत्री अनिल खत्री
२०८० भदौ ३१ गते ७:१४

३१ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।

पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर, पार्क निर्माण भएको करिब ८ महिना बित्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल-अर्जुन-न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरेको हो । पार्क निर्माण कार्य २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

तर, निर्माण व्यवसायीले तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न गरेका थिए । समय अगावै निर्माण कार्य सम्पन्न भएको पार्क सञ्चालनमा नआउँदा नागरिक आक्रोशित भएका छन् ।

निर्माण व्यवसायीले सम्झौता अनुसारको रकम नपाएको गुनासो गरेका छन् । पार्क निर्माणबाट झण्डै ३ करोड रकम पाउनुपर्ने रहेको निर्माण व्यवसायी लक्ष्मी खनालले बताइन् ।

पछिल्लो समय रेसुङ्गा जानेको संख्या वृद्धि भइरहेकाले पार्क अवलोकन गर्न नपाउँदा दुखित हुँदै फर्किने गरेको सन्तोष पन्थीले बताए । आवश्यक पक्रिया छिटो पूरा गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

पार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले रकम निकासा गर्न विभिन्न निकायसँग पहल गर्दै आएको छ ।

रेसुङ्गा नगरपालिकाले ‘जाउ हिंड रेसुङ्गा’ अभियान पनि चलाएकाले पार्क सञ्चालनमा छिटो ल्याउनु पर्नेमा नगरपालिकाको पनि जोड छ ।

निर्माण व्यवसायीले पार्कको रकम भुक्तानी नपाएकाले नगरपालिकालाई हस्तान्तरण समेत भएकाे छैन । जसले गर्दा नगरपालिकाले पनि पार्क सञ्चालन गर्न पाएको छैन ।

रेसुङ्गा पार्क निर्माण कार्य सम्पन्न भएपछि ताल्चा मारेर राखिएको छ । गर्जुरामा पार्क अवलोकन गर्न जानेहरु जान पाएका छैनन् ।

जसले गर्दा कतिपयले तारबार नाघेर भित्र पसेर क्षति समेत गर्ने गरेको निर्माण व्यवसायी खनालले बताइन् । पार्कमा निर्माण व्यवसायीले ५ जना कामदार मार्फत दैनिक रेखदेख र संरक्षणको काम गर्ने गरेको छ ।

पाक भित्र भ्यूटावर, पीङ, पाँच वटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र व्याडमिन्टन मैदान, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग लगायतका निर्माणको काम भएको छ ।

पार्क निर्माणको लागि नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।

पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्कले रेसुङ्गासँगै धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्व बढाउने अपेक्षा लिइएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ ।

जिल्ला सदरमुकाम तम्घास आउने पर्यटकलाई रेसुङ्गा सम्म लैजाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुङ्गा पार्क बनाइएको हो ।

               

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?