+
+

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

हरि अधिकारी हरि अधिकारी
२०८० असोज ९ गते १९:४१

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् ।

२२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी रहेको स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बताए ।

कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ३२ जेठमा अध्यादेशबाट ल्याएको थियो । त्यसपछि १५ असारमा प्रदेशसभामा टेबल गरे पनि मुख्यमन्त्री कार्की विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

त्यसपछि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाले बजेट पारित गराउन कोशिस गरेका थिए । तर विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिले मतदान गरेको विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएपछि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकको प्रक्रिया नै सुरु गर्न पाएन ।

सरकारले कुनै अध्यादेश ल्याएपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर १० भदौमा ६० दिन पुगेर अध्यादेश निष्क्रिय भई कोशीमा बजेट शून्यताको स्थिति आएको थियो ।

२१ भदौमा सर्वोच्चले थापा पदमुक्त हुने फैसला गरेपछि २२ भदौमा कार्की पुनः मुख्यमन्त्री नियुक्त भए र सरकारले २४ भदौमा आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेको छ ।

स्वास्थ्यमन्त्री मेन्याङ्बोले राजनीतिक सहमतिका आधारमा बजेट अध्यादेश पास गरेपछि विश्वासको मत लिने सरकारको तयारी रहेको बताए ।

फेरि बजेट शून्यताको अवस्था आउन नदिन दलहरुबीच सहमतिका आधारमा बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

‘हाम्रो प्राथमिकता विश्वासको मत भन्दा पनि बजेटमा छ, बजेट उहिल्यै पास गुर्नपर्ने थियो, पास भएको छैन’, उनले भने, ‘सकेसम्म छिटो त्यसमा पनि राजनीतिक सहमति गरेर बजेट पास गर्ने पक्षमा छौं ।’

मन्त्री मेन्याङ्बोले अगाडि भने, ‘सबै दलको भावनालाई सम्बोधन गर्नेगरी प्रतिस्थापन विधेयक ल्याउने र सबैको सहमतिमा पास गर्ने कोशिसमा अहिलेको सरकार छ ।’ उनका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्ने उद्देश्यले प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अल्पमतको सरकारले ल्याउने बजेट स्वीकार नगर्ने बताए ।

‘अल्पमतको सरकारले बहुमतको प्रतिपक्षलाई शासन गर्नेगरी बजेट ल्याउनु कल्पना भन्दा बाहिरको कुरा हो’, उनले भने, ‘हिजो त्यो स्तरको असहयोग गरेपछि अहिले नै उहाँहरुले ल्याएको बजेट पास हुने कुनै पनि सम्भावना छैन ।’

उनले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र बजेट पारित गर्नु उचित हुने बताए । २४ भदौमा बजेट अध्यादेश ल्याएकाले ६० दिनसम्म बजेट शून्यताको स्थिति नआउने भन्दै उनले भने, ‘हिजोको जस्तो बजेट शून्यता आउने अवस्था छैन, अहिलेलाई खर्च गर्नका लागि बाटो खुलिसकेको छ, पहिला विश्वासको मत लिनुहोस्, त्यसपछि बजेट पास गर्नुहोस् ।’

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राई बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्न नसकिने बताउँछन् । कांग्रेस संसदीय दलको बैठक असोज १२ गते बस्ने बताउँदै उनले बैठकबाट थप निर्णय गरेर अघि बढ्ने बताए ।

९३ सदस्यीय प्रदेशसभाबाट कुनै प्रस्ताव पारित हुन कम्तीमा ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० प्रदेशसभा सदस्यमध्ये सिर्जना दनुवार उपसभामुख छिन् ।

त्यस्तै विगतमा एमालेसँगै सरकारमा रहेको र कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई साथ नदिएको राप्रपाको ६ जना छन् । एमाले र राप्रपाको समर्थनबाट मात्र पनि प्रदेशसभामा कुनै प्रस्ताव पारित हुने सम्भावना छैन ।

विपक्षमा रहेका कांग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाका एक जना प्रदेशसभा सदस्य छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?