+
+
अनुभूति :

बिरामी निको हुनु नै डाक्टरले आफ्नो सफलता मान्छ

डा. आशिष गौतम डा. आशिष गौतम
२०८० असोज १७ गते १९:१९

एउटा बिरामीको उपचार गरिरहँदा डाक्टरको मनमा के-के कुरा खेल्छ ? मेरो अनुभवले भन्छ, ‘केही पनि खेल्दैन ।’ उसले न घर–परिवार सम्झन्छ, न ऋण सम्झन्छ, न बालबच्चा सम्झन्छ, न आमाबुवा सम्झन्छ ।

स्वयम् आफुलाई पनि सम्झदैन ।

किनभने उसँग यस्तो मौका नै हुँदैन । डाक्टरलाई त केवल एउटै ध्येय हुन्छ, त्यो रोगलाई कसरी जित्ने ?

त्यही रोगसँगको युद्धमा हुन्छन् डाक्टरहरु । जब बिरामी निको भएर घर फर्किन्छन्, डाक्टरले ‘युद्ध जितेको’ महसुष गर्छन् । किनभने डाक्टरका लागि बिरामी भनेको केवल रोगी शरीर मात्र होइन । त्यो त उनको जीवनको सफलता र असफलतासँग जोडिने एउटा परीक्षा पनि हो ।

अतः कुनैपनि डाक्टर असफलता चाहँदैनन् ।

बिरामी निको भएर घर फर्किरहँदा उनका परिवारमा जुन दुर्लभ खुसी छाउँछ, त्यसैबाट एउटा डाक्टरले आनन्द प्राप्त गर्छ । त्यसबेला कतिपय बिरामीका आफन्तले आर्शिवाद दिन्छन् । सहकर्मीले स्यावासी दिन्छन् । यो नै हामी जस्ता डाक्टरका लागि अनमोल उपहार हो ।

तर, डाक्टरको भागमा सधै खुसी र सफलता मात्र मिल्छ भन्ने हुँदैन । यो यस्तो पेशा हो, जहाँ सफलतासँगै असफलता पनि जोडिएर आउँछ । र, हरेक डाक्टरले आफ्नो करियरमा यस्ता थुप्रै असफलता झेल्नुपर्ने हुन्छ ।

मेडिकल साइन्समा दुईमा दुई जोड्दा नतिजा चार नै आउँछ भन्ने हुन्न । मानौं एकै रोगको उपचार गरिरहँदा पनि एउटा व्यक्ति पूर्णत निको हुनसक्छ, अर्को व्यक्तिमा समस्या ज्युँको त्यूँ रहन सक्छ । यसमा डाक्टरको प्रयास र अभ्यास मात्र पूर्ण हुँदैन ।

डाक्टरले आफ्नो अध्ययन, अनुभव, अभ्यासका आधारमा रोग पहिचान र उपचार गर्ने हो । यसक्रममा कहिले काहीँ नसोचेको खराबी आउन सक्छ । बिरामीको ज्यान नै तलमाथि हुनसक्छ ।

त्यो क्षण कुनैपनि डाक्टर ढुक्क हुनै सक्दैन । किनभने बिरामीको अनपेक्षित मृत्यु एउटा डाक्टरका लागि अप्रिय नै हुन्छ ।

कतिपय बिरामीको अवस्था झट्ट बाहिर देखिदैन । तर, उपचारका क्रममा अचानक जटिलता देखिन्छ र उनीमाथि गरिएको प्रयास व्यर्थ पनि हुनसक्छ । यस्तो अवस्थामा बिरामीका आफन्तले त्यसको अन्र्तय बुझ्दैनन् । उनीहरुलाई त के मात्र लाग्छ भने, उपचारमा त्रुटी भएर बिरामीको मृत्यु भयो ।

यही निहुँमा अस्पताल तोडफोड हुन्छ, डाक्टरमाथि हातपात हुन्छ र चर्को क्षतिपूर्तिको माग हुन्छ ।

यो प्रवृत्ति अहिले व्यापक छ । उपचारका क्रममा बिरामीको मृत्यु भयो कि तोडफोड र हातपातमा उत्रने जुन प्रवृत्ति छ, त्यसले हरेक डाक्टरको आत्मविश्वास कमजोर भएर गएको छ । कुनै बिरामीको उपचार गर्ने कि नगर्ने, शल्यक्रियाका लागि हात हाल्ने कि नहाल्ने, औषधि सिफारिस गर्ने कि नगर्ने ? डाक्टरहरुको मनोदशा बिग्रिएको छ ।

त्यसैले कुनै बिरामी आफुकहाँ आउनसाथ अर्को अस्पताल वा डाक्टरकहाँ रिफर गर्नुपर्ने बाध्यतामा छन् उनीहरु ।

एउटा डाक्टरमाथि रिस, आक्रोस पोख्न जसरी कुटपिट गरिन्छ, त्यसले उनीहरुमा डर मात्र पैदा गर्दैन । उनीहरु मनोबल एकदमै कमजोर हुन्छ । किनभने एउटा डाक्टर मेशिन होइनन् । उनको पनि मन हुन्छ, भावना हुन्छ । त्यसले जोडिएका परिवार हुन्छ, साथीभाई हुन्छ, समाज हुन्छ, सहकर्मी हुन्छ, प्रतिस्पर्धी हुन्छ ।

ऊ कसैको बुवा वा आमा हुन्छ, कसैको छोरा वा छोरी हुन्छ, कसैको श्रीमान् वा श्रीमती हुन्छ । यी सबै कुराले उसको स्वाभिमान निर्माण गर्छ । र, आफ्नो स्वाभिमान गुमाएर बाँच्न कठिन हुन्छ ।

त्यही कारण त हो, अहिले डाक्टरहरु पलायन भइरहेका छन् । आफ्नो घर परिवार वा आयआर्जन छाडेर जानु रहर भन्दा बढी बाध्यता भएको छ ।

हुन त सबैजसो उपचारमा डाक्टरले सही मात्र गर्छ भनेर ठोकुवा गर्न सकिदैन । कतिपय ठाउँमा डाक्टरको विज्ञता वा अनुभव नपुगेको हुनसक्छ, कतिपय ठाउँमा उपकरण उपलब्ध नभएको हुनसक्छ । यस्ता खोटहरु हुनसक्छन् । तर, यो अपवाद हो ।

अधिकांश डाक्टरले आफ्नो उपचार संभव भएसम्म राम्ररी नै गर्न खोज्छन् । बिरामी निको होस् भन्ने कामना नै गर्छन् । उपचारपछि घर फर्किएको देख्ने इच्छा राख्छन् ।

तर, सर्वसाधरणले उपचारको प्रविधि र प्राविधिक कुरालाई बुझ्दैनन् । बिरामीलाई अस्पताल पु¥याएपछि निको हुन्छ भन्ने लाग्छ । डाक्टरले छोएपछि जादुको छडीले झै रोग छुः मन्तर गरिदिन्छ भन्ने लाग्छ । एक हिसाबले डाक्टरमाथि आशा वा भरोसा गर्नु ठीकै हो । तर उपचारको प्राविधिक पक्ष उनीहरुले बुझे भन्दा फरक हुन्छ । उपचार सही हुँदा हुँदै पनि कहिले काहीँ बिरामी तलमाथि पर्न सक्छन् । यस्तो अवस्थामा डाक्टरलाई आरोप लगाउने, कुटपिट गर्ने प्रवृत्ति आफैमा प्रत्युत्पादक हुनसक्छ ।

किनभने यसैपनि नेपालमा उपचार सेवाको अभाव छ । पुग्दो अस्पताल छैन । ग्रामिण भेगका बिरामीले उपचार पाउनका लागि घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता छ ।

जनसंख्याको अनुपातमा डाक्टरको संख्या पुग्दो छैन । त्यसैले एउटा बिरामीलाई डाक्टरले २०-२५ मिनेट लगाएर जाँच गर्नुपर्नेमा २-३ मिनेटभित्रै जाँज गरिदिनुपर्ने बाध्यता छ । किनभने एउटै बिरामीलाई आधा घण्टा समय लगाएर जाँच गरियो भने बाँकीले पालो पनि पाउँदैनन् । यसले गर्दा हामीकहाँ उपचार सेवा आफैमा सक्षम र पुग्दो छैन ।

अर्कोतिर सर्वसाधरणको मनस्थिती पनि स्थिर छैन । एकातिर आकासिएको महंगी, अर्कोतिर खुम्चिदै गएको आयआर्जनले धेरैलाई समस्यामा पारेको छ । औषधि उपचार गराउन मात्र होइन, आरमले खान लगाउन पनि गाह्रो हुँदै गएको छ । यसले अधिकांशलाई भित्रभित्रै मानसिक तनावमा पारेको छ । यही कारण पनि कुनै कुरामा चाडै रिसाउने र प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको हुनसक्छ ।

तर, सर्वसाधरणले के चाहिँ बुझ्नुपर्छ भन्ने लाग्छ भने कुनैपनि डाक्टरले आफुखुसी अनुमानको भरमा उपचार गरिरहेको हुँदैन । कुनै बिरामीसँग रिस साँधेर पनि उसले उपचार गर्दैन । आफुले हेरेको बिरामी जे सुकै होस् भन्ने त पक्कै पनि चाहँदैन । आफ्नो बिरामी निको नहोस् भन्ने लाग्दै लाग्दैन ।

उनीहरुले पढेको चिकित्सा विज्ञानका तौर–तरिका, उपचारका अभ्यास, आफ्नो अनुभव र विश्वभर लागु गरिएको अनुसन्धानलाई आधार मानेर उपचार गरेका हुन्छन् । यस्तो उपचारले सबैलाई एउटै नतिजा दिन्छ भन्ने हुँदैन । किनभने उस्तै देखिने मान्छेको शरीर पनि फरक फरक हुन्छ । शरीर विज्ञानको यो वृहत पक्षलाई सर्वसाधरणले बुझेकै हुँदैनन् ।

डाक्टरले जति जोडबलले उपचार गरेको हुन्छ, बिरामीले पनि त्यही अनुसार आफुलाई अनुशासनमा राख्नुपर्ने हुन्छ । तर, डाक्टरको आँखा छल्नसाथ खान नहुने कुरा खाने, गर्न नहुने कुरा गर्ने प्रवृत्ति पनि छ ।

अर्को महत्वपूर्ण कुरा, अहिले सर्वसाधरणले आफुखुसी एन्टिबायोटिक औषधि पनि खाने गरेको देखिन्छ । सामान्य दुखाईमा पनि कडा खालको एन्टिबायोटिक खाइदिन्छन् । यसले गर्दा बिरामीको शरीर नै यस्तो भइदिन्छ कि, सामान्य एन्टिबायोटिकले काम नै नगर्ने ।

यसले डाक्टरलाई पनि द्विविधामा पारिदिन्छ । किनभने अस्पतालमा बिरामीलाई सोझै कडा खालको औषधि प्रयोग गराइदैन । कम डोजबाट बिस्तारै बिरामीको अवस्था हेरेर दिने गरिन्छ । तर, आजभोलि सुरुमै एकदम कडा अवस्था दिनुपर्ने हुन्छ ।

यसैगरी बिरामी अनुसार परीक्षण पनि फरक फरक हुन्छ । सबैलाई उही परीक्षण गर्नुपर्छ वा त्यहि हुनुपर्छ भन्ने हुँदैन । त्यस्तै केही परीक्षण नेपालमा हुँदैन बाहिर  पठाउनुपर्ने अवस्था छ । त्यसले गर्दा पनि बिरामीको उपचारमा असर पर्ने गर्दछ । यो अवस्थालाई सर्वसाधारणले बुझ्नुपर्छ ।

यस्तो भन्दैमा चिकित्सकबाट कहिले पनि गल्ती हुँदैन वा त्रुटी हुँदैन भन्ने होइन । गल्ती हुनसक्छ, डाक्टर पनि मान्छे नै हो । यदि गल्ती भएमा पनि कुटपिट गर्ने कुनै समाधान होइन । बरु, त्यसलाई कानुनी उपचार खोज्नुपर्छ । यसको लागि नेपाल मेडिकल काउन्सिल र अन्य कानुनी निकायबाट सहयोग लिन सकिन्छ ।

लेखक आवासीय चिकित्सक हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?