 
																			१५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताएका छन् ।
सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था भएको छ । त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो ।
छलफलका क्रममा मन्त्री रिजालले सुनचाँदी व्यवसायीका लागि परेका अप्ठ्यारा समाधान गर्न र व्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमा गर्न सरकार तयार रहेको बताए ।
उनले व्यवसायीका तर्फबाट पनि राज्यलाई सहयोग पुग्ने काम गर्न र आम व्यवसायीलाई यसतर्फ प्रेरित गर्न सुझाव दिए ।
छलफलमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सुनचाँदी व्यवसायको सम्बन्ध आम व्यवसायीसँग प्रत्यक्ष रुपमा जोडिने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
सो अवसरमा व्यवसायीका तर्फवाट महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा सुनचाँदी व्यवसायको अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि प्रष्ट, प्रभावकारी र व्यवसायमैत्री ऐन बनाउन आवश्यक रहेको बताए ।
उनले सुनको प्रभावकारी आपूर्ति व्यवस्था गरिनुपर्ने, वैध तरिकाबाट आएका सुन तथा त्यसको गरगहनाको कारोबारमा कुनै व्यवधान गरिन नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यात गर्न विशेष व्यवस्था गरिनु पर्नेसहित विविध पक्षका बारेमा जानकारी गराएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4