+
+

अस्पतालमा राखियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:४१

१७ असोज, काठमाडौं । अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ ।

स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो ।

सोही अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजायसम्बन्धी जानकारीमूलक बडापत्र टाँसिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ ( पहिलो संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।

उक्त सूचना पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ ।

ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा  दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए  स्वास्थ्यकर्मी-कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍याए तीन वर्षसम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुनसक्छ ।

यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पु‍र्याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा  एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?