+
+

एसियाडको सातौं दिन पब्जीमा आशा, अन्य खेलमा निराशा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १२ गते १८:५९

१२ असोज, हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडमा शुक्रबार नेपालको पब्जी टिम सेमिफाइनलमा प्रवेश गरेको छ । अन्य खेलमा भने नेपालको प्रदर्शन निराशाजनक रह्यो ।

इस्पोर्ट्स अन्तर्गत शुक्रबार पब्जी खेलमा सेमिफाइनल पुग्दा अरु सबै खेलमा नेपाल पराजित भयो । पदकको आशा गरिएको बक्सिङमा पनि हारको शृखंला रोकिएन ।

अघिल्लो दिन ब्याडमिन्टनमा जित हात पारेको पुरुष ब्याडमिन्टन टिम पनि शुक्रबार पराजित भयो । हान्झाउ एसियाडमा सातौं दिन सकिँदा सम्म नेपालले कुनै पदक जित्न सकेको छैन । पदकको त टाढाकै विषय बनिसक्यो कि नेपाल त्यसको छेउछाउ समेत पुग्न सकेको छैन ।

आयोजक चीनले स्वर्णमै शतक हानिसक्दा अर्को छिमेकी भारत समेत ८ स्वर्ण जितेर चौथो स्थानमा रहँदा नेपालले भने पदक नै कहिले जित्ला भनेर प्रतिक्षा गर्नुपर्ने अवस्था आएको छ ।

नेपाली पब्जी टोली सेमिफाइनलमा

१९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

अन्य सामान्य गेम भन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरियो ।

यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुनेमध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै शुक्रबारै भएको एलिमिनेसन अन्तर्गत समूह ए बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अब यी आठ टोलीलाई सेमिफाइनलमा चार-चार टोलीको दुई समूहमा विधाजन गरेर खेलाइनेछ । सेमिफाइनलमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई-दुई टोली फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टोलीले पदक पक्का गर्नेछन् ।

नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहेमा पदक पक्का गर्नेछ ।

ब्याडमिन्टनमा पुरुष टोली पराजित

१९औं एसियाड अन्तर्गत ब्याटमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो खेलमा मंगोलियालाई पराजित गरेको नेपालको पुरुष टिम क्वाटरफाइनलमा भारतसँग ३-० ले पराजित भएको हो ।

नेपालमा प्रिन्स दाहाल भारतका लक्ष सेनसँग २१-५, २१-८ ले पराजित भए । यस्तै सुनिल जोशी श्रीकान्त नाममालवार किदम्बीसँग २१-४, २१-१३ ले पराजित भए भने विष्णु कटुवाल मिथुन मानजुनाथसँग २१-७, २१-७ ले पराजित भए ।

एथ्लेटिक्स

१९औं एसियाडमा शुक्रबारदेखि एथ्लेटिक्सतर्फ नेपालको खेलाडीको स्पर्धा सुरु भएको छ । महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठ र पुरुष ४०० मिटरमा सोमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । तर दुवैले राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।

महिला १० हजार मिटरमा सन्तोषीले निर्धारित दूरी ३८ मिनेट ४०.१५ सेकेण्डमा पूरा गरिन् ।

पुरुष ४०० मिटरमा नेपालका सोमबहादुर कुमार हिट चरणबाटै बाहिरिए । हिट २ मा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ४८.६८ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा ७ मध्ये पाँचौमा रहे । राष्ट्रिय कीर्तिमानको अपेक्षा रखेपनि पूरा गर्न सकेनन् । पुरुष ४०० मिटरमा आशाराम चौधरीले १९९० मा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

गत जुनमा थाइल्याण्डमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोम त्यसको नजिक पुगेपनि थोरैले चुकेका थिए । त्यसबेला उनले ४८.३३ सेकेण्ड समय निकालेका थिए ।

 बक्सिङमा चन्द्रकला पराजित

१९औं एसियाड अन्तर्गत बक्सिङमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भएकी छन् ।

हान्झाउ जिम्नयासियममा भएको महिला ५७ केजीमुनी तौल समूहको अन्तिम १६ को खेलमा चन्द्रकला पोर्नतिप बुपासँग ५-० ले पराजित भइन् ।

१९औं एसियाडमा पदक जित्ने सबैभन्दा बढी अपेक्षासहित प्राथमिकतामा रहेको बक्सिङले निराशाजनक प्रदर्शन निरन्तरता दिएको छ । जसले गर्दा नेपालले बक्सिङबाट पदक जित्ने सम्भावना न्युन छ ।

पदकको अपेक्षा गरिएको सुष्मा तामाङसहित अहिलेसम्म नेपालका १२ खेलाडी पराजित भइसकेका छन् । त्यसमध्ये रविन थापाले एक बाट जितेपनि अर्को खेलमा पराजित भए ।

अब बक्सिङमा नेपालका सरस्वती राना मगरले शनिबार महिला ७५ केजीमुनी तौल समूहमा क्वाटरफाइनलमा दिएम क्युन लुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

ह्यान्डबलमा लगातार तेस्रो हार

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ ।

जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो ।

अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन ।

यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० र दोस्रो खेलमा जापानसँग ६२-१० ले पराजित भएको थियो । अब समूहको अन्तिम खेलमा नेपालले शनिवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित

१९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ ।

दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाएपनि कुनै पनि खेल जित्न सकेन ।

देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा नेपालच इनिज ताइपेईसँग  २२-२ ले सहजै पराजित भयो । नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो । नेपालका लागि कप्तान श्रेषा खड्का र मिना गुरुङले १-१ स्कोर गरे ।

यसअघि नै जापान र कजाखस्थानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो खेलमा कजाखस्थानसँग १७-१० ले पराजित भएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा नेपालको महिला बास्केटबल टिमले फुल कोर्टमा खेल्दै एसियाडमा डेब्यु गरेको थियो । त्यसपछि २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा भने नेपालको पुरुष र महिला दुवैमा थ्री बाई थ्री टिम सहभागि थिए । यस पटक भने नेपालबाट महिला थ्री बाई थ्री टोली मात्र हान्झाउ एसियाडमा सहभागि भएका थिए ।

पौडीमा सबै खेलाडी हिटबाटै बाहिरिए

१९औं एसियाड अन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन शुक्रबार हिट चरणबाटै बाहिरिएका छन् ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा शुक्रबार भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएङ्का हुन् ।

हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए ।

समग्रमा भने नासिर २५ खेलाडीमा २२औ स्थानमा रहे । यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि नासिर हिट चरणबाटै बाहिरिएका थिए ।

नासिरको प्रतिस्पर्धापछि १९औं एसियाडमा पौडीमा नेपालको चुनौती सकिएको छ । नेपालका चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेकोमा कसैले पनि हिट चरण पार गर्न सकेनन् । पुरुषतर्फ एलेक्स शाहले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकोमा हिट चरणबाटै बाहिरिए ।

यस्तै महिलातर्फ डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् भने अनुशिया तन्डुकारले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

 ट्रायथलन मौलिकले रेस पूरा गर्न सकेनन्

ट्रायथलन अन्तर्गत पुरुष व्यक्तिगतमा नेपालका मौलिक महर्जनले रेस पूरा गर्न सकेनन् । चुनान जिएशोउ स्पोर्ट्स सेन्टर ट्रायथलन कवर्समा भएको प्रतिस्पर्धामा मौलिकले ल्याप खाएपछि बाहिरिएका थिए ।

यस इभेन्टमा जापानका नेनेर केन्जीले स्वर्ण तथा जापानकै ओडाकुरा माकोतोले रजत जितेका छन् भने कजाखस्थानका बेइसेनबायभ आएनले कास्य जिते ।

गल्फमा नेपालको कमजोर प्रदर्शन

१९औं एसियाड अन्तर्गत गल्फमा शुक्रबार नेपालको  प्रदर्शन कमजोर बनेको छ । पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष ब्यक्तिगत स्पर्धामा शुक्रबहादुर राई बाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सकेनन् ।

दोस्रो दिन तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ । पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए । उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

यस्तै नेपालले पदकको आशा गरेको सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन । समग्रमा इभनपार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन् । अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिए ।

नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले ।

दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ३ र सुस्माले १६ ओभर ८ खेलेका थिए । नेपाल महिला टिम स्पर्धामा १३औं भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पारेको हो ।

एसियाड गल्फको पुरुषतर्फ हङकङका कहो ताईची कूल २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्षस्थानमा छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?