+
+
डा.शेखर कोइरालासँग अन्तर्वार्ता :

‘देउवाले कुरा एउटा र काम अर्कै गर्नुभयो’

बसन्त बस्नेत लिलु डुम्रे बसन्त बस्नेत, लिलु डुम्रे
२०८० असोज १० गते २०:३३

नेपाली कांग्रेस संस्थापनइतरका नेता डा.शेखर कोइरालाले यस पटकको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्न आवश्यक नै ठानेनन् ।

सभापति शेरबहादुर देउवालाई उही कुरा कति पटक दोहोर्‍याउने भनी केन्द्रीय समितिमा विचार राखेनन् । सभापतिसँग नजिकिएको भन्दै आलोचना खेपेका डा.शेखरको पछिल्लो समय देउवासँग दूरी बढेको उनका अभिव्यक्तिले देखाउँछ । सम्मानजनक हिस्सेदारीको मुद्दालाई उनले जोडसँग उठाउन पनि थालेका छन् । महामन्त्री गगन थापासँगको सम्बन्ध प्रगाढ नै रहेको उनको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति तीव्र असन्तुष्ट रहेका डा.शेखरसँग कांग्रेसभित्रको राजनीति, शेखर-गगन सम्बन्ध, सरकारको प्रभावकारिता लगायत विषयमा अनलाइनखबरले गरेको संवाद ।

केन्द्रीय समिति बैठकमा यस पटक आफ्नो धारणा राख्न किन आवश्यक देख्नुभएन ?

अस्ति भर्खर दुई महिना अगाडि बोलेको हो । सधैं कति बोलिरहने लागेर यस पटक नबोलौं भनेर । साथीहरूले बोलिहाल्छन् । यही कुराहरू हुन् । नयाँ त्यस्तो केही डेभलपमेन्ट भइराखेको पनि देखिनँ भनेर मात्रै नबोलेको हुँ । त्यस्तो अरू केही होइन ।

बाहिर सार्वजनिक मञ्चमा जे बोल्नुहुन्छ, त्यही कुरा केन्द्रीय समितिमा किन नबोलेको भनी तपाईंमाथि अघिल्लो पटक प्रश्न उठेको थियो नि ?

हरेक सेन्ट्रल कमिटीमा बोलिराखेको छु । यही बैठकमा मात्रै नबोलेको हुँ ।

केन्द्रीय समिति बैठक यसपटक विधान अनुसार नै बस्यो । अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयन प्रति तपाईंको समीक्षा के छ ?

विधानको हिसाबले त सेन्ट्रल कमिटी बस्यो । केही कार्यक्रमहरू पनि भए, केही सरे पनि । त्यो कार्यक्रमको हिसाबले ठिकै देख्छु । तर, विधिसम्मत पार्टी हिंड्यो कि हिंडेन ? सभापति विधिसम्मत हिंड्नुभयो कि भएन ? भन्ने कुरा महत्वपूर्ण हो ।

केन्द्रीय सदस्य अहिले ८ जना मनोनित गर्नुभयो । त्यो विधानसम्मत भयो कि भएन ? विधानमा के भनेको छ भने तल्लो तहमा चुनाव लडेर पराजित भएको व्यक्ति माथिल्लो तहमा मनोनित गर्न पाइँदैन । सभापतिले मनोनित गरिदिनुभयो । कति भन्ने, कति विरोध गर्ने ! त्यो एउटा सीमा हुन्छ नि ! म त बोलेको पनि थिइनँ ।

तपाईं सभापतिसँग आजित हुनुभयो ?

आजित भनेर म भन्दिनँ । सभापति न्यायसंगत हिसाबले जानुपर्‍यो भन्ने मात्रै हो । मैले भागबन्डा पनि खोजेको छैन । यति प्रतिशत भनेर खोजेको पनि छैन । साथीहरू भन्छन्, ‘तिमी आफ्नो भागको प्रतिशत खोजिरहेका छौ, उहाँले दिनुभएको छैन ।’
पहिले शेरबहादुरजीले प्रतिशत खोज्नुभएको हो । गिरिजाबाबु र सुशील दाइसँग भाग खोज्नुभयो । रामचन्द्रजीले शेरबहादुरजीसँग भागबन्डाको लागि प्रतिशत खोज्नुभयो । म त प्रतिशत खोज्दिनँ, न्यायसंगत होस् न ! त्यति मात्रै मैले खोज्या हो ।

यही मुद्दा केन्द्रीय समिति बैठकमा किन नउठाउनुभएको ?

कति चोटि बोल्नु ? पछिल्लो बैठकमा बोलिसकें नि ! हरेक चोटि एउटै कुरा बोलिरहने ? म बोलेको रेकर्डेड छ त ! भनिरहेको छु, कतिपटक भन्नु ? हरेक २/२ महिनामा बैठक हुन्छ, भनिरहने ?

एउटा समूहको नेता तपाईं भएकाले अरू बोल्नु र तपाईं बोल्नुमा त्यसले अर्थ बढी राख्ने थियो होला नि ! होइन र ?

हरेक चोटि भन्दै जाऊँ, होइन !

असोज ३ गते सभापतिलाई भेट्नुभएको थियो । सभापतिले गरेका निर्णय प्रक्रिया बारे कुरा राख्नुभएन ?
सभापतिले जतिलाई मनोनित गर्नुभएको छ, उहाँहरू त्यसमा काबिल नै हुनुहुन्छ । त्यसमा कुनै शंका भएन । व्यक्तिको बारेमा कुरा भएन । असोज ४ अघि नै उहाँले विधानबाट नमिल्नेलाई मनोनित गरिसक्नुभएको थियो । त्यो कुरालाई उजागर गरिदिएको हो ।

३ असोजमा तपाईं सभापतिसँग अलि बढी नै आक्रामक हुनुभयो भन्ने बाहिर आएको थियो । त्यो बेला भएको के थियो ?

मेरो आक्रामक हुने बानी पनि छैन । सभापतिलाई तपाईंले न्यायसंगत गर्नुस् भनें । न्यायसंगत भनेको भागबन्डा दिनुस्, यो गर्नुस्, त्यो दिनुस् भनेर होइन । हाम्रो समूह त छ । समूहलाई त सभापतिले स्वीकार्नु पर्‍यो नि ! अर्को गु्रुपलाई पनि सभापतिले समावेश गरेर त लैजानु पर्‍यो नि !

नेविसंघमा पहिले साढे तीन सय बनाउने कुरा भएको थियो । अनि, पाँच सय बनाउने भन्नुभयो । हामीले हुन्छ भन्यौं । नामहरू निस्कियो । उहाँले सल्लाह नै नगरी सात सय बनाइदिनुभयो । त्यो न्यायसंगत भयो त ? सभापतिले कुरा एउटा गर्ने अनि काम अर्को गरिदिने ।

४० प्रतिशत शक्ति भएको तपाईंले आफ्नो अडान स्पष्ट राख्न नसक्दा नै यो अवस्था आएको भन्छन् नि ?

होइन, होइन । एउटा कुरा के बुझ्नुस् भने पार्टी कसले चलाउने हो ? सभापतिले । मेरो भनाइ न्यायसंगत गर्नुस् भन्ने मात्रै हो । गलत र झुटो आश्वासन मलाई नदिनुस् । त्यो स्वीकार्य हुँदैन नि !

मधेशमा एक जना मन्त्री र सुदूरपश्चिममा एउटा समितिको सभापति दिने आश्वासन दिएर देउवाले नदिएको भन्ने छ, त्यस्तो हो ?

अँ, त्यो पनि छ ।

आश्वासन दिएर देउवाले कार्यान्वयन नगरेपछि सभापतिसँग तपाईं टाढिएको टिप्पणी गर्नेहरू छन् । यो टिप्पणीप्रति तपाईंको भनाइ ?

टाढा र नजिकको कुरा होइन । अहिले पनि सभापतिले बोलाउनुभयो भने जान्छु नि ! नजाने त कुरा भएन नि ! पार्टीको सभापति त उहाँ नै हो नि ! स्वीकार्दिनँ भनेर म हिंड्दिनँ नि ! पार्टीको सभापति हो, इज्जत र सम्मान दिनुपर्दछ ।

मधेश र सुदूरपश्चिममा भएको चाहिं के थियो ? स्पष्ट भनिदिनु न ?

मैले भनें नि, न्यायसंगत हुनुपर्‍यो । कसलाई बनाउने सोधेपछि हामीले भन्ने हो । हुन्छ भन्नुहुन्छ अनि गरिदिनुहुन्न । किन नगरेको भनेर उहाँले जानकारी पनि दिनुहुन्न । एक्सप्लेन गर्न सक्नुपर्‍यो नि ! कि, मबाट गल्ती भयो भनी स्वीकार्नुपर्‍यो । अब हुँदैन भन्न सक्नुपर्‍यो । मैले जे गरें गरें भनेर आजकलको जमानामा मान्छेले स्वीकार्दैन नि !

कुन विकल्पमा गयो भने सभापतिलाई विधानसम्मत चलाउन सकिन्छ भन्ने तपाईंलाई लागेको छ ?

सभापति उहाँ भएकाले उहाँले सोच्नुपर्दछ । मैले सोचिदिने होइन । मेरो एउटै मात्रै चाहना छ, समयमा अधिवेशन होस् । २०८२ मंसिर भित्र महाधिवेशन हुनैपर्दछ । त्यो बेला (२०८२ मंसिरमा) महाधिवेशन भएन भने पार्टी अप्ठ्यारो परिस्थितिमा जान्छ । त्यसको लागि महामन्त्रीहरू पनि लाग्नुभएको छ । सभापति पनि लाग्नुभएको होला ।

कतिपय कुरामा विधानले उहाँले गर्नुपर्ने भनेरै अधिकार दिएको छ । तर, न्यायसंगत त गरिदिनुपर्‍यो नि ! पार्टी सबैको हो । गाउँमा बस्ने एउटा साथीको पनि त पार्टी हो नि !

सभापतिले अधिकारको प्रयोग गरेर निर्णय गर्ने भन्दा पनि उत्तराधिकारी अहिलेदेखि खोज्न लागेको जस्तो देखिन्छ । तपाईंहरूलाई नै रणनीतिक रूपमा प्रयोग गरेको सुनिन्छ, हो ?

शेखर कोइराला त्यस्तो कुरामा विश्वास गर्ने मान्छे होइन । म फस्ने मान्छे पनि होइन । मैले आफ्नो लिमिटेसनहरू धेरै बुझेको छु । कसैले बहकाएर बहकिने मान्छे पनि म होइन । यो कुरा सभापतिलाई थाहा छ ।

१३औं महाधिवेशनमा उहाँले मलाई महामन्त्री उठ भन्नुभएको थियो । मैले उठ्दिनँ भने । आफ्नो समूहबाट उठ भनेर मलाई धेरै सम्झाउनुभयो । मैले भने, ‘अहँ, कुनै बेला तपाईंसँग नै लड्नुपर्दछ । त्यसकारण उठ्दिनँ भनें ।’ कसैको बहकाउमा आएर मैले राजनीति गरेको पनि होइन, गर्ने पनि छैन ।

तपाईंले आफ्ना मान्यता राख्दै जाँदा एक्लै पर्ने अवस्था आउने त होइन ?

यत्रा कार्यकर्ता साथी छन् । माया गरेका छन् । म अहिले जे छु, कार्यकर्ताको बलले यहाँसम्म पुगेको छु । तपाईंहरू पनि खोजी-खोजी आउनुभएको छ । नत्र, किन खोज्नुपर्‍यो, भन्नु त !

कार्यकर्ता भेट्ने, गाउँ जाने गर्ने तर आफ्नै निकटस्थसँग जति छलफल गर्नुपर्ने हो त्यति गर्नुभएन भन्ने सुनिन्छ ?

होइन, छलफल गरेको छु । दिनदिनै छलफल गर्ने कुरा त हुँदैन न नि !

तपाईंले ४० प्रतिशतको शक्तिलाई ६०-७० प्रतिशत पुर्‍याउनुपर्ने कुरा गर्नुहुन्छ । तर, आफ्नो ४० प्रतिशतको शक्ति नै एकढिक्का राख्न नसकेपछि ६०-७० प्रतिशतको शक्ति कसरी बनाउन सक्नुहोला भन्ने आशंका छ । के भन्नुहुन्छ ?

आशंका गर्ने साथीहरू छैनन् भनेर म भन्दिनँ । हामीसँग ४० प्रतिशतको बल हो । जित्नको लागि ५० प्रतिशत प्लस चाहिन्छ । हाम्रा साथीहरूलाई इनट्याक्ट त राख्नै पर्छ । अरू साथीहरूलाई पनि ल्याउनु पर्‍यो । शेरबहादुरजीले पनि त्यही त गर्‍या हो ।

आफ्नो समूहको शक्ति बढाउन गर्नुभएको प्रयास असफल प्रयास थियो भन्छन् ?

अहिले असफल भएको म देख्दिनँ । अधिवेशनको सन्दर्भ हो भने अहिले धेरै छिटो हुन्छ । आफ्नो समूहका साथीहरूसँग निरनतर छलफल भइराखेकै छ । सबै कुरा समाचारबाट बाहिर आउनुपर्छ भन्ने पनि छैन ।

महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई बोलाएर छलफल गर्ने तपाईंको प्रयास असफल भयो नि ?

विश्व र प्रदीपजी दुवैलाई खबर गरेको हो । विश्वजीले पहिले ‘म शेखर डा.साबसँग कुरा गर्छु अनि मात्रै आउने/नआउने विचार गर्छु’ भन्नुभएको रहेछ । उहाँसँग मेरो कुरा भएको होइन ।

प्रदीपजीले मलाई नै फोन गरेर चीन जानु छ भन्नुभयो । आज नै चीन जान लागेकाले आउन सकिन भन्नुभयो । अरू मिटिङहरूमा म आउँछु भन्नुभएको छ ।

अब फेरि पनि बोलाउनुहुन्छ ?

यो क्रम जारी राख्छु । जति समेटियो, त्यति राम्रो हो नि ! अरू जति साथीहरू जो आउन चाहनुहुन्छ, बोलाउने हो ।

बाहिर विभिन्न आशंका सुनिन्छ, तपाईं र महामन्त्री गगन थापाको भित्री सम्बन्ध कस्तो छ अहिले ?

अहिलेसम्म भित्री सम्बन्ध एकदम राम्रो छ । हाम्रो भेटघाट भइराखेको छ । ३/४ दिन अघि पनि एक ठाउँमा हामी डिनर खाएर बसिराखेका थियौं । एजेण्डामा हामी दुईबीच कुनै फरक विचार छैन । तर गगनको कार्यशैली र मेरो फरक छ । त्यो हुन्छ नै ।

कार्यशैली एकअर्काको परिपूरक भयो भने त राम्रो हुने नै भयो Û परिपूरक नबनेर टकराव हुन थाल्यो भने… ?

कति ठाउँमा टकराउला । कति ठाउँमा चित्त नबुझेको पनि हुनसक्ला । हामीहरू खुला-खुला कुरा गरिरहेका हुन्छौं । कमि-कमजोरीका कुराहरू पनि राख्छौं । तपाईंहरूलाई के इम्प्रेसन परेको छ भने हामीहरू बीच दूरी बढेको छ । अहिले दूरी बढेको छैन ।

दूरी बढाउन वा अविश्वास पैदा गर्नमा तपाईंकै अभिव्यक्ति कारण रहृयो भन्ने छ । गगन मसँग सधैं रहिरहने भन्ने हुँदैन भनी तपाईंले बोलेपछि अविश्वास बढेको तपाईंकै समूहका नेताहरू भन्छन् नि ?

तपाईं अहिले दुई-अढाइ वर्षपछिको कुरा गर्दैर् हुनुहुन्छ । त्यो बेलासम्म देशको परिस्थिति कहाँ जान्छ ! कांग्रेसको परिस्थिति कहाँ जान्छ ! हामीहरू कसरी हिंड्छौं भन्ने पनि छ नि ! कुरा त आजसम्मको हो । आजसम्म गगनसँग सम्बन्ध राम्रो छ । भोलि पनि राम्रो बनाएर लिएर जान्छौं ।

मैले त्यसरी भनेको थिइनँ । पोलिटिकल सम्बन्ध गगनसँग राम्रो छ । छलफल, कुराकानी हामीहरू बीचमा हुन्छ । राम्रै कुराकानी भइराखेको छ ।

तपाईंको समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापालाई केही-केही विषयमा नसोधी निर्णय लिएको सुनिएको थियो, त्यस्तो हो ?

(उल्टै प्रश्न) के विषयमा ?

मन्त्री बनाउँदा ?

मन्त्रीको विषयमा यही कार्यालय (बालुवाटारस्थित शेखरको सम्पर्क कार्यालय) मा दुई घण्टा २/२ कप चिया पिएर, नास्ता खाएर गफ गरेका हौं ।

अनि भोलिपल्ट, सभापतिलाई मन्त्री बनाउनेको तिनै नामहरू दिएको हो । त्यही दिन मलाई सिंगापुर जानुथियो । यो-यो नामहरू दिएको भनेर उहाँलाई फोन गरिनँ । उहाँसँग जुन-जुन व्यक्तिको नाममा छलफल भएको थियो, दिएका नाम तिनै हुन् । उहाँले त्यसलाई खण्डन गरे न थाहा हुन्छ ।

त्योभन्दा अघि नामका बारेमा उहाँ र मेरो बीचमा केही फरक थियो होला । मेरो एउटा उहाँको अर्को भनाइ थियो होला । त्यसमा छलफल गर्दै गर्दै लगेर तीन वटा नाम आएको हो नि त !

बीपी साहित्य महोत्सवमा कोइराला परिवारका तीन सदस्यको अभिव्यक्ति सुन्दा तपाईंहरू एकठाउँमा आउने जस्तो देखिएन नि ?

त्यस्तो किन लागेन तपाईंहरू नै बताउनुस् न !

तपाईंहरू एकले अर्कालाई विश्वास नगरेको भाव बुझेर ?

हामी तीनै जना (शेखर, शशांक, सुजाता) एक लेभलमा पुगिसकेका छौं । अर्को लेभलमा जान खोजिरहेका छौं । आ-आफ्नो विचार लिएर हिंड्नु नेचुरल हो । त्यसलाई स्वाभाविक लिनुपर्छ । त्यसलाई तपाइर्ंहरू अस्वाभाविक तरिकाले सोचिरहनुभएको छ ।

सुजातालाई पनि इच्छा होला । शशांकलाई पनि इच्छा होला । मलाई पनि इच्छा छ । मिलाउने जिम्मेवारी त हामी तीनै जनाको होला । मेरो मात्रै जिम्मेवारी होइन होला !

दाजु भएको नाताले तपाईंको जिम्मेवारी अलि बढी होला कि ?

त्यो सोच्नुहुन्छ भने हो ।

सभापति देउवाले नजिक-टाढा गराउने रणनीतिले पनि यस्तो भएको हो कि ?

सबैले खेलिराखेको हुन्छ हेर्नुस् ।

कांग्रेसको जीवनमा यस्तो दिन पनि आयो, जहाँ देउवाले कोइराला परिवारमा खेल्ने दिन आयो, होइन ?

कोही खेल्न चाहन्छ भने के गर्ने त ? खेलाउने मान्छेले खेलाउन खोज्छ । तपाईं खेल्न जानुहुन्छ भने गयो त, त्यो त आफूले बुझ्ने हो नि ! म अरूको कुरा सुन्छु, तर गर्छु आफ्नो हिसाबले ।

शशांक कोइरालाले परिवार नै हामी मिलाउन सक्दैनौं भने पार्टी कसरी मिलाउँछौं भन्नुभयो । उहाँको बुझाइप्रति तपाईंको भनाइ ?

त्यसरी भन्नुभएको थिएन । १४औं महाधिवेशनको कुरालाई लिएर भन्नुभएको थियो । इच्छा थियो भन्नुभएको हो । इच्छा भएको भए प्रकट गर्नुपर्थ्यो । १३औं महाधिवेशनमा त मैले महामन्त्रीमा छोडिदिएको हुँ नि ! रामचन्द्रजीले तपाईं उठ्नुस् भनेर मलाई नै भन्नुभएको थियो । शेरबहादुरजीले भनेको त बेग्लै पार्ट भयो । शशांकले भनिसकेपछि ल तिमी उठ भनेर मैले भनेको हो ।

तपाईंको लागि केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष छ । त्यहाँ नेमप्लेटमा सधैं ‘शेखर कोइराला : बाहिर’ देखिन्छ । पार्टीको गतिविधि तथा नेता-कार्यकर्ता भेटघाट आफ्नै कक्षबाट नगर्नुभएको किन ?

तपाईंहरूले भनेको कुरा सही हो । जान चाहिं जान्छु । अलि कम भइराखेको छु । अलिकति बढाउने विचार गर्दर्ैछु । दिउँसो चाहिं जानैपर्ने सोचेको छु ।

सांसद भएपछि जानलाई अर्को अप्ठ्यारो पनि हुँदोरहेछ । संसद पनि छोड्न भएन । तपाईंहरूसँग अन्तर्वार्ता नै त्यहीं गरेको भए हुनेथियो ।

प्रधानमन्त्री प्रचण्डको धुवाँधार विरोध गरिरहनुभएको छ, प्रचण्ड सरकारकै विकल्प खोज्नुपर्दछ भनिरहनुभएको छ, किन ?

निर्वाचन प्रणाली नै यस्तो छ कि एकल पार्टीको बहुमत हुन सक्दैन । कांग्रेसले सपोर्ट गरेको यो सरकार हो । ठूलो दल भएकाले हामीहरूको नौ वटा मन्त्रालय पनि छ ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री नै ‘सबै’ हुन्छ । जसले जतिसुकै जे भने पनि म अरूको कुरा स्वीकार्ने पक्षमा छैन । प्रधानमन्त्रीले भनिसकेपछि मुख्य सचिवले खटाखट डिसिजन गर्दिनुहुन्छ । मन्त्रीहरूलाई थाहा पनि हुँदैन । कहीं विरोध गरे या उसले राजीनामा दिनुपर्दछ या चुप लागेर बस्नुपर्दछ ।

प्रधानमन्त्री नै अराजक भएर अगाडि आइरहनुभएको छ । मलाई त्यो चिन्ता लागेको हो । प्रधानमन्त्रीको अराजकताको नमूना एउटा मात्रै म भन्छु- ‘हामीलाई जिताऊ, हामी जातीय राज्य दिन्छौं’ भन्नुहुन्छ । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देश नेपाल हो । कुनै पनि जातजातिको बाहुल्य यहाँ छैन । माओवादीको धङधङी पनि होला । सशस्त्र द्वन्द्वको कालमा उहाँहरूले जातीय राज्यको कुरा भन्नुभएको थियो । त्यो युद्धको कुरा भयो ।

प्रधानमन्त्री हुँदा त उहाँ सबैको प्रधानमन्त्री हो नि ! अर्को ठाउँमा बोलिदिनुभयो- दुई लाख मान्छे सडकमा उतार्छु । देशको प्रधानमन्त्रीले केको लागि उतार्ने ? आफ्नै विरुद्ध ? उहाँको बोलीले राष्ट्रलाई गर्ने असर त बुझ्नु पर्‍यो नि ! सरकारमा कांग्रेस वा अरू दलका मन्त्रीहरू छन् भनेर प्रधानमन्त्रीले सोच्नु पर्‍यो नि !

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले यो सरकार अहिले नै ढल्नुपर्ने तर्क राख्दै आउनुभएको छ । तपाईंको पनि करिब-करिब उस्तै अभिव्यक्ति छ । ओलीसँग सल्लाह भएर यस्तो बोल्नुभएको हो कि ?

होइन, मेरो सल्लाह भएको छैन । केपी ओलीसँग मेरो भेटघाट र सल्लाहै भएको छैन ।

कांग्रेसका मन्त्रीहरूले जनचाहना अनुसार कार्य गर्न नसकेको प्रधानमन्त्रीको कारणले हो भन्ने तपाईंको निष्कर्ष हो ?

म त कहाँसम्म गइसकें भनें राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, धार्मिक, कूटनीतिक सबै अराजकतातिर गइरहेको छ । कुनै कुरा पनि ठीक छैन ।

यो ठीक गर्ने उपाय ?

प्रधानमन्त्री सच्चिएर काम गर्नुपर्‍यो । काण्डैकाण्ड आइरहेको छ । तार्किक निष्कर्षमा पुर्‍याउनुपर्‍यो नि Û कुनै इस्यू निष्कर्षमा पुगेको छ ?

कतिपय विषय त कांग्रेसकै कारणले तार्किक निष्कर्षमा पुग्न नसकेको भनाइ आएकै छ नि ?

जसले जे गरे पनि जुनसुकै इस्यू निष्कर्षमा पुर्‍याउनु पर्‍यो ।

आलोपालो प्रधानमन्त्रीको सहमति गर्नुभएको छ । तपाईंले भने अनुसार उहाँले छोड्नुहोला र ?

सच्चिनुहोस् । सच्चिए पनि हुन्छ नि त ! राम्रो काम गर्नुस् न ! अर्थतन्त्र कस्तो अवस्थामा छ ? धन्न, हाम्रा युवाहरू खाडीमा गएर हामीलाई बचाइराखेका छन् । नेपाललाई तिनीहरूले बचाइदिएका छन् नि !

आर्थिक वर्षको पहिलो महिना १ खर्ब १७ अर्ब रेमिट्यान्स त आयो । तर, नेपाललाई नोक्सान कति भयो भनेर हामीले हेर्‍यौं ? सामाजिक, आर्थिक, कृषि, शिक्षा सबैतिर हेरौं, जनशक्ति बाहिर जाँदा कस्तो असर पर्छ ।

प्रधानमन्त्रीको विकल्प र सच्चिनुमध्येमा तपाईंले प्रचण्डको कार्यशैली सच्चिनुपर्ने भन्ने हो ?

सच्चिनुपर्‍यो नत्र विकल्प त आफैं खुल्छ । मैले विकल्प खोज्ने हो र ! शिक्षक, डाक्टर आन्दोलन हेर्नुस् । धार्मिक, सांस्कृतिक हेर्नुस् । धरान र मलंगवामा कफ्र्यू किन लगाउनु पर्‍यो ? यो त सिरियस कुरा छ नि ! जातीय द्वन्द्वतिर देश गइरहेको छ कि छैन ? म यो कुरा एक-दुई महिना अघिदेखि बोल्दै आएको थिएँ । केही दिनअघि राज्य व्यवस्था समितिमा सुरक्षा निकायका व्यक्तिहरू नै बोल्नुभयो । कोशी प्रदेश एकदमै अप्ठ्यारो परिस्थितिमा छ । जातीय द्वन्द्वको कुरा उहाँहरूले गर्नुभएको छ ।

माओवादी नेतृत्वको सरकारलाई अब बोक्न सकिन्न भनेर यिनै कुरा सभापतिसँग गर्नुभएको छ ?

सरसर्ती कुराहरू भएको छ । तर, डेप्थमा गएर कुरा भएको छैन । उहाँको सुन्ने धैर्य पनि हुनुपर्‍यो नि ! अप्ठ्याराहरू के के छन् सुन्ने धैर्य सभापतिमा हुनुपर्‍यो नि ! कोशीमा सरकारको दावी नगरौं भनें । यो नगर्नुस् गलत हुँदैछ भनें ।

सभापतिको सुन्ने धैर्य छैन ?

आखिर सर्वोच्च अदालतले कोशी सरकार हटाइदियो त ! सभापतिले बोलाउनुभयो गएर भनें पनि । होइन, होइन सरकार हाम्रो बन्छ भन्नुभयो । सरकार चाहिन्छ तर सबै कुरा सरकार त होइन नि ! गलत तरिकाले सरकार बनाउन थाल्नुभयो भने के अवस्था हुन्छ ? त्यो पनि सोच्नुपर्‍यो नि !

कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापाले हाम्रै शीर्ष तहका नेताले कुरा बुझेनन्, संविधान बुझेनन्, राजनीतिक निर्णय बुझेनन् भन्नुभएको छ नि ?

म संविधानको ज्ञाता होइन । संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई दिएको छ । अरू म केही जान्दिनँ । उहाँले बोल्नुभयो, बोल्न दिनुस् । सर्वोच्चले निर्णय दिइसकेपछि किन बहस गर्नु ?

कोशीका भावी दिन कस्तो देख्नुभएको छ ?

एमालेको सरकारलाई पनि त्यहाँ बहुमत आउँला जस्तो म देख्दिनँ । किन मन्त्री थप्न खोज्नुभएको हो, मैले बुझेको छैन । अब संविधानको १६८ (५) मा जान्छ । त्यो धारामा गएपछि व्यक्तिले बहुमतको आधार दिनुपर्‍यो ।

मध्यावधिमा जाने आकलन कतिपय गर्छन् । मध्यावधिमा जाने देख्नुहुन्छ ?

मध्यावधिमा जाने मलाई किन लाग्दैन भने राजनीतिक दलहरू नै मध्यावधि चाहँदैनन् । राजनीतिमा चुनावसँग डराउनुहुँदैन । कांग्रेस डराएको त छैन । तर, मध्यावधिमा जान नहुनेमा सबै दलहरू छन् ।

तपाईंले नै केही दिन पहिले मध्यावधिमा कोशी प्रदेश गए/जाओस् भन्नुभएको थियो नि ?

केही उपाय छैन भने त मध्यावधिमा जान्छ नि ! तर, पार्टीहरू जान चाहँदैनन् ।

कांग्रेसको संसदीय दलको नेता परिवर्तन गरे विकल्प आउँछ भन्ने कतिपय छन् । त्यस्तो हुन सक्ला र ?

अब त संसदीय दलको नेता फेर्ने कुरा भएन । कुनै पनि व्यक्तिले बहुमत पुर्‍याउन सक्छ । त्यो धारामा हृवीप लाग्दैन भन्ने नजिर बसिसक्या छ । पार्टीले हृवीप लाग्छ भनेर भएन नि ! व्याख्या गर्ने त सर्वोच्च अदालत हो ।

व्यक्तिले बहुमत सिद्ध गरेर सरकार बनाउने अवस्था हुँदा कांग्रेसबाट नै मुख्यमन्त्री हुने सम्भावना कति छ ?

हामी कोसिस गर्दैछौं । जो पनि बन्न सक्छ ।

तस्विर/भिडियोः शंकर गिरी

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?