+
+

एमाले कर्णाली अधिवेशन : जुट है अब त, हाम्रा पैसा सकिगया

यज्ञ खत्री यज्ञ खत्री
२०८० असोज ११ गते २१:३३

जुट है अब त, हाम्रा पैसा सकिगया
दर्शन हैं सवत, नमस्कार छ तमकेडतन ।

हाड मासु गलियो, जुट्टाइनौ कि भनिकन
ठूलो रुख ढलिगो, सूर्यले डढाइलो क्यारम ।

हरेला उछिना, उही जुटिना, उहस् छुटिना
केही भयानन् काम, भाषण मात्रै सीमित भया ।

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन बुधबार सुर्खेतको वीरेन्द्रनगर सिटी हलमा सुरु भएको छ । अधिवेशको दोस्रो दिन बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने कार्यतालिका रहेको थियो ।

तर नेतृत्वको समति जुटाउन भन्दै बिहानदेखि एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेपनि बेलुका पाँच बजेसम्म सहमति जुट्न सकेन । बन्द सत्र सुरु हुने भन्दै बिहानैदेखि सिटी हल आएका अधिवेशन प्रतिनिधिहरु भने अत्तालिएका थिए ।

पार्टी महासचिव शंकर पोखरेलले नेताहरुलाई सहमतिको प्रयास गर्ने काम भइरहेको भन्दै बिहानैदेखि नेताहरु सिद्धार्थ होटलमा केन्द्रित थिए । प्रदेशका १० वटै जिल्लाबाट आएका प्रतिनिधिहरु सिटी हलभित्र फुर्सदिला थिए ।

बन्द सत्र ६ घण्टासम्म पनि सुरु नभएपछि प्रतिनिधिहरु फोटो खिच्ने, विभिन्न समूह बनाएर नयाँ नेतृत्वको आँकलन गर्दै बसिरहेका देखिन्थे । मनोरञ्जन गरिरहेका केही प्रतिनिधिले गीतबाट नेताहरुलाई बन्द शत्र सुरु गर्न आग्रह गरेका थिए । मनोरञ्जनका क्रममा देउडा गीत प्रस्तुत गर्दै जुम्लाकी प्रतिनिधि सत्य बुढाले ‘जुट है अब त, हाम्रा पैशा सकिगया’ भन्दै नेताहरुलाई बन्द सत्र शुरु गर्न आग्रह गरेकी थिइन् ।

जिल्लाबाट आएका प्रतिनिधिहरुले सहमतिका नाममा गोप्य छलफल गर्ने नेताहरुको काम राम्रो नभएको भन्दै आलोचना गरेका थिए । ‘नेताहरु आफू कता लुक्या हामीकन हलभित्त बस भन्या । दुई दिनका लागि ल्याएको खर्च सकिन लाग्यो । कार्यक्रम लम्ब्याउने भएका छन्’ कालीकोटबाट आएकी प्रतिनिधि डल्ली शाहीले भनिन् ।

जुटेन सहमति, फर्किए महासचिव

अधिवेशनको उद्घाटन सत्रका लागि बुधबार सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेल प्रदेश नेतृत्वमा सहमति जुटाउन भन्दै वीरेन्द्रनगरमै बसेका थिए । संगै आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेलको जिम्मा लगाउँदै बुधबार नै काठमाडौं फर्किएका थिए ।

महासचिव पोखरेलले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरस्थित सिद्धार्थ होटेलमा सर्वसम्मत नेतृत्व चुन्नका लागि नेताहरुसँग छलफल गरेका थिए । एकल र सामूहिक छलफल गर्दा पनि आकांक्षीहरु टस कि मस नभएपछि सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न सकेन ।

‘केन्द्रीय नेतृत्वले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएको छ । महासचिव कमरेडले पनि आज दिनभर सहमतिको प्रयास गर्नुभयो । तर सक्नु भएन’, एमालेका एक केन्द्रीय सदस्यले भने ।

सहमति जुट्न नसकेपछि प्रदेश इन्चार्ज लेखराज भट्टलाई सर्वसम्मतिको निर्देशन दिएर महासचिव पोखरेल बिहीबार दिउँसो सुर्खेतबाट काठमाडौं फर्किएका छन् । बन्द सत्रमा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यतालिका थियो तर समयमै बन्द सत्र सुरु नभएपछि पोखरेल फर्किए ।

अधिवेशनको बन्दसत्र तोकिएको समयभन्दा नौ घण्टा ढिला गरी बिहीबार बेलुका ५ बजेमात्र सुरु भयो । बन्दसत्रमा प्रदेश अध्यक्ष विनोदकुमार शाहले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए । ‘अहिलेसम्म नेतृत्व चएनबारे कुनैपनि सहमति जुट्न सकेको छैन । निर्वाचन भएपनि, सहमति भएपनि भोलि–पर्सिसम्म टुंगो लाग्ला’, एक नेताले भने ।

बन्द सत्रबाट पार्टी सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको छ । अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यहरू यमलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्यूरो सदस्य मोहन बानियाँ, भैरबसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही (नेशनल), चन्द्रबहादुर विक, मोहनमाया ढकाल छन् ।

अध्यक्षमा गुलाबजंग र मीनबहादुर भिड्दै

एमाले प्रदेशको नयाँ नेतृत्वका लागि पार्टी स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल र गोरख बोगटीले छुट्टाछुट्टै समूह निर्माण गरिरहेका छन् ।

कँडेल समूहबाट अध्यक्षमा पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह (सल्यान), उपाध्यक्षमा टेकराज पछाई (जुम्ला), सचिवमा ध्रुवकुमार शाही (सुर्खेत) दुई उपसचिवमा रवीन्द्रराज शर्मा (दैलेख) र जीतबहादुर मल्ल (मुगु) टुंगो लागेको स्रोतको दाबी छ ।

त्यस्तै अर्का स्थायी कमिटी सदस्य बोगटीको समूहबाट अध्यक्षमा मीनबहादुर शाही (कालीकोट) उपाध्यक्षमा लालबहादुर महतारा (जाजरकोट), सचिवमा डण्डीप्रसाद शर्मा (सुर्खेत), उपसचिवमा रुद्र शाही (दैलेख) नाम टुंगिएको स्रोतको दाबी छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?