+
+

अमेरिकामा मनकारी नेपाली

हरि गौतम हरि गौतम
२०८० असोज १५ गते १०:१६
अमेरिकामा मृत्यु भएका रूकुम पश्चिमका प्रदीप खड्काकी श्रीमती धनमायालाई गो फण्डमार्फत नेपालीहरुले संकलन गरेको रकम हस्तान्तरण गरिँदै ।

टेक्सास (अमेरिका) । अमेरिकामा राम क्षेत्रीमाथि बन्दुकधारीले आक्रमण गरे । टेक्सासको अस्टिनस्थित एक ग्याँस स्टेशनमा काम गरिरहेका उनको खुट्टामा गोली लाग्यो ।

रुकुम पूर्वका क्षेत्रीको मुस्किलले उपचार भयो तर सजिलै हिँडडुल गर्न नसक्ने भए । क्षेत्रीले काम गर्न त सक्ने भएनन् नै उपचार र खान बस्न समस्या पर्यो । विदेशको ठाउँ खान–बस्न समस्या भएपछि नेपालीहरुले उनलाई सहयोग जुटाइदिए ।

प्रविन पुन अघि सरेर ‘गो फण्ड मी’ मार्फत १४४ जना नेपालीले झण्डै १७ लाख नेपाली रुपैयाँ सहयोग जुटाइदिए । यसैबाट क्षेत्रीलाई उपचार र खान बस्न केही हदसम्म सहज भयो । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका क्षेत्रीलाई नेपालीले मन फुकाएर सहयोग गरे ।

अहिले क्षेत्री पुरानै लयमा फर्किसकेका छन् । ‘विदेशको ठाउँ नेपालीको सहायताले बाँच्न सजिलो भयो,’ क्षेत्रीले भने, ‘जहाँ भए पनि मन भएका नेपाली छन् ।’

पनामाको समुद्रमा डुंगा दुर्घटनामा परेर मृत्यु भएका प्युठानका काले गिरीका परिवारलाई २० लाख ७५ हजार र सुतेकै अवस्थामा मृत्यु भएका लजिम बुढाको परिवारलाई १५ लाख रुपैयाँ सहयोग पनि यही गो फण्ड मी मार्फत् संकलन गरिएको थियो ।

रुकुम पश्चिमकी धनमाया खत्रीका श्रीमान प्रदीपको अमेरिका आउने क्रममा बाटोमै डुंगा दुर्घटना भई मृत्यु भएपछि अमेरिकामा बस्ने टीकाराम पुन र विनोद केसीले गो फण्डमार्फत् २१ लाख बढी सहयोग जुटाएका थिए ।

श्रीमती, छोरा, छोरीको लालनपालन र लागेको ऋण तिर्न सहयोग होस् भनेर नेपालीहरुबाटै सहयोग संकलन गरेर मृतक प्रदीपको परिवारसम्म पठाइएको टीकारामले बताए । ‘समस्या दर्शाएपछि नेपाली दाजुभाइले होस्टेमा हैँसे गर्नुभयो, गएको ज्यान त फर्केर आउँदैन तर केही भए पनि परिवारलाई राहत मिलोस् भनेर हामीले सहयोग जुटाएका हौं,’ टीकारामले भने । यो अभियानमा अमेरिकामा रहेका १७० जना नेपाली जोडिएर सहयोग गरेका थिए भने केही सहयोग बाहिरबाट पनि संकलन भएको टीकारामले जानकारी दिए ।

रुकुम बाँफिकोट गाउँपालिका घर भई टेक्सासमा बस्ने गोर्ख कुसारी व्यक्तिगत रुपमा गो फण्ड मी मार्फत् आफूले ३० लाख बढी सहयोग गरेको बताउँछन् । सडक र खेल मैदान निर्माण, विरामीको उपचार तथा विद्यालयमा समेत गरेर ३० लाख बढी सहयोग गरेको कुसारी बताउँछन् । कतिपय साना सहयोगको हिसाब नराखेको भन्दै उनले भने, ‘मोटो रकम हिसाब गर्दा ३० लाख बढी सहयोग गरियो होला ।’

रामायणका श्लोक वाचन गरेर चर्चित भएकी सरु गुरागाईंको उपचारका लागि पनि नेपालीहरुले मन फुकाएर सहयोग गरेको पछिल्लो उदाहरण छ । उनका पति मुरारी गुरागाईंले सहयोग गर्न आह्वान गरेपछि नेपालीहरुले सहयोग गरेका थिए ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई अमेरिकामा क्रिकेट खेलाउनका लागि भनेर पनि नेपालीहरुले गो फण्डमार्फत् सहयोग संकलन गरेका थिए । डल्लास टिएक्समा नर्थ टेक्सास क्रिकेट एशोसिएसन (एनटीकेए)ले आयोजना गरेको क्रिकेट प्रतियोगितामा पारसलाई पनि सहभागी गराउन र उनका लागि खाने–बस्ने, आउने–जाने खर्च जुटाउन भन्दै राकेश कर्णले सहयोग संकलन अभियान चलाएका थिए ।

सन् २०१७ मा नेपालमा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको बेलामा होस् या रुकुम पश्चिमको सोती घटनाको बेला होस् नेपालीहरुले गो फण्डमार्फत् रकम संकलन गरेर पीडित समक्ष पुर्याएका थिए ।

यी व्यक्ति र सहयोग संकलनका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । अमेरिकाका विभिन्न राज्यमा बस्ने अधिकांश नेपालीहरु गो फण्डको प्लाटफर्ममार्फत् एकअर्कालाई परेको समस्या समाधानका लागि सहयोग अभियानमा जोडिरहेका छन् । अमेरिकामा विरामी परेका, दुर्घटनामा परेका, एक्कासी मृत्यु भएपछि शव नेपाल पठाउनु परेका वा अमेरिकामै अन्तिम संस्कार गर्नु पर्दा पनि आवश्यक परेका बेला नेपालीहरुले हातेमालो गर्दै आएका छन् ।

अमेरिकामा संकलित रकम गोली लागेर घाइते भएका रुकुम पूर्वका राम क्षेत्रीलाई हस्तान्तरण गर्दै प्रविन पुन ।

नेपालीहरुलाई आपत् विपद पर्दा सहयोग जुटाउन अघि सर्ने प्रविन पुन नेपाल र नेपालीप्रतिको अगाध मायाका कारण सहयोग गर्न नेपालीहरु अघि सर्ने गरेको बताउँछन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर मोहन कुसारी भन्छन्, ‘हामी नेपालीहरु कतै न कतै जोडिइरहेका हुन्छौं, नेपाली पन, नेपाली मनको खास एकत्व यहाँ देखिन्छ ।’ जसले सहयोगको खाँचो देख्छ उसैले सहयोग संकलन थाल्ने र त्यसमा अरुहरु जोडिने गरेको उनले बताए ।

अनौपचारिक रुपमा सहयोग उठ्ने र वितरण हुने भएकाले कति सहयोग रकम उठ्छ भन्ने एकीन विवरण भने कसैसित छैन । ‘प्रत्येक शीर्षक अनुसारको जम्मा रकम वा सहयोग त हुने भयो तर समग्रमा भने त्यस्तो देखिने मेकानिजम छैन,’ कुसारी भन्छन् । भर्खर निर्वाचित एनआरएनको नयाँ समितिले यो लगायत अरु विभिन्न विवरण संकलन र अध्यावधिक गर्ने कार्यलाई प्राथमिकतामा राखेकाले कार्यसम्पादन र तथ्य, तथ्यांक राख्न सजिलो हुने आशा गरिएको कुसारीले बताए ।

हाल अमेरिकामा वैधानिक र अवैधानिक गरी ५ लाख जनि नेपालीहरु रहेको अनुमान गरिए पनि ठ्याक्कै तथ्यांक भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?