+
+

५८ वर्षको भयो नेपाली फिल्म क्षेत्र, आजकै दिन रिलिज भएको थियो ‘आमा’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १२:५६

काठमाडौं । नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो ।

चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो ।

हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’को छायांकन नेपालमा भएको थियो भने प्राविधिक काम भारतमा भएको थियो । फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका छ । यो फिल्मको निर्माण सरकारको प्रसार विभागले बनाएको थियो ।

तत्कालीन राजा महेन्द्रको आग्रहमा भारतीय फिल्ममा काम गरिरहेका निर्देशक खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि यो फिल्मको निर्माण गरेको इतिहासकार बताउँछन् ।

प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यो फिल्ममा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन् । चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिए ।

यो फिल्मको छायांकन चार महिनाको समयावधिमा पूरा गरिएको थियो । पोस्ट–प्रोडक्सनलाई भारतको कोलकातामा ६ महिनामा पूरा गरिएको थियो ।  धेरैजसो दृश्य एकैचोटि छायांकन गरिएको थियो । भुवन चन्दलाई यस फिल्ममा अभिनय गराउन हजार रुपैयाँ ज्यालाको रूपमा दिइएको थियो ।

चलचित्र विकास बोर्ड र निर्देशक समाजले असोज १५ गतेलाई आमाको प्रदर्शन मितिको रुपमा उल्लेख गरेका छन् । तर विकिपेडिया लगायतमा भने असोज २२ को मिति लेखिएको छ ।

‘सत्य हरिश्चन्द्र’ २००६ सालमा रिलिज भएको थियो । तर निर्देशकदेखि प्राविधिकसम्म भारतीय भएकाले यसलाई नेपालमा निर्माण भएको मान्न नहुने तर्क बोर्डको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?