+
+

केही तन्नेरी जसले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १४:२६

काठमाडौं । तन्नेरी पुस्ताको दमदार प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ सुरु भएको छ । पछिल्लो सप्ताहन्त गाइएका आवाज सुन्दा नेपाली संगीत समावेशी र उज्वल भविष्यको बाटोतर्फ अघि बढेको देखिन्छ ।

शुक्रबार र शनिबार भ्वाइसका दुई एपिसोड प्रसारण भए । ब्लाइन्ड अडिसनमा देखिएको यो रोचकता आगामी एपिसोडमा अझै बढ्ने देखिन्छ । खोटाङकी प्रगति राई हुन् या गर्ल्स ब्यान्ड ‘फाइथोम’, पछिल्ला दुई एपिसोडमा महिला दबदबा स्पष्ट देखियो ।

विभिन्न पेशा व्यवसायमा आबद्ध महिलादेखि ब्यान्डमा आबद्ध किशोरीसम्मले भ्वाइसको मञ्चमा जादू छरे । धरानका १८ वर्षे रिजन लोहनीको दमदार रक प्रस्तुतिसँगै सुरु भएको नयाँ सिजन संगीतका विभिन्न जनराका आवाज प्रस्तुत भए ।

रिजनले सिने गुरुङको ‘मन’लाई आफ्नो स्टाइलमा गाउँदा दर्शक र कोचले जोश भरिएको महसुस गरे । त्यसपछि स्टेजमा उक्लिएका सिक्किम गान्तोकका विवेक बस्नेतले मुक्ति शाक्यको याद दिलाए । मुक्तिले गाएको ‘वसन्त उदायो’ गीत गाउँदा भ्वाइसको स्टेज पुनः कम्पित भयो ।

कोच मिलन नेवारले बस्नेतलाई सारेगमप गाउँदा उनले आकर्षक ढंगले गाए । यद्यपि, उनको रोजाइ चाहिं कोच उदय सोताङ रहे ।

काठमाडौंको ठमेलकी २३ वर्षे तेन्जिङ डोल्मा गुरुङ अर्की ट्यालेन्ट हुन् जसले निमा रुम्बाको ‘हुरी बतास’ गाएर पुराना दिन सम्झाइन् । उनको प्रस्तुतिमा चारै कुर्सी घुमे । उनले कोच प्रमोदको टीमलाई रोजिन् ।

खोटाङकी प्रवृत्ति राईले प्रमोद खरेलको चर्चित गीत ‘माया गर्ने मुटुले हो, निधारले होइन’ गाइन् । उनलाई कोच प्रमोद र उदय सोताङले स्ट्यान्डिङ ओभेसन दिए । दुई चेयर टर्न भए पनि उनले सबै कोचलाई मन्त्रमुग्ध तुल्याइन् ।

आफैंले गाएको गीतमा दमदार प्रस्तुति दिएपछि प्रमोद प्रशंसामा उत्रिए । उनले भने, ‘मैले गाएको गीत हो तर फिमेल पार्ट पहिलोपटक सुन्न पाएँ ।’ प्रमोदकै आग्रहमा उनले पुनः गाइन् । उनले कोच उदय सोताङको टिमलाई रोजिन् ।

नुवाकोटकी २५ वर्षीया प्रमिला बानियाँ पेशाले सैनिक हुन् । उनी सेनाको अमलदार पदमा कार्यरत छिन् । उनले मञ्चमा प्रस्तुति दिंदै चारै कोचले उभिएर सम्मान दिए । ‘म कार्यरत सैनिक पल्टनलाई बन्दक भएको पल्टन पनि भनिन्छ । फिजिकल फिटनेसमा केटाहरुलार्ई पनि जितेर प्रतिस्पर्धाबाट आएकी हुँ,’ उनले भनिन्, ‘सेनामै आएर संगीत सुरु गरेकी हुँ । सेनामा पनि गाउँछु ।’

उनले फिल्म ‘मन मन्दिर’को चर्चित गीत ‘लौ है माया सुटुक्कै आउनु है’ गाइन् । उनको प्रशंसामा उदय सोताङले भने, ‘त्यो आवाजमा मैले एउटा कोसिस भेटें, जुन सबैमा हुँदैन ।’ प्रमिलाले कोच राजेशलाई रोजिन् ।

भ्वाइसको पछिल्लो एपिसोडमा अर्को दमदार प्रस्तुति दिएको थियो, काठमाडौंको गर्ल्स ब्याण्ड फाइथोमले । सन् २०१७ मा गठन भएको यो ब्याण्डका तीन सदस्य छन्, सुप्रिया घलान लामा, भूमिका बुद्धाचार्य र मोनालिसा श्रेष्ठ । सुप्रिया ब्याण्डकी भोकलिस्ट हुन् । ‘भिड्न’ गीत गाउँदै उनीहरुले सशक्त प्रस्तुति दिए । यो ब्याण्डको प्रस्तुतिमा चारै कुर्सी घुमे ।

नवलपुरका ४० वर्षीय हेन्जन मक्कर बहादुरले तिलकसिंह पेलाको चर्चित गजल ‘के लत बस्यो’ गाएर कोचका चारै कुर्सी घुमाए ।

प्रस्तुत ट्यालेन्टले भ्वाइसको स्टेजमा औसतभन्दा माथिको प्रस्तुति दिएका थिए । भ्वाइस अफ नेपालको सिजन-५ हिमालय टिभीमा शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?