+
+

ललितपुर नगर प्रहरीले फेरि बोक्न थाल्यो लठ्ठी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते २०:४७

७ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले ३ वर्षपछि फेरि लठ्ठी बोक्न थालेको छ । सीताराम हाछेथु प्रमुख बनेर आएपछि नगर प्रहरीले लठ्ठी बोक्न छाडेर नमस्कार गर्ने गरेको थियो ।

‘फुटपाथ पुलिस होइन, सिटी पुलिस हो’, भन्दै ललितपुर नगर प्रहरीले लौरो बोक्न छाडेको थियो । तर ३ वर्षपछि फेरि संविधान दिवसको अवसर पारेर महानगरले नगर प्रहरीहरुलाई हरियो छडी दिएको छ ।

‘हामीले नमस्ते गरेर सेवा गरिरहँदा केही स्थानीयले अटेर गरे, साँझ बिहान हाम्रै प्रहरीलाई असुरक्षाको आभास भएपछि आत्मसुरक्षाको लागि मात्रै छडी बोकेका हौं’, नगर प्रहरी प्रमुख हाछेथुले अनलाइनखबरसँग भने ।

नगर प्रहरीले छडी बोकेपनि जनतामाथि चलाउन नपाउने नियम रहेको उनी बताउँछन् । ‘यो हाम्रो नगर प्रहरीको ड्रेससँग मिल्दो छडी हो, यसलाई ड्रेस कोड नै भन्दा हुन्छ । यसले लौरोले जसरी जनतालाई तर्साउने काम गर्दैन । पुलिसले सानो छडी बोक्दा स्मार्ट नै देखिन्छ नि’, हाछेथुले भने ।

आत्मसुरक्षादेखि बस्तुभाउ धपाउनेसम्म

नगर प्रहरीलाई कतिपयले नराम्रो व्यवहार गर्ने गरेकाले छडी बोक्नुपरेको हाछेथुको स्पष्टीकरण छ । ‘प्रहरी भनेर हिँडिरहँदा प्रहरी जस्तो व्यवहार जनताले पनि गर्नुपर्छ, निहत्था जस्तो सोेचेर जनताले सम्मान गर्न छोडेपछि प्रहरीले आत्मविश्वास गुमाउँछ । हातमा लौरो भएपछि, परेमा भिड्छु भन्ने आत्मविश्वास प्रहरी जवानमा पनि हुन्छ, त्यसको लागि पनि छडी बोकेको हो’, उनले भने ।

बजार व्यवस्थापनका क्रममा नगर प्रहरीमाथि नै आक्रमणको सम्भावना बढेको हाछेथुको भनाइ छ । ‘कहिलेकाहीँ बजार व्यवस्थापनको क्रममा नगर प्रहरीमाथि नै हमला हुन सक्छ, यस्ता घटना भक्तपुरमा र काठमाडौंमा घटिसकेको छ । प्रहरीसँग छडी मात्रै हुँदा कम्तीमा सेल्फ डिफेन्स त गर्छ’, उनी भन्छन् ।

छडी बोक्न थाल्नुको अर्को कारण ललितपुरमा हुने मेला तथा जात्राको भिड नियन्त्रण पनि रहेको नगर प्रहरीको भनाइ छ ।

नगर प्रहरीहरुले ललितपुरमा हुने मेलामा हातले साङ्लो बनाएर भीड छेक्दै आएका छन् । महानगरकै कार्यक्रममा धेरै संख्यामा सर्वसाधारण सहभागी हुँदा पनि अब नगर प्रहरीले छडीको सहायताले रोक्न सक्ने उनले बताए ।

नगर प्रहरीहरुले रात्रीकालीन गस्ती गर्दा कुकुरले सताउने समस्या पनि भोगेका छन् । ‘३–४ जनाको समुह हुँदा त केही भएन, कहिलेकाहीँ राति अबेर एकदुई जना मात्रै नगर प्रहरी हिँड्दा कुकुरले दुख दिने गरेको छ । त्यसमाथि बर्दी लगाएको मान्छेलाई कुकुरले धेरै झम्टिन्छ, त्यस्तो अवस्थामा हातले मात्रै केही गर्न सकिन्न, सानो लौरो भने पनि चाहियो नि’, उनी भन्छन् ।

सडक र चोकमा भेटिने छाडा बस्तुभाउ धपाउने काम पनि नगर प्रहरीकै हो । त्यसको लागि पनि छडी आवश्यक परेको हाछेथुले बताए । उनले मदिरा सेवन गरेको व्यक्ति, महानगरसँग रिस उठेको व्यक्तिले बल प्रयोग गर्दा छेक्नुपर्ने आवश्यकता पनि देखिएको उनको भनाइ छ ।

‘हाम्रा प्रहरीहरुले कहिलेकाहीँ हातमा केही नहुँदा समस्या झेल्न थालेपछि महानगर प्रमुख चिरिबाबु महर्जनलाई अनुरोध गरेर छडी बोक्न थालेका हौं’, हाछेथुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?