+
+

ललितको शल्यक्रिया, एसियन गेम्स गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १२:३९

४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् ।

बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उनको शल्यक्रिया सफल भइसकेको नेपाल क्रिकेट संघ क्यानका अफिसियल डाक्टर अभिषेकराज सिंहले अनलाइनखबरलाई जानकारी दिएका छन् । उनले भने, ‘उहाँको अप्रेसन भर्खरै सम्पन्न भएको हो । अहिले अवस्था सामान्य नै छ ।’

उनका अनुसार ललितले कम्तिमा पनि ४ हप्ता आराम गर्नुपर्ने बताएका छन् । ‘हामीले उहाँलाई विश्वकप क्वालिफायर्समा खेलमा फर्काउने लक्ष्य सहित विशेष रिकोभरीको व्यवस्था गर्नेछौं । हेरौं उहाँको शरीरले ककिो छिटो रिकोभर गर्न सक्छ’, डाक्टर सिंहले भने ।

ललितको बलिङ आर्म सुरक्षित भएका कारण दायाँ पट्टी लागेको चोट रिकोभर गरि उनलाई मैदान फर्काउन डाक्टरहरुको विशेष प्रयास हुने उनले जानकारी दिएका हुन् ।

स्पिनमा सन्दीप लामीछानेसँग राम्रो सहकार्य गरिरहेका ललित टिममा नभएपछि त्यसको असर प्रदर्शनमा पर्ने छ ।

ललितको स्थानमा कसलाई प्रतिस्थापन गर्ने भन्ने निर्णय गरिनसकेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘म्यानेजमेन्ट टिमले केही छलफल गर्दै छ । निष्कर्ष निस्किएपछि हामी निर्णय गरेर जानकारी दिन्छौं’, उनले भने ।

यसअघि राष्ट्रिय टिमका कमल सिंह ऐरीको पनि खेलका क्रममा यसरी नै बायाँतर्फको क्लाभिकल फ्राक्चर भएको थियो ।

ललितले नेपालका लागि एसीसी प्रिमियर कप जिताउनका लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनल खेलमा यूएईविरुद्ध ४ विकेट लिएका थिए ।

ललितले २३ ओडीआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।

ललितले सन् २०२२ मा बी एन्ड बी अस्पतालमा बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गरेका थिए । त्यसको एक वर्षपछि नेपाली टोलीमा फर्किदै सानदार प्रदर्शन गरिरहेका उनले पुनः कम्तिमा पनि ४ हप्ता टिमबाट बाहिर बस्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?