+
+

पठनपाठन अवरुद्ध नहुने आन्दोलनको स्वरुप खोज्न शिक्षकहरुलाई वर्षमान पुनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १९:१५

३ असोज, काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमासचिव वर्षमान पुन ‘अनन्त’ले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

साथै पठनपाठन अवरुद्ध नहुने आन्दोलनको स्वरुप खोज्न पनि शिक्षकहरुलाई नेता पुनको आग्रह छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले यस्तो आग्रह गरेका हुन् ।

विधेयकमा प्रस्तवित प्रावधानहरु संशोधनको माध्यमबाट परिवर्तन गर्ने ठाउँ रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘भविष्यका कर्णाधार विद्यार्थीहरुको नियमित पठनपाठन रोकिनु राम्रो होइन । पठनपाठन अवरुद्ध नहुने गरी नैतिक दबाबमुलक रचनात्मक आन्दोलनको स्वरुपको खोजी गर्न शिक्षकहरुलाई आग्रह गर्दछु ।’

आन्दोलनका क्रममा संयमता अपनाउन पनि सबै पक्षलाई उनको आग्रह छ । उनी अगाडि लेख्छन्, ‘शिक्षकहरुले संयम नगुमाई धैर्य गर्नुपर्छ । सरकारका तर्फबाट शिक्षकका जायज माग सम्बोधन गर्न प्रयास गरियोस् । शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि सबैले संयम र धैर्यता राखौं ।’

सरकारले हालै प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । लोकतन्त्रमा राज्यले सबैको आवाज सुन्नुपर्ने उल्लेख गर्दै नेता पुन थप्छन्, ‘हामी उन्नत लोकतान्त्रिक व्यवस्थामा छौं । लोकतन्त्रमा सबैका आवाजले ठाउँ पाउनुपर्छ ।’

संसद् कानन बनाउने जिम्मेवारी पाएका जननिर्वाचित प्रतिनिधिहरुको सार्वभौम थलो भएको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनका लागि शिक्षासहित कतिपय ऐन बनाइनु अपरिहार्य रहेको पनि स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?