+
+

संसारकै गहिरो भागमा भेटियो रहस्यमय भाइरस

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १४:१४

चिनिया वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा गहिरो भागमा भाइरस पत्ता लगाएका छन् । प्रशान्त महासागरस्थित मारियाना ट्रेन्चमा रहस्यमय भाइरस फेला परेको हो ।

उक्त खाडीको ८ हजार ९ सय मिटर अर्थात् २९ हजार १९९ फिट गहिराइमा भाइरस फेला पारेसँगै चिनिया वैज्ञानिकहरुले विश्मै सबैभन्दा गहिरो स्थानमा भाइरस पत्ता लगाउने कीर्तिमान बनाएका छन् ।

मारियाना ट्रेन्चमा भेटिएको उक्त भाइरसको नाम vB_HmeY_H4907 हो । मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भाग ३६ हजार फिट छ । तर सो भाइरस मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भाग भन्दा ६ हजार ८०१ फिट माथि फेला परेको हो ।

उक्त भाइरस जिवाणुभक्षी अर्थात् ब्याक्टेरियोफेज हो । यसले केवल ब्याक्टेरियालाई मात्र खाने गर्दछ ।

जिवाणुलाई खाएर उसका अंगहरुको सहारामा यो भाइरस आफूजस्तै ठूलो संख्याका नयाँ भाइरसमा विभाजित हुन्छ र आफ्नै प्रतिरुप तयार पारेर आफ्नो विस्तारलाई अघि बढाउँछ ।

यस भाइरसको बारेमा हालै माइक्रोबायोलोजी स्पेक्ट्रम जर्नलमा शोध प्रकाशित भएको छ । चिनिया सामुद्रिक विश्वविद्यालयका सामुद्रिक विषाणुविज्ञ मीन वाङका अनुसार आजसम्म यतिधेरै गहिरो, टाढा तथा शान्त ठाउँमा कुनैपनि भाइरसको खोजी भएको थिएन ।

यो भाइरसले हेलोमोनास फाइलमका ब्याक्टेरियालाई संक्रमित गराउँदछ । यसले ब्याक्टेरियाको जिनोममा आफ्ना जेनेटिक पदार्थहरु हालिदिन्छ र त्यसपछि आफूलाई रेप्लिकेट गर्दै नयाँ भाइरस बनाउँछ । यसलाई लाइसोजेनिक रेप्लिकेसन भनिन्छ । त्यहाँ यस्तो माहोल हुन्छ कि भाइरस र ब्याक्टेरिया दुबैले एक अर्कालाई मारेर वा प्रयोग गरेर आफ्नो कोलोनीलाई वृद्धि विस्तार गर्न सक्दछन् ।

हेलोमोनास फाइलमका ब्याक्टेरियाका संसारका सबै समुद्रमा पाइन्छन् । यो ब्याक्टेरिया अन्टार्कटिकामा समेत पाइएको छ । जब वैज्ञानिकहरुले vB_HmeY_H4907 भाइरसको जेनेटिक विश्लेषण गरे तब यो भाइरसका पनि विभिन्न खाले नश्ल तथा प्रजातिहरु रहको र त्यसले जसलाई पनि संक्रमित गर्नसक्ने तथ्य पत्ता लगाए ।

यो भाइरसले जुन ठाउँमा आफ्नो संख्या बढाइरहेको हुन्छ त्यसलाई हेडल जोन भनिन्छ । त्यो ठाउँमा बस्ने ब्याक्टेरिया तथा भाइरसहरु मानिसको पहुँचभन्दा यतिधेरै टाढा हुन्छन् कि ती ब्याक्टेरिया तथा भाइरसहरुलाई एलियन भन्न सकिन्छ । मानिसलाई यिनीहरुको बारेमा धेरै केही पनि थाहा छैन अझ भनौं यस्ता जीवहरुको अस्तित्वकै बारेमा थाहा हुँदैन धेरै हदसम्म ।

यो भाइरसले मानिसको शरीरमा आक्रमण गर्छ वा गर्दैन भन्ने बारेमा हालसम्म केहीपनि पत्ता लागेको छैन । यद्यपि यसका विभिन्न प्रजातिहरु रहेको भने पुष्टि भएको छ । त्यसैले यसले संक्रमण फैलाउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर यो भाइरस उसले संक्रमित गर्ने अर्को जीव अर्थात् होस्टसँग कसरी सम्पर्क स्थापित गर्दछ भन्ने पनि पत्ता लगाउन बाँकी छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?