+
+

एमाले गण्डकी अधिवेशन : प्रतिष्ठाको लडाइँमा नवराज र मायानाथ

सहमतिको मन्त्र जपेर गुटका उम्मेदवार खडा गर्ने कसरत

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज १६ गते ९:१७
केपी ओलीसँग नवराज र मायानाथ

१६ असोज, पोखरा । पोखराको अमरसिंह चौरमा सोमबार भएको एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय नेताहरुले २०८४ सम्म पार्टीलाई पहिलो बनाउने हुंकारमात्रै गरेनन्, अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प नभएको बताए ।

ओली कार्यक्रममा नआए पनि ओली समूहका रजगज भएको गण्डकी प्रदेशमा नेताहरुले सहमति र एकताको सन्देश दिन आहृवानसमेत गरे । तर, गण्डकीको अधिवेशनले न एकताको सन्देश दिने देखिएको छ न कुनै नेताले टीका लगाइदिएकै भरमा अध्यक्ष हुने परिस्थिति प्रतिनिधिले मान्नुपर्ने देखिएको छ ।

नेताहरुले सहमतिको मन्त्र जपेर आफ्नो गुट र समूहलाई रोज्दा गण्डकीमा चुनाव हुने निश्चितजस्तै छ । सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले केही दिनअघि भनेका थिए, ‘गुटको अभ्यास र प्यानलै नाम दर्ता गराउने, बाँड्ने काम भए उम्मेदवारी नै खारेज हुन्छ ।’ तर, गण्डकीमा नेताको आशिर्वाद लिएर चुनावमा जाने परस्थिति बन्दा ‘उम्मेदवारी नै खारेज हुन्छ’ भन्ने सचिव विष्टको कडा अभिव्यक्ति नै खेर जाने स्थिति देखापरेको छ ।

कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण र पद्मा अर्याललगायतले गण्डकीमा सहमतिको सन्देश दिनुपर्ने आहृवान गरे पनि उनीहरु नै आफूले चाहेको अध्यक्ष बनाउन लागिपरेका छन् ।

नेकपा विभाजन गर्दै सर्वोच्च अदालले पुरानै पार्टी ब्युँताइदिएपछि धनराज आचार्यको अध्यक्षतामा १९ चैत २०७७ मा नेपाल सूमहको कास्की कमिटी घोषणा गर्दै माधवकुमार नेपालले गण्डकी प्रदेश सधैं केपी ओलीबाट हेपिनु परेको बताएका थिए । हुन पनि एमालेभित्र माधव नेपालले पार्टी नेतृत्व गर्दा पनि ओली समूहको दबदबा भएको जिल्ला कास्की र प्रदेश गण्डकी हो । एमालेमा ओली समूहले अवसरै नदिने, फरक विचार राख्नेलाई भित्तामै पुर्याउने गुनासो नेपाल समूहको थियो ।

माधव नेपालले छुट्टै पार्टी गठन गरेपछि एमालेमा अहिले ओलीभन्दा फरक विचार राख्ने समूह र नेता छैन । तर, ओली समूहभित्रैको दुई वटा गुट छन् र ती गुटका नेताहरुबीच नियुक्तिदेखि निर्वाचनसम्म कित्ताकाट छ ।

गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एकातिर र एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीबीच स्पष्ट गुटगत प्रतिस्पर्धा देखिएको छ । यस्तो अवस्था एमालेको गण्डकी प्रदेश अधिवेशनमा पनि देखिएको छ र यसपटक पृथ्वीसुब्बा र खगराजमात्रै होइन, एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्यालले तेस्रो धारको अभ्यास पनि गरेका छन् ।

चुनाव तथा दलीय भागबण्डा र कार्यकर्ताबीच पृथ्वीसुब्बा र खगराजमध्ये एउटा कित्ता रोज्नुपर्ने परिस्थिति बन्दा पूर्व मालेका सहयोद्धा किरण र पद्मालाई अप्ठेरो परेको छ । पृथ्वीसुब्बासँग पनि उभिन नसक्ने तर अर्को रोज्दा कार्यकर्ता र बाहिरबाट पनि खगराज गुट भनिदिँदा खगराजभन्दा सिनियर नेता किरण र पद्माले खुलेरै असन्तुष्टि जनाउने गरेका छन् । ‘हामी कहाँबाट खगराज गुट हुन्छौं । उहाँभन्दा सिनियर नेता त म हुँ,’ किरण भन्छन्, ‘कुनै न गुटमा उभ्याइदिइहाल्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनमा सबैजसो नेताले सहमतिको नारा जपेर, अन्त्यमा गुटबीचकै प्रतिष्ठाको लडाइँ बन्ने निश्चित देखिएको छ । उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा र खगराज तथा तेस्रो धार किरण-पद्माकोसमेत साथमा दुई प्यानलमै निर्वाचन हुने पक्काजस्तै देखिएको छ । पदाधिकारीका आकांक्षीहरु नै भन्छन्, ‘सहमति त नारामात्रै हो तर दुई गुटकै बीचमा चुनाव हुने पक्काजस्तै देखिएको छ ।’

हुन पनि एमाले अधिवेशन नजिकिएसँगै अध्यक्षको दाबी गर्ने केन्द्रीय सदस्यहरुको लर्को थियो । प्रदेश अध्यक्ष हुने लालसाले नै प्रतिनिधि छनोट भएर आउन कसरत गरेका थिए । केन्द्रीय सदस्य तिलक महत र बागलुङका सूर्य पाठक अध्यक्षका आकांक्षी भए पनि प्रतिनिधि छनोट प्रक्रियाबाटै बाहिरिए ।

केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी, रामशरण बस्नेत, मायानाथ अधिकारी अध्यक्ष बन्ने योजनामै बडो मुश्किलले प्रतिनिधि छानिएका छन् । अहिले यी सबै खगराज समूहको कित्तामा उभिएर अध्यक्षमा मायानाथलाई अगाडि सार्न सहमति नजिक छन् ।

पृथ्वीसुब्बा गुरुङ अहिले भइरहेकै तदर्थ कमिटीका पदाधिकारीलाई अगाडि सार्न प्रयासरत छन् । पृथ्वीसुब्बाकै जोडबलमा अध्यक्ष नवराज शर्मा अध्यक्षको प्रत्यासी छन् भने सचिवमा अहिलेकै सचिव धनञ्जय दवाडीलाई अगाडि सारिएको छ ।

खगराज समूहबाट मायानाथ अध्यक्ष र पृथ्वीसुब्बा समूहबाट खगराजको कित्तामा उभिँदै अहिलेका उपसचिव रश्मी आचार्य सचिवमा उम्मेदवार हुने निश्चितजस्तै रहेको नेताहरुले बताएका छन् । बागलुङका हिरा केसी पनि अध्यक्षको दाबेदार भए पनि उनलाई आशिर्वाद दिने नेताहरु अहिलेसम्म नदेखिएको स्रोतले बतायो ।

गुटको राजनीति र अवसरको ध्रुवीकरण

खगराज र पृथ्वीसुब्बा एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थक हुन् । पृथ्वीसुब्बा आलोचनासमेत गर्न सक्ने र ओलीलाई नै काँध थाप्ने परिचय बनाएका नेता हुन् भने खगराज केपीमाथि प्रश्न नउठाउने र केपीका प्रखर प्रवर्तक हुन् ।

केपी पछाडि केन्द्रीय पदाधिकारीमा कसरत गर्ने दुई लाइनका यी दुई नेताबीच बाहिर सहमति र एकताको कुरा गरे पनि भित्र कित्ताकाट र एकअर्काप्रति रुखो सम्बन्ध देखिएको छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बाहरुले एमालेभित्रकै एउटा समूहको नेतृत्व गर्दा एमाले महासचिव शंकर पोखरेल, खगराजहरु अर्को समूह आन्तरिक राजनीतिमा क्रियाशील छ । गण्डकीको अधिवेशनमा पनि यही लाइनबीच प्रतिष्ठाको लडाइँ बनेको छ ।

कास्कीको एमाले राजनीतिमा रजगज गरिरहेका खगराजलाई त्यतिबेला अप्ठेरो पर्न थालेको थियो, जतिबेला पृथ्वीसुब्बा गुरुङले गण्डकीमा हस्तक्षेप गर्न थाले । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बेलामै खगराजले किरण गुरुङलाई मुख्यमन्त्री बनाउन कसरत गरेका थिए । संसदीय दलको नेता हुँदै पृथ्वीसुब्बाले प्रदेशमा प्रभाव बढाएसँगै खगराज समूहलाई झड्का लाग्न थालेको हो ।

खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ ।

पृथ्वीसुब्बा मुख्यमन्त्री बनेर प्रदेशमा एमालेभित्र पनि प्रभाव बढाएसँगै स्थानीय तहको निर्वाचन होस् वा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन, पार्टीको पालिका कमिटी बनाउँदा होस् वा महानगर, कास्की र प्रदेशसम्मकै चुनाव यी दुई गुटको सफलता-असफलतासँग नै जोडिने गरेको छ । पोखरा महानगरको चुनावमा त झन् एकअर्कालाई सक्ने तहमै दुई समूहको गतिविधि सतहमा देखिएको थियो ।

यो चुनावसम्म आइपुग्दा एमाले गण्डकीमा पार्टीभित्रको प्रभाव र पछिसम्मकै भविष्य हेदै नेताहरुमा अवसर छोप्न ध्रुवीकरण नै देखिएको छ । पृथ्वीसुब्बाले गण्डकी प्रदेश सभामा मायानाथ अधिकारीलाई प्रमुख सचेतक बनाउँदा रामशरण बस्नेतलाई सुरुमा पर्यटन र पछि भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

भौतिक मन्त्री हुँदा बजेट र योजना आफैं केन्दि्रत गरेको भन्दै रामशरणलाई ‘भँडारे’ भन्ने गरेको चर्चासमेत थियो । अहिले तिनै मायानाथ खगराज कित्ताबाट अध्यक्षको दाबेदार बन्दा रामशरण मायानाथको समर्थक बन्न पुगेका छन् । अध्यक्षको आकांक्षी भए पनि रामशरणले मायानाथलाई नै सघाउने पक्काजस्तै देखिइसकेको छ ।

पृथ्वीसुब्बाको कित्ताबाट खगराजतिर लाग्ने कट्टर समर्थक रामशरणमात्रै होइन, राजीव पहारी पनि छन् । पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनको समूहबाट चर्को बोल्ने, पृथ्वीसुब्बा समूहका मुखर सांसद राजीव अहिले खगराजतिर उभिएका छन् । उनले महासचिव शंकरको लाइन पछ्याउँदा भोलि अवसर पनि पाउने देखेपछि त्यतै लागेको निकटस्थहरु बताउँछन् ।

गत स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा प्रतिस्पर्धी खगराजका ‘पि्रय पात्र’ कृष्ण थापालाई हराउन लागेको आरोपसमेत राजीव माथि थियो । खगराज समूहसँग नमिल्ने र पृथ्वीसुब्बा लाइनमा खुलेर लाग्ने रश्मी आचार्यले सचिव पाउने नदेखेपछि फरक कित्तामा उभिन पुगेका छन् । खगराज पक्षबाट मायानाथ अध्यक्ष र रश्मी सचिवको उम्मेदवार बन्ने निश्चितजस्तै देखिएको छ ।

खगराज गुटको भन्न नरुचाउने सचिव पद्मा र स्थायी कमिटी सदस्य किरणले पनि मायानाथलाई नै सघाउने संकेत नेताहरुले गरेका छन् ।

गण्डकी अधिवेशनमा ९०७ जना प्रतिनिधि बनेर आएका छन् । नेताहरुले सहमति गराउने बताइरहेको भए पनि चुनाव नै हुनसक्ने देखिएको छ ।

अध्यक्षका दाबेदार नवराज शर्मा र मायानाथ अधिकारी दुवैले आफूले नै नेतृत्व पाउने बताउँछन् । ‘म अध्यक्षको स्वाभाविक दाबेदार हुँ । तदर्थ कमिटीको अध्यक्ष भइसकेपछि अब आकांक्षा राख्नुलाई वैज्ञानिक नै मान्नुपर्छ । यो विचार समूहबाट भन्नुभन्दा पनि एमालेका साझा उम्मेदवारका रुपमा मलाई छोड्नुपर्छ भन्ने हो,’ शर्मा भन्छन्, ‘नेताहरुले सहमति भन्नुभएको छ । सहमतिमै मलाई जिम्मेवारी दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

अध्यक्षका अर्का आकांक्षी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरुले लामो राजनीतिक अनुभवलाई पार्टीमा लगाएर आउँदो निर्वाचनमा बहुमत ल्याउन लाग्नुपर्छ भनेर हौसला दिएको बताए । ‘थुप्रै जिल्लामा पार्टीको इञ्चार्ज भएर काम गरेको छु । पार्टीको जिल्ला नेतृत्व गरेको छु । प्रदेशको स्कुल विभाग चलाएको छु,’ मायानाथले भने, ‘प्रदेश सांसद र प्रमुख सचेतक पनि भएर काम गरेका कारण मलाई अध्यक्षका रुपमा अघि सार्नु स्वाभाविकै हो ।’

जिल्लाबाट आएका प्रतिनिधिहरु सर्वसम्मति नभए निर्वाचन नै हुँदा पार्टीको आन्तरिक लोकतन्त्र पनि बलियो हुने पक्षमा छन् । अमरसिंह चौरमा सहमति गर्ने नेताहरुको भाषण सुनिरहँदा चुनावबाटै नेतृत्व छान्ने अवसर दिनुपर्ने प्रतिनिधिको मत थियो । तर, अध्यक्षदेखि पदाधिकारीसम्मै आफ्नो इच्छा, क्षमता र प्रभावका कारण भन्दा पनि नेताहरुले च्यापेर गुटबाट उठाइएका नेतालाई छान्नुपर्ने परिस्थिति नजिकै देखिएको छ ।

खगराज पक्षभर मायानाथको पक्षमा धेरै केन्द्रीय सदस्यहरु देखिएका छन् भने पृथ्वीसुब्बा पक्षका नवराजका पक्षमा धेरै जिल्ला अध्यक्ष, सांसदहरु देखिएका छन् । प्रतिनिधिहरुको अभिमत सुन्दा बहुमत पृथ्वीसुब्बाको पक्षमा देखिए पनि शंकर पोखरेल र तेस्रो धारमा देखिएकाहरुले समेत मायानाथको पक्षमा माहोल बनाइरहेका छन् ।

अमरसिंह चौरमा अधिवेशनको उद्घाटनपछि सुरु भएको बन्द सत्रमा राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । ८ वटा समूहमा विभाजन मंगलबार दिउँसोसम्म छलफल गरी सुझावहरु प्ारित हुनेछ । त्यसलगत्तै निर्वाचन प्रक्रिया सुरु हुने सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?