काठमाडौं । ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुन पाँच फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । ओस्कारको नेपाल कमिटीका अनुसार डाकिनी, हल्कारा, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका छन् ।
कमिटी अध्यक्ष राजु केसीका अनुसार यी फिल्ममध्येबाट केही दिनमा एउटा फिल्मलाई मुलुकको प्रतिनिधित्व गर्दै अमेरिका पठाइनेछ । कमिटीले अक्टोबर १ सम्म फिल्मलाई ओस्कारमा पठाइसक्नुपर्नेछ ।
सिफारिस भएको फिल्मले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गर्नेछ । खिन्से नोर्बु रिम्पोछे निर्देशित ‘डाकिनी’ एक आध्यात्मिक ड्रामा हो । संसारका ठूला फेस्टिभलको चक्र पूरा गरेर यो फिल्म गत जेठमा हलमा रिलिज भएको थियो । विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’ले निःसन्तान हुँदा बुहार्तन खेप्न बाध्य कर्णालीकी एक महिला पात्रको कथा पेश गर्छ । फूलमान बल निर्देशित ‘नीरफूल’ले धादिङको उत्तरी रुबीभ्याली उपत्यकाको एक परिवार भूकम्पको त्रासदीपछि विस्थापित हुन बाध्यताको कथा पेश गर्छ ।
सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ले एकल महिलाको पुनर्विवाहको कथा पेश गर्छ । यी सबै फिल्मलाई क्रिटिक्सले रुचाएका थिए ।
प्रतिक्रिया 4