+
+

देउवालाई भेटेर शेखरले दिए कार्यशैली सच्याउन चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १८:१०

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।

‘प्रदेशका कुनै पनि सरकार बनाउँदा छलफल नगरेको कुरा शेखर दाइले राख्नुभयो । केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको कुरा पनि उठाउनुभयो’, शेखर गगन पक्षका एक नेताले भने ।

देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताएका छन् । ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस् । होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं । तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र ?’ देउवासँग शेखरको भनाइ उद्दृत गर्दै ती नेताले भने ।

प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका ती नेताले बताए ।

संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेताले जानकारी दिए ।

‘हाम्रो समूहको बैठकमा सभापतिलाई भेटेर सबै कुरा जाहेर गर्ने निर्णय भएको थियो । धेरै कुरा शेखर दाइले सभापतिसँग राख्नुभएको छ’, संस्थापनइतरका एक नेताले भने ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?