+
+

परपीडाको आत्मरतिमा रमाउनेहरूको नाममा

न्यायालयले अवाञ्छित सुविधा दिएर लुइस रुबियल्सलाई डामेको साँढे झैं छाडेन। निर्णय प्रक्रियाले के हुन्छ देखाउँदै जाला; तर भीडको पछि लागेर महिलाको आवाजलाई दुत्कारेर उनको अपमान गरेन।

अमृता लम्साल अमृता लम्साल
२०८० असोज ३ गते १०:११

अमेरिकाको न्युयोर्क राज्य निवासी इजिप्सियन-अमेरिकन पत्रकार मोनु एल्टाहावीले, १७ अगस्ट २०२३ को दिन, ट्विटरको पछिल्लो रूप ‘एक्स’मा एउटा पोस्ट गरेकी छन्; जसको नेपाली अनुवाद यस्तो छ-

पछिल्लो साढे तीन हप्तादेखि मैले, लुइस रुबियल्सले वर्ल्डकप सेरेमोनीको बेला जेनी (जेनिफर) हेर्मोसमाथि भएको आक्रमणको बारेमा दिनहुँजसो लेखे। लाखौले यसलाई पढे। , अझै पनि केही मानिसहरू रुबियल्सको पक्ष लिन्छन् र उ असल मान्छे हो भन्नेमा जोड दिन्छन्। निश्चय नै उनीहरू रस्सेल ब्रायन्डको पक्ष लिइनै रहनेछन्।

पत्रकार एल्टाहावीले लिएको दुइटै नामहरू, महिलामाथि यौन दुर्व्यवहार र हिंसा गर्ने व्यक्तिहरू हुन्। तीमध्ये, लुइस रुबियल्स, स्प्यानिश फुटबल फेडरेसनको तत्कालीन प्रेसिडेन्ट थिए, उनले गत अगस्त २० तारिखको दिन स्पेनको महिला फुटबल टिमले फिफा वर्ल्डकप जितेको खुशियाली मनाउँदै गर्दा, जेनी हेर्मोसोलाई उनको सहमति विना नै समातेर ओठमा किस गरेका थिए।

आफूमाथि भएको त्यो अभद्र व्यवहारको विरोधमा जेनीको भनाइ थियो, ‘मैले असहाय तथा आक्रमणको शिकार भएको’ महसुस गरेकी थिएँ। तर, यही कुरालाई रुबियल्सका फ्यानहरूले केही नभएको जसरी उल्टै टिमको तर्फबाट प्रेस रिलिज जारी गरेर, त्यो किस सहमतिमै भएको भन्दै जेनीमाथि नै गाली-गलौजको बाढी नै ल्याए।

तर, रुबियल्सको त्यो आपराधिक कार्यको विरोध गर्ने जमातले, उनलाई रोयल स्प्यानिश फुटबल फेडरेसनबाट राजीनामा गर्न बाध्य पारे; फलस्वरूप, रुबियल्सले सेप्टेम्बर १० को दिन प्रेसिडेन्टको पद छाड्नै पर्‍यो। त्यति मात्रै होइन कि, स्प्यानिश हाई-कोर्टमा रुबियल्सको विरुद्ध मुद्दा हालिएको छ; स्प्यानिश सरकारले उनको आपराधिक व्यवहारको भर्त्सना गरेको छ।

साथै, फुटबलको सबैभन्दा ठूलो संस्था इन्टरनेसनल फेडरेसन अफ एशोसिएसन फुटबल (फिफा)ले गत अगस्ट २६ देखि रुबियल्सलाई तीन महिना फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी निलम्बित गरेको छ।

यो समाचारको रुबियल्सको पक्षमा बोल्नेको भीडको पर्वाह नगरी, एउटा स्प्यानिश वेबसाइटले न्युज ब्रेक गरेको थियो। जब, ‘रेलेयो’ नामक स्पोर्टस् न्युजसाइटमा कार्यरत अनुभवी फुटबल रिपोर्टर नतालिया तोर्रेन्तेले, रुबियल्सको टिमले निकालेको प्रेस रिलिजमा जेनी हेर्मोसोले बोल्दै नबोलेको कुराको प्रचार भएको थाहा पाइन्; तब उनले उक्त समाचारबारे खोजी गर्न थालिन्।

र, अन्त्यमा, रुबियल्स अदालत पुगे। यो समाचार र यसभित्रको कथा पढ्दै गर्दा, मैले मनैमन यहाँका ‘राष्ट्रको गहना’, न्यायालय र केही ‘यौन दुर्व्यवहारी समर्थक’ सञ्चारमाध्यम सम्झिरहें।

अब भने आशा पलाएको छ, समाज परिवर्तन भएको छ बन्ने लागेको थियो। तर अहिलेको सामाजिक सञ्जालमा पीडितमाथि हुने टिप्पणी पढेर आक्रोशले सीमा नाघ्छ। घोर निराशाले घेर्छ

सबैभन्दा महत्वपूर्ण कुरा त, त्यहाँको राज्यले देशलाई वर्ल्डकप जिताउने जिम्मा लिएको फुटबल एसोशिएसनको अध्यक्षलाई यौन दुर्व्यवहारको आरोपमा आँखा चिम्लिएर छाड्नुपर्छ भनेन। न्यायालयले अवाञ्छित सुविधा दिएर रुबियल्सलाई डामेको साँढे झैं छाडेन। निर्णय प्रक्रियाले के हुन्छ देखाउँदै जाला; तर, भीडको पछि लागेर महिलाको आवाजलाई दुत्कारेर उनको अपमान गरेन।

मोनु एल्टाहावीले लिएको अर्को नाम रस्सेल ब्रायन्ड, कलाकार र कमेडियन हुन्। उनी युनाइटेड किङ्डम निवासी कलाकार, कमेडियन हुन्। उनको बारेमा हाल सालै, युकेस्थित विभिन्न संचारमाध्यमहरूले गरेको खोज पत्रकारिता अनुसार चार जना महिलाहरूले सन् २००६ देखि २०१३ सम्ममा उनीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

ती आरोपहरूलाई रस्सेलले सहमतिमै भएको यौन सम्बन्ध भन्दै आएका छन्। यो कुरा जसरी उठेको छ, त्यसमा रस्सेलले सजिलै उन्मुक्ति पाउलान् जस्तो लाग्दैन।

एकातिर, आपराधिक कार्यबारे कुनै न कुनै समूह वा व्यक्तिहरूले अनवरत रूपमा आवाज उठाएको उठायै छन् भने, अर्कोतर्फ पीडक वा अपराधीहरूको झुन्ड नै लागेर महिलाको अर्थात् पीडितको मानमर्दन गर्न हरबखत तम्तयार भएर बसेका हुन्छन्।

यस्तो अवस्था आजभन्दा ५/६ वर्ष अगाडिसम्म पनि यति हदसम्म भइसकेको थिएन कि जस्तो लाग्छ।

म, त्यो दिन सम्झिरहेछु; जुन दिन, २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो। त्यो बलात्कार तथा हत्याकाण्डको बारेमा स्थानीय बासिन्दाले प्रहरीको हात रहेको आशंकामा छानबिन समितिको माग गरे।

सरकारले आफ्नो तर्फबाट अनुसन्धान गरेको जानकारी दिंदादिंदै पनि अहिलेसम्म पनि अपराधी पत्ता लागेको छैन। त्यो केसमा नागरिकको तर्फबाट २०७५ भदौ ९ गते ठूलो प्रदर्शन गरेको थियो।

प्रदर्शनकारीहरूको छातीमा ‘अपराधी’, ‘समाज’, ‘कानुन’ आदि लेखिएको कागज टाँसिएको थियो। शिल्पी समूहले एउटा नाटक देखाएको थियो। त्यो नाटकमा बलात्कृत किशोरीको भूमिका निभाउने कलाकारहरूले निकालेको चीत्कार जो–कोहीलाई पनि सुन्न गाह्रो भएको थियो।

सायद, निर्मला, माया तथा अरू छोरीहरू पनि यसैगरी चिच्याए होलान् ! दयाको भिख मागे होलान् ! अहिले जसरी ती आवाज विहीनहरूका लागि न्यायको भिख मागिंदैछ। त्यो आर्तनाद! त्यो पीडा ! उफ् !!!!

त्यहाँबाट हामी अगाडि लाग्यौं। शिल्पी समूहका अगुवा कलाकार घिमिरे युवराज एकोहोरो शंख फुकिरहनुभएको थियो। उहाँको पछिपछि हिंडिरहेकी म, कुर्थाको सलले आँखा पुछिरहेकी थिएँ। मलाई त्यहाँ निर्मला पन्त, माया विकहरूको मलामी गइरहेको भान भइरहेको थियो।

मलाई, न्याय मरेको समाज र कानुन मार्ने प्रहरी प्रशासन सम्झिएर मनभरि आक्रोश र पीडा भरिइरहेको थियो। जसरी अहिलेको समाजमा बलात्कारलाई मजाक बनाएर पीडितको अपमान गरिन्छ। पढ्न नसकिने कमेन्टहरू लेखिन्छ।

थाहा छैन, किन हो यो समाज लुइस रुबियल्स, रस्सेल ब्रायन्ड, रबर्ट ह्याडेन बनाउन मरिमेटिरहेका छन् ! थाहा छैन, किन हो यो समाज परपीडाको आत्मरतिमा रमाइरहन तल्लीन छ

त्यो माइतीघरमण्डलमा हामी ११ बजे पुग्दा, ठूलै संख्यामा प्रहरी तयार भएर बसेका थिए। हामी चुपचाप जम्मा हुँदै गयौं।

केही साथीहरूले त्यहीं बसेर नारा लेख्नुभयो। केहीले लेखेर ल्याएको नारा फोटोकपी गर्नुभयो। हामी सबैले छातीमा ती नाराहरू टाँस्यौं र अगाडि बढ्यौं।

त्यही दिन बिहान एक जना भाइले डिएममा लेख्नुभयो, ‘दिज्यू, पुरूष हुनुमा यति विघ्न हीनताबोध कहिल्यै भएको थिएन।’

मेरो जवाफ थियो, ‘त्यसो भनेर नरुवाउनूस् मेरो परिवारमा पनि पुरुष सदस्य छन् ! के गर्ने, एउटा कुहिएको आलुले टोकरीभरीको आलुलाई सडाउँछ! एक जना बहिनीले आफ्नो १४ वर्षको छोरा र ५ वर्षकी छोरी सँगै छाडेर हिंड्न डर लाग्छ भन्नुभयो; मन कति अमिलियो होला ! हेर्नुस् त मानिसको डर !’

सोही बिहान अर्की बहिनीले निर्मलाको केसलाई लिएर हतासिंदै मेसेन्जरमा लेख्नुभयो, ‘दिदी, म गलें!’

हो, हामी हतास भइसक्यौं; गलिसक्यौं। हामीलाई नै थाहा हुन छाडिसक्यो, हरेक दिनजसो भइरहेको त्यस्तो घृणित र पाशविक घटनाहरूलाई कसरी रोक्ने ? हाम्रा छोरी/चेलीले यो पीडा कति भोग्ने ? हामी सुरक्षित भएर हिंड्न किन नपाउने ?

झन्डै तीन दशक अगाडिदेखि कति जुलुसमा हिंडियो। कति धर्ना दिइयो। त्यहाँ, जहिले पनि, बलात्कार र महिलामाथि हुने हिंसा, केवल महिलाहरूको मात्र समस्या हो जस्तो देखिन्थ्यो।

तर त्यो दिन, जीवनमा थोरै भए पनि नयाँ उत्साह थपिएको छ। त्यो दिन, त्यो मौन जुलुसमा महिलाहरू भन्दा दाजुभाइहरू धेरै हुनुहुन्थ्यो। आफ्ना छोरी/चेलीको पीडाले उहाँहरूलाई धेरै छोएको थियो। यो घटना केवल महिलाहरूको सरोकारको विषय मात्रै रहेको थिएन।

अब भने आशा पलाएको छ, समाज परिवर्तन भएको छ बन्ने लागेको थियो। तर अहिलेको सामाजिक सञ्जालमा पीडितमाथि हुने टिप्पणी पढेर आक्रोशले सीमा नाघ्छ। घोर निराशाले घेर्छ।

कोलम्बिया युनिभर्सिटीको अब्सटेट्रिसियन रबर्ट ह्याडेनले बीसौं वर्षदेखि आफूकहाँ जचाउन आएका महिलाहरूमाथि यौन दुर्व्यवहार र यौन शोषणबारे केही दिन अगाडि मात्रै न्युयोर्क सिटीबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘प्रोपब्लिका’ले प्रकाशित गरेको छ।

‘कोलम्बियाले कसरी महिलाहरूको भनाइलाई बेवास्ता गर्दै, प्रोसिक्युटरहरूको कुरा नसुनेर यौन दुर्व्यवहारीलाई संरक्षण गर्‍यो’ भन्ने शीर्षकमा गरिएको स्टोरीमा भनिएको छ, बल्ल गएको जुलाई २५ मा रबर्ट ह्याडेनलाई हरेक अपराधको बीस वर्षको हिसाबले सजाय सुनाइएको छ।

यस्ता केसहरू पढ्दै जाँदा थाहा हुन्छ, एउटा यौन दुर्व्यवहारीको गलत कार्यबारे बोल्न नसक्दा त्यो ‘एउटा’ले कति महिलामाथि अपराध गर्न सक्छ, यो रियल स्टोरीले बताउँछ। रबर्ट ह्याडेनलाई पनि पहिले कोलम्बिया युनिभर्सिटीले नै बचाएको रहेछ। त्यसैले बोलौं !

यहाँ त महिला विरुद्ध हुने हिंसा रोक्ने कामको लागि संस्थाहरू, विभिन्न राजनैतिक दलका महिला संघ/संगठनहरू, नाम चलेका महिलावादीहरू नै बलात्कारीको विरुद्धमा बोल्नु त कता हो कता, बरू सपोर्टमै बोल्न तम्सन्छन्।

बोल्नको विशेष अनुरोध ती व्यक्तिहरूलाई, जो ‘राष्ट्रका गहना’, कलाकार, विभिन्न क्षेत्रका सेलिब्रेटीहरूले गरेको यौन दुर्व्यवहार र यौन दुराचारका कुराहरूलाई प्रोत्साहन, प्रवर्धन गरिरहेछन्। अन्य केही, खासै ठूलो कुरा नभएको जसरी आँखा र मुख टालेर बसिरहेछन्।

थाहा छैन, किन हो यो समाज लुइस रुबियल्स, रस्सेल ब्रायन्ड, रबर्ट ह्याडेन बनाउन मरिमेटिरहेका छन् ! थाहा छैन, किन हो यो समाज परपीडाको आत्मरतिमा रमाइरहन तल्लीन छ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?