+
+

नेपालगञ्जमा सामाजिक सद्भाव फैलाउन मानव अधिकार आयोगको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १८:३१

१७ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको नेपालगञ्जमा सामाजिक सद्भाव फैलाउन आग्रह गरेको छ ।

मंगलबार र्‍यालीका क्रममा हिन्दु र मुसलमान समुदायबीच विवाद सिर्जना हुँदा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा र उछृङ्खल गतिविधि भएका थिए । त्यस क्रममा ५ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए ।

मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयले सो घटनाको स्थलगत अनुगमन गरेको छ ।

संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गर्ने उल्लेख गरिएको आयोगले जनाएको छ ।

त्यस्तै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुने आयोगको भनाइ छ ।

साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

त्यस्तै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पग्ने गतिविधिहरु नगर्न/नगराउन र संयमता अपनाउन आयोगले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?