+
+

भैरहवा विमानस्थल जग्गा प्रकरण : रुपन्देही प्रशासनले थाल्यो छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:५६

१२ असोज, बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ ।

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र अनुसन्धान गरिरहेको र आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको बताए ।

‘मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएका छौं’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘जग्गासम्बन्धी सबै कागजात र प्रमाणसहित आइतबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएका छौं ।’

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन रहेकोमा हदन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।

निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबीच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार सावित भएका थिए ।

रमाकान्तका नातेदार सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले ७ कित्तामा रहेको ४ बिघा १७ कठ्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो । आफ्नो नाममा आएको जमिन पर्वतराजकान्तले विभिन्न मितिमा बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन विमानस्थल निर्माण हुँदा अधिग्रहणमा परेपछि मुआब्जा लिएका थिए ।

विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग भने कुनै परामर्श नलिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?